बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
माैसम

हिउँदमा सरदरभन्दा कम वर्षा हुने, कृषिमा कस्तो पर्ला प्रभाव ?

शुक्रबार, २८ मङ्सिर २०८१, ०७ : २७
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौँ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । पछिल्लो समय जलवायु परिवर्तन लगायतका कारणले कहिले धेरै पानी पर्ने, कहिले पर्दै नपर्ने जस्ता समस्या देखिन थालेको छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार हिउँद अवधि मङ्सिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । 

हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेस प्रदेशका पूर्वी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ ।  यस्तै, सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको उल्लेख छ । 

यस्तै, महाशाखाले देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत अनुमान गरेको छ । हिउँदमा गहुँ, मुसुरो, तोरी, आलु, जौ लगायतका बाली लगाउने प्रचलन छ । हिउँदमा देशभर सरदर भन्दा कम वर्षा, अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी हुँदाले कृषि क्षेत्र प्रभावित हुने देखिन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्त्रगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालका अनुसार हिउँदे बालीलाई धेरै पानी नचाहिने भए पनि सिँचाइको उपलब्धता नभएको क्षेत्रको बालीलाई असर पर्ने बताए ।

‘हिउँद सिजनमा गहुँ, तोरी, मुसुरो गरी तीनवटा बाली मुख्य गरी उत्पादन हुन्छ,’ उनले भने, ‘धानलाई जस्तो धेरै पानी चाहिने त होइन तर पनि यसलाई जसले सिजित क्षेत्रमा बाली छर्नु भएको छ, उहाँहरूलाई त्यस्तो धेरै फरक पर्दैन तर कम्तीमा दुईदेखि ३ सिँचाइ दिन सकियो भने गहुँमा पुग्छ । तोरी बाली फुल्ने समयमा र मल दिने समयमा सिँचाइ दिँदा हुन्छ । धान बाली जस्तो आत्तिनु पर्ने छैन । तर पनि सुख्खा हुने भएपछि धेरथोर उत्पादन घटी हाल्छ ।’ रिमालले हिउँ पर्ने ठाउँमा हिउँ सङ्कलन गर्न, फलफूलमा पात पतिङ्गरको छापो हाल्न, पानी परी हालेमा सङ्कलन गर्न सुझाएका छन् ।  

सन् २०२२ देखि अक्टोबर सन् २०२४ मा अध्ययन अनुसार बढ्दो खडेरीका कारणले बाली लगाउने समय पछाडि सर्दै गएको छ । यस्तै, बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईँको नेतृत्वमा ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपाल केन्द्रित अनुसन्धानमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ । 

सन् २०२२ देखि अक्टोबर सन् २०२४ मा अध्ययन अनुसार बढ्दो खडेरीका कारणले बाली लगाउने समय पछाडि सर्दै गएको छ । यस्तै, बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको उल्लेख छ । यस्तै, तापक्रम घटबढ हुँदा उत्पादन घट्नु, रोग तथा किराको प्रकोप बढ्ने उल्लेख गरिएको छ । यस्तै, तापक्रम वृद्धिले चौँरी तथा हिमाली क्षेत्रका बाख्रा, भेडा तथा पहाड र तराईमा पनि गाईबस्तुमा विभिन्न रोग देखिएको सो अध्ययनमा उल्लेख छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा गहुँ बाली बर्सेनि ७ लाख हेक्टर क्षेत्रफल खेती हुँदै आएको छ । यो बालीको उत्पादन करिब २१ लाख मेट्रिक टन छ । यस्तै, जौ बाली करिब २० हजार हेक्टर क्षेत्रफलमा हुन्छ । सो क्षेत्रफलबाट २९ हजार मेट्रिक टन को हराहारीमा उत्पादन हुन्छ ।

तोरी बालीको छुट्टै तथ्याङ्क भेटिँदैन । नेपालमा बढी मात्रमा तेलका लागि खेती गरिने तोरीबाली हो । सरकारी तथ्याङ्कमा तेलहन बालीको क्षेत्रफल साढे दुई लाख हेक्टर हाराहारीमा छ । सो क्षेत्रफलबाट २ लाख ९५ हजार मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । यस्तै, मुसुरो बाली २० हजार हेक्टर क्षेत्रफलको हराहारीमा खेती हुन्छ । सो क्षेत्रफलबाट २ लाख मेट्रिक टन उत्पादन हुने कृषि मन्त्रालयको तथ्याङ्क छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप