शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं फेरि पक्राउदेखि रविको 'अनौठो' हिरासतसम्म

शुक्रबार, २८ मङ्सिर २०८१, ०१ : ०३
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. दुर्गा प्रसाई फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

२. राष्ट्र बैंकको रिपोर्ट
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारमा रिपोर्ट सार्वजनिक गरेको हो ।
बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

. कृषिका कुरा
गत चैत ३० गते सरकारले सुन्तलालाई ‘राष्ट्रिय फल’ घोषणा गर्‍यो । तर त्यसपछि यसको बजारीकरण, उत्पादकत्व वृद्धि, भण्डारण लगायत विषयमा कुनै नयाँ योजना आएका छैनन् । सुन्तला राष्ट्रिय फल घोषणा हुनु अगावै भएका विभिन्न योजना तथा कार्यक्रमले अहिले निरन्तरता पाइरहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जोन तथा सुपर जोन निर्धारण गरी सुन्तलाको वृद्धि विकासमा काम गर्दै आएको छ । तर यसअन्तर्गत चलेका सबै कार्यक्रम राष्ट्रिय फल घोषणा अघिकै हुन् ।
सुनसरीमा सूचीकृत नभएको अवैध गहुँको बिउको तस्करी हुने गरेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक कार्यदल बनाएर सुनसरी र मोरङमा अनुगमन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि भएको अनुगमनको क्रममा गहुँको बिउ तस्करी हुने गरेको फेला परेको हो ।

कर्णाली प्रदेशमा आर्थिक वर्ष ०८१-०८२ मा १ लाख २३ हजार ७९५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेशभर ३९ हजार ७६३ हेक्टरमा धान खेती लगाइएकोमा उक्त परिमाणमा धान उत्पादन भएको हो । जुन गर्त वर्षको भन्दा १ हजार १७४ मेट्रिक टन कम हो ।

४. बीमा प्राधिकरणमा अन्तरिम कमाण्ड
बीमा प्राधिकरण ठप्प भएको नियामकीय सेवालाई सम्हाल्ने जिम्मा सहसचिव मदन दाहालले पाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्राधिकरणमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्य दाहाललाई रिक्त अध्यक्षको कामकाज गर्नेगरी तोकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

५. त्रिविको नीति अधिवेशन
त्रिभुवन विश्वविद्यालयको साधारणसभा ९नीति अधिवेशन० सम्पन्न भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सभामा कुलपति र उपकुलपतिमाथि विभिन्न खालका आरोप लागे । ओलीले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपे भने उपकुलपति प्राडा केशरजंग बरालले ‘दुई नम्बरे उपकुलपति’ को आरोप खेपे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाए । सभा सदस्यहरूले डीन र क्याम्पस प्रमुख मेरिटोक्रेसीका आधारमा नियुक्त गर्न खोज्दा प्रधानमन्त्री र प्रधानमन्त्रीको दल नेकपा एमालेका नेताहरूको तर्फबाट हस्तक्षेप भएको बताए ।

६. बढ्दो सम्बन्धविच्छेद
सर्वसाधारण नागरिकदेखि चर्चित कलाकार, नेता, उच्च पदस्थ व्यक्तिले समेत सम्बन्ध विच्छेद गर्नु पछिल्लो समय हामीकहाँ सामान्यजस्तै भएको छ । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा सम्बन्ध विच्छेद बढेको देखिन्छ । देशभरिका अदालतमा देवानी मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा जग्गा, लेनदेन र ठगीका छन् भने त्यसपछि सम्बन्ध विच्छेदका । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन (२०७९–०८०) अनुसार, पछिल्ला वर्षमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्यामा वृद्धि भएको छ । 

विगत दुई वर्षमा भएका विभिन्न निर्वाचनमा गठबन्धन गरेको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचन (२०८४) भने एक्लै चुनाव लड्ने प्रस्ताव गरेको छ ।

महासचिव घनश्याम भुसालले पार्टीभित्र अनेक समस्या रहेको भन्दै ती समस्याको समाधान गर्न पार्टीको सिद्धान्त र कार्यक्रमलाई आन्दोलनका रूपमा जनतामाझ लैजानुपर्ने र आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव गरेका हुन् । स्थायी कमिटी बैठकमा पेस भएको भुसालको प्रारम्भिक प्रस्ताव पारित भए यसअघि अर्काको भर्‍याङमा उभिएको भनेर एकीकृत समाजवादी पार्टीमाथि लाग्दै आएको आरोप चिर्ने अवसर मिल्ने नेताहरूको भनाइ छ ।

८. रवि थप हिरासतमा
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

९. बढ्दो फिल्म निर्माण

पछिल्लो समय फिल्मको व्यवसाय उकालो लागेसँगै निर्माण पनि बढ्न थालेको छ । अचेल दैनिकजसो फिल्म निर्माण घोषणा, छायाङ्कनका समाचार देख्न र सुन्न पाइन्छ । कलाकारदेखि प्राविधिकसम्म धेरैजसो व्यस्त छन् । नियमित फिल्म निर्माण गर्ने त छँदैछन्, पुरानाहरू ‘कमब्याक’ गर्ने र नवप्रवेशी आउने क्रम बढ्दो छ । पुराना निर्देशक तुलसी घिमिरे, ऋषि लामिछाने र रोज राणाले ‘कमब्याक’ गरेका छन् । निर्देशक तुलसी घिमिरे ‘पहाड’ फिल्ममार्फत ‘कमब्याक’ गर्दैछन् भने ऋषि लामिछाने ‘माग्नेराजा’ मार्फत फेरि यो क्षेत्रमा आउँदैछन् । रोज राणाले ‘दादागिरी २’ बनाउने तयारी थालिसकेका छन् ।

१०. गौतमवुद्ध 
भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरिने भएको हो ।  

११. डोनाल्ड ट्रम्प
 टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उनको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।
नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने ट्रम्पले आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको शीर्षक आवरण सजाएका छन् ।

१२. खेल समाचार

नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औं खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप