१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म
आज मिति २०८१ साल मंसिर महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. दुर्गा प्रसाई फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
२. राष्ट्र बैंकको रिपोर्ट
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारमा रिपोर्ट सार्वजनिक गरेको हो ।
बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।
३. कृषिका कुरा
गत चैत ३० गते सरकारले सुन्तलालाई ‘राष्ट्रिय फल’ घोषणा गर्यो । तर त्यसपछि यसको बजारीकरण, उत्पादकत्व वृद्धि, भण्डारण लगायत विषयमा कुनै नयाँ योजना आएका छैनन् । सुन्तला राष्ट्रिय फल घोषणा हुनु अगावै भएका विभिन्न योजना तथा कार्यक्रमले अहिले निरन्तरता पाइरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जोन तथा सुपर जोन निर्धारण गरी सुन्तलाको वृद्धि विकासमा काम गर्दै आएको छ । तर यसअन्तर्गत चलेका सबै कार्यक्रम राष्ट्रिय फल घोषणा अघिकै हुन् ।
सुनसरीमा सूचीकृत नभएको अवैध गहुँको बिउको तस्करी हुने गरेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक कार्यदल बनाएर सुनसरी र मोरङमा अनुगमन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि भएको अनुगमनको क्रममा गहुँको बिउ तस्करी हुने गरेको फेला परेको हो ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष ०८१–०८२ मा १ लाख २३ हजार ७९५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेशभर ३९ हजार ७६३ हेक्टरमा धान खेती लगाइएकोमा उक्त परिमाणमा धान उत्पादन भएको हो । जुन गर्त वर्षको भन्दा १ हजार १७४ मेट्रिक टन कम हो ।
४. बीमा प्राधिकरणमा अन्तरिम कमाण्ड
बीमा प्राधिकरण ठप्प भएको नियामकीय सेवालाई सम्हाल्ने जिम्मा सहसचिव मदन दाहालले पाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्राधिकरणमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्य दाहाललाई रिक्त अध्यक्षको कामकाज गर्नेगरी तोकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
५. त्रिविको नीति अधिवेशन
त्रिभुवन विश्वविद्यालयको साधारणसभा (नीति अधिवेशन) सम्पन्न भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सभामा कुलपति र उपकुलपतिमाथि विभिन्न खालका आरोप लागे ।
ओलीले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपे भने उपकुलपति प्राडा केशरजंग बरालले ‘दुई नम्बरे उपकुलपति’ को आरोप खेपे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाए । सभा सदस्यहरूले डीन र क्याम्पस प्रमुख मेरिटोक्रेसीका आधारमा नियुक्त गर्न खोज्दा प्रधानमन्त्री र प्रधानमन्त्रीको दल नेकपा एमालेका नेताहरूको तर्फबाट हस्तक्षेप भएको बताए ।
६.बढ्दो सम्बन्धविच्छेद
सर्वसाधारण नागरिकदेखि चर्चित कलाकार, नेता, उच्च पदस्थ व्यक्तिले समेत सम्बन्ध विच्छेद गर्नु पछिल्लो समय हामीकहाँ सामान्यजस्तै भएको छ ।
पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा सम्बन्ध विच्छेद बढेको देखिन्छ । देशभरिका अदालतमा देवानी मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा जग्गा, लेनदेन र ठगीका छन् भने त्यसपछि सम्बन्ध विच्छेदका । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन (२०७९–०८०) अनुसार, पछिल्ला वर्षमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्यामा वृद्धि भएको छ ।
७. नेकपा एसमा घनश्यामको प्रस्ताव
विगत दुई वर्षमा भएका विभिन्न निर्वाचनमा गठबन्धन गरेको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचन (२०८४) भने एक्लै चुनाव लड्ने प्रस्ताव गरेको छ ।
महासचिव घनश्याम भुसालले पार्टीभित्र अनेक समस्या रहेको भन्दै ती समस्याको समाधान गर्न पार्टीको सिद्धान्त र कार्यक्रमलाई आन्दोलनका रूपमा जनतामाझ लैजानुपर्ने र आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव गरेका हुन् । स्थायी कमिटी बैठकमा पेस भएको भुसालको प्रारम्भिक प्रस्ताव पारित भए यसअघि अर्काको भर्याङमा उभिएको भनेर एकीकृत समाजवादी पार्टीमाथि लाग्दै आएको आरोप चिर्ने अवसर मिल्ने नेताहरूको भनाइ छ ।
८. रवि थप हिरासतमा
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
९. बढ्दो फिल्म निर्माण
पछिल्लो समय फिल्मको व्यवसाय उकालो लागेसँगै निर्माण पनि बढ्न थालेको छ । अचेल दैनिकजसो फिल्म निर्माण घोषणा, छायाङ्कनका समाचार देख्न र सुन्न पाइन्छ । कलाकारदेखि प्राविधिकसम्म धेरैजसो व्यस्त छन् ।
नियमित फिल्म निर्माण गर्ने त छँदैछन्, पुरानाहरू ‘कमब्याक’ गर्ने र नवप्रवेशी आउने क्रम बढ्दो छ । पुराना निर्देशक तुलसी घिमिरे, ऋषि लामिछाने र रोज राणाले ‘कमब्याक’ गरेका छन् । निर्देशक तुलसी घिमिरे ‘पहाड’ फिल्ममार्फत ‘कमब्याक’ गर्दैछन् भने ऋषि लामिछाने ‘माग्नेराजा’ मार्फत फेरि यो क्षेत्रमा आउँदैछन् । रोज राणाले ‘दादागिरी २’ बनाउने तयारी थालिसकेका छन् ।
१०. खेल समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औं खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
-
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन
-
अमेरिकन डलरसहित युवक पक्राउ
-
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्न : मुख्यमन्त्री कँडेल
-
कास्की अदालतमा सूर्य थापामाथि खनिए रवि, योजनाअनुसार प्रतिवेदन लेखेको आरोप
-
१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म