शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

आईटीएफ टेनिस जे३० पोखरा सर्किट–२ : आरब र शिवाली सिंगल्सतर्फ सेमिफाइनलमा

बिहीबार, २७ मङ्सिर २०८१, २० : ४०
बिहीबार, २७ मङ्सिर २०८१

पोखरा । आईटीएफ वर्ल्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् । 

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौथो दिनको प्रतिस्पर्धाहरू निकै रोमाञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरूले केही खेलमा जित केही हार बेहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गर्ल्सतर्फ शिवालीले सर्किट १ को उपबिजेता रहेकी सुनिरा थापालाई  ६–३, ६–४ को सोझो सेटमा हराउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य पारिन् । 

यता ब्वाइज सिंगल्सतर्फ  नै अस्ट्रेलियाका प्रतीक नवीनले चीनका हैनुओ गुऔ लाई ६–१, ६–३ ले पराजित गर्दै सर्किट १ को सेमिफाइनलमा पराजित भएको बदला लिएका छन् । प्रतीक सर्किट १ खेलको सेमिफाइनलमा हैनुओसँग पराजित भएका थिए । 

यस्तै ब्वाइज डबल्सतर्फ चौथो दिन सम्पन्न सेमिफाइनलमा नेपाली प्रणव मानन्धर र राजवीर प्रधानको जोडी भारतीय जोडी आरव चावला र ओजस मेहलावत सँग ६–२, ६–४ ले पराजित हुन पुगे । त्यस्तै भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका शोवर्य समला र प्रकाश सरणलाई ६–३, ६–३ ले तथा भारतीय जोडी आरव चावला र ओजस मेहलावतले नेपाली जोडी प्रणव मानन्धर र राज वीर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे । 

यस्तै गर्ल्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यीजिया झाओलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा बनाउँदा मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले पराजित गरिन् । त्यस्तै अन्य एक खेलमा भारतकी अर्जन खोराकिवालालाई चीनकी तियानरान डोंगलाई ६–७(१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए । 

भोली हुने गर्ल्स सिंगल्स सेमिफाइनलमा भारतकी महिकाले मंगोलियाकी मार्टा सँग भेट पक्का गर्दा नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालाको सामना गर्ने भएकी छन् । त्यस्तै ब्वाइज सिंगल्सतर्फ चीनका हैनुओले भारतका आश्रब्य मेहरासँग भेट पक्का गर्दा अर्को सेमिफाइनलमा नेपाली खेलाडी आरवले अस्ट्रेलियाका नविन प्रतिकको सटिक प्रहारहरूको सामना गर्नेछन् । 

यता गर्ल्स सेमिफाइनलमा मार्टा छोग्सोमजाभ (मंगोलिया) र यीजिया झाओ (चीन)को जोडीले भारतीय जोडी एन्जल पटेल र सायेत वराडकरलाई ६–२, ६–३ ले  तथा भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकिवालाले नेपालको शिवाली गुरुङ र सुनिरा थापालाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ६–७(४), (१०–५) ले पराजित गरी फाइनलमा स्थान बनाए । 

यस्तै ब्वाइज डबल्सतर्फ भने भोली फाइनल खेल सञ्चालन हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । 

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपबिजेताले १८ अङ्क, सेमिफाइनलिष्टले ९ अङ्क, क्वाटरफाइनालिष्टले ५ र आर–१६ले २ अङ्क प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमिफाइनालिष्टले ६ अङ्क, क्वाटर फाइनालिष्टले ३ अङ्क प्राप्त गर्नेछन् । सिंगल्सतर्फका फाइनल खेलहरू शनिबार मङ्सिर २९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप