शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
नीति अधिवेशन

त्रिवि सभाका रोचक दृश्य : आक्रोशित सदस्यलाई प्रधानमन्त्रीले सम्झाउनेदेखि बाहिर प्रदर्शनसम्म

बिहीबार, २७ मङ्सिर २०८१, २० : ४५
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको साधारण सभाले विभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको छ । आज बसेको साधारण सभा (नीति अधिवेशन) ले १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा सर्वसम्मतले पारित गरेको हो । 

विश्वविद्यालयको तर्फबाट विभिन्न १२ वटा बुँदा पेस भएका थिए । ती मध्ये ८ नम्बरको बुँदामा सभा सदस्यहरूले आपत्ति जनाएपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल गरेर अर्को पटक पेस गर्ने भन्दै ‘होल्ड’ गर्न भनेपछि उक्त विषय रोकिएको हो । 

बिहान ११ बजे बोलाइएका लागि सभा ११ः४५ बजेबाट सुरु भएको थियो । दुई घण्टा ४४ मिनेटसम्म चलेको सभामा विभिन्न खालका रोचक दृश्यहरू देखिए । 

भित्र सभा चलिरहँदा बाहिर कर्मचारीहरू र विद्यार्थीहरूको धर्ना तथा नाराबाजी भइरहेको थियो । यता,सभामा बोल्ने सदस्यहरू आक्रोशित हुँदै आफ्नो भनाई राखिरहेका थिए । 

सभा अध्यक्ष ओलीले मन्तव्य राखेर सुरु भएको बैठकमा विभिन्न सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले उपकुलपति प्राडा केशरजंग बरालमाथि विभिन्न आरोप लगाए । त्यस्तै कुलपति ओलीमाथि समेत आरोप लगाइयो । विश्वविद्यालयका अन्य पदाधिकारीहरूले समेत आरोपमा सामना गर्नुपर्‍यो । 

सभा बस्नुभन्दा १५ दिन अगाडि सम्पूर्ण सदस्यहरूलाई जानकारी दिनुपर्ने र बैठकमा पेस हुने एजेन्डा दिनुपर्ने कानुनी व्यवस्था छ । तर, सदस्यहरूले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा १० बजे मात्रै एजेन्डाहरू आफूले पाएको बताए । 

त्यस्तै सभा बस्नु अघिल्लो दिन प्रि–सिनेट बस्नुपर्ने त्रिविको प्रावधान छ । उक्त प्रि–सिनेटमा एजेन्डाहरूमाथि व्यापक छलफल गर्ने र सभामा सिधै प्रस्तावहरू राख्दै पास गर्दै जाने प्रचलन हो । तर, आज एजेन्डाहरूमाथि पहिला कुनै छलफल नभई बैठकअघि मात्रै जानकारी दिएपछि सदस्यहरूले आक्रोश व्यक्त गरेका हुन् । 

TU sabha Agenda  (1)TU sabha Agenda  (2)

आवेश उत्तेजनामा नआऔँ : प्रधानमन्त्री 

सभामा बोल्ने सदस्यहरूले १५ दिन अगाडि बाँड्नुपर्ने एजेन्डा नबाँडेको, प्रि–सिनेटमा एजेन्डाबारे छलफल हुनुपर्नेमा नभएको बताए । पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले कुनै विधि प्रक्रिया अनुसार नचल्ने भए अर्को पटकदेखि सभामा आफूलाई नबोलाउन आग्रह गरे । 

त्यस्तै जनभावना क्याम्पस प्रमुख तथा सभा सदस्य शिवराज सन्जेलले समेत आफूलाई कुनै एजेन्डा पहिला नै नदिएको र ४/५ दिन अगाडि मात्रै फोन गरेर अधिवेशनबारे जानकारी गराइएको बताए । मनपरी ढङ्गबाट नचल्न उपकुलपतिसहित पदाधिकारीहरूलाई अनुरोध गरे ।

त्यस्तै अर्का सदस्यले पनि सदस्यहरूलाई विधि र प्रक्रिया अनुसार सहभागी नगराइएको भन्दै आफू बाहिर निस्किने चेतावनी दिए । सदस्यहरूले अर्को पटक नबोलाउन, उठेर हिँड्ने जस्ता घुर्की लगाउन थालेपछि सभाध्यक्ष ओलीले सम्झाउने प्रयास गरे । 

आवेग र उत्तेजनामा नआउन र आफ्ना कुरा सभ्य र नम्र भएर राख्न अनुरोध गरे । ‘आफ्ना तर्कहरू राखौँ । छाड्ने, उठेर हिँड्ने कुरा नगरौँ । ‘यस्तो भएन भने नत्र’ भन्ने शैली नगरौँ । म सुनिराखेको छु । विचारको सहीपना, विचारको गम्भीरता मैले बुझिराखेको छु,’ उनले भने, ‘यसमा बस्न सकिँदैन भन्नेतिर नलागौँ । हामी गयौँ भने अर्को आउँछ । मैले कुलपतिबाट राजीनामा दिए भने अर्को आउँछ । मेरो कारण रोकिनेवाला त होइन । त्यसैले यस्ता कुरा नगरौँ ।’ 

उनले आवेश र उत्तेजनामा आएर विचार नराख्न अनुरोध गरेपछि सदस्यहरूले नरम भाषामा आफ्ना भनाइहरू राखे । 

भित्र सभा, बाहिर प्रदर्शन र धर्ना

प्रधानमन्त्री सभामा सहभागी हुन आएपछि बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्रिवि परिसर वरपर र सभाहल बाहिर तैनाथ अवस्थामा थिए । बाक्लो सुरक्षा घेराबिच त्रिविको सभा चलिरहेको थियो । सभा बाहिर कर्मचारीहरूको पनि बाक्लो उपस्थिति थियो । 

विश्वविद्यालय कर्मचारी र त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नर्सहरू सभाको निर्णयको प्रतीक्षामा थिए । आफ्नो सेवा सुविधा वृद्धिको अपेक्षामा रहेका उनीहरू सभाले केही निर्णय गर्ने अपेक्षामा थिए । 

त्यस्तै उपकुलपति कार्यालय बाहिर र उपकुलपति कार्यकक्ष बाहिर धर्ना थियो । त्यो पनि त्रिवि स्ववियु सचिव तथा अनेरास्ववियु त्रिवि अध्यक्ष सिद्धान्त भट्ट धर्नामा थिए । त्यस्तै बाहिर कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष (निवर्तमान स्ववियु परिषद् सभापति) सञ्जय बुढाथोकी रिले अनसनमा थिए । उनी सामुदायिक क्याम्पसहरूको न्यायका लागि भन्दै रिले अनसनमा बसेका थिए । 

सत्तारूढ दल एमालेकै भातृ संगठनका त्रिवि अध्यक्ष नै धर्नामा थिए । उनी विभिन्न ३५ बुँदे माग अघि सारेर धर्नामा बसेका थिए । सभा सकिएपछि आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै कर्मचारी नाराबाजी उत्रिए । उपकुलपति कार्यालय घेराउ गर्न जाने भन्दै हिँडेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । 

लामो समयदेखि सेवा सुविधा वृद्धि नगरिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए । ‘पदाधिकारीहरू एक घण्टामा बैठकमा बस्दा पनि दिनको भत्ता खान्छन् । हामी वर्षौँ भयो पुरानै तलब भत्तामा काम गर्नुपरेको छ । आजको सभाबाट माग सम्बोधन हुन्छन् भनिएको थियो । तर, त्यो भएन । अब सशक्त आन्दोलन गर्छौँ,’ एक कर्मचारीले आक्रोशित हुँदै भने । 

उपकुलपति बरालमाथि ‘दुई नम्बरे’ आरोप

keshab baral

सभामा सदस्यहरूले उपकुलपति बरालमाथि दुई नम्बरे उपकुलपतिको आरोप लगाए । आफू दुई नम्बरमा परेर पनि उपकुलपति बनेको तर, अहिले पहिलो नम्बरमा परेकोलाई मात्रै नियुक्त गर्ने अडान लिँदै आएका छन् । उनको अडानलाई लिएर नेकपा एमाले नेता कार्यकर्ताहरूले दुई नम्बरे उपकुलपतिको आरोप लगाउँदै आएका छन् । 

आरोपको जवाफ दिँदै बरालले भने, ‘जसरी मलाई २ नम्बरे भनिराख्नु भएको छ । मैले जस्तो खेप्न नपरोस् भनेर काम गर्न खोजिएको हो ।’

डीन र क्याम्पस नियुक्तिमा पहिलो नम्बरमा सिफारिसमा परेको व्यक्तिलाई नै नियुक्ति गर्ने अडान रहँदै आएको छ । त्रिविको ८ डीन र १८ वटा क्याम्पसका प्रमुख नियुक्त गर्न सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ७ पुससम्म डीन र क्याम्पस प्रमुख नियुक्ति गर्न निर्देशन दिएका छन् । 

हस्तक्षेप गरेको कुलपतिमाथि आरोप

सभा सदस्यहरूले कुलपति ओलीलाई विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाए । डीन र क्याम्पस प्रमुख मेरिटोक्रेसीका आधारमा नियुक्त गर्न खोज्दा प्रधानमन्त्री र प्रधानमन्त्रीको दल नेकपा एमालेका नेताहरूको तर्फबाट हस्तक्षेप भएको बताए । 

त्यसका प्रधानमन्त्री ओलीले नम्र भाषामा जवाफ दिए । ‘कतै बाढी पहिरो गयो भने प्रधानमन्त्रीका कारण गयो भन्छन् । कतै दुर्घटना भयो भने मेरै कारणले भयो भन्छन् । जस गरे पनि प्रधानमन्त्रीलाई आरोप नलगाई, प्रधानमन्त्रीलाई गाली नगरी चित्त नबुझ्नेहरू छन्,’ ओलीले भने, ‘सबै जना कानुन अनुसार चल्नुपर्छ । डीन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गर्‍यो भने पत्रिकामा समेत छापिएको छ । मेरो कुनै हस्तक्षेप छैन । उपकुलपतिलाई तपाई राम्रोसँग चलाउनुहोस् मेरो कुनै हस्तक्षेप हुँदैन भनिरहेको छ । निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नआओस् भन्ने हो ।’ 

विश्वविद्यालय अप्ठ्यारोमा नपरोस् राम्रोसँग चलोस् भनेर आफूले चासो राखेको तर, कुनै प्रकारको हस्तक्षेप नगरेको प्रष्ट पारे । 

tu

त्रिभुवन विश्वविद्यालयमा पीएचडी गरेका प्राध्यापक हुने

त्रिभुवन विश्वविद्यालयले प्राध्यापक हुनका लागि पीएचडी गरेको व्यक्तिले मात्रै पाउने भएको छ । सभामा पेस भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

त्रिविको तर्फबाट सभामा ‘विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति, पदस्थापन र सरुवा हुने शिक्षकहरू कम्तीमा विद्यावारिधि हुनुपर्ने व्यवस्था लागू गरिनेछ’ भनी प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै अब त्यससम्बन्धी नियम बन्नेछ । त्यसपछि मात्रै उक्त प्रावधान लागू हुनेछ । हालसम्म स्नातकोत्तर तह पास गरेको व्यक्ति उपप्राध्यापक हुन पाउने व्यवस्था छ । विश्वविद्यालयको गुणस्तरमा सुधार गर्नका लागि त्रिविले पीएचडी गरेको व्यक्ति मात्रै विश्वविद्यालयको प्राध्यापक हुनुपर्ने प्रस्ताव राखेको हो । 

त्रिविमा मेरिटोक्रेसीका नाममा ड्रामा हुनुहुँदैन : प्रधानमन्त्री ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउनुपर्ने बताए । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चिकैको मेरिटोक्रेसी ल्याउनुपर्ने बताएका हुन् । 

‘साँच्चिकैको मेरिटोक्रेसी हुनुपर्छ । ड्रामा अफ मेरिटोक्रसी हुनुहुँदैन । निष्पक्ष र मेरिटोक्रसीमा प्रश्न नउठ्ने निष्पक्ष ढङ्गले काम होस् भन्ने हो,’ ओलीले भने । 

आफूले त्रिविमा हस्तक्षेप नगरेको बताउँदै कुलपतिका हैसियतले मेरिटोक्रेसी हुनुपर्छ भन्ने कुरामा जोड दिएको बताए । 

ओलीले आउँदो पुस ७ गतेसम्म रिक्त रहेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गरिसक्न पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयका समस्या र मागहरूको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । 

स्ववियु सभापतिद्वारा विद्यार्थी हकहितका माग

सभामा स्ववियु सभापति श्यामराज ओझाले विद्यार्थीका हकहितका विभिन्न मागहरू राखेका थिए । विद्यार्थीले छात्रवृत्ति पाउनुपर्ने व्यवस्था गर्न माग गरे । एमफिल र पीएचडी गर्ने विद्यार्थीले विश्वविद्यालयबाट छात्रवृत्ति नपाउने बताउँदै उनले हालसम्म विश्वविद्यालयबाट मात्रै छात्रवृत्ति पाउने गरेको बताए । 

निजीले छात्रवृत्ति दिए नदिएको बारे पारदर्शी नभएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे । त्यसका लागि छुट्टै खालको सेन्ट्रल पोर्टल बनाउनुपर्ने र त्यसका आधारमा नै विद्यार्थीले छात्रवृत्ति पाउने उनको भनाइ थियो । 

त्यस्तै विद्यार्थीको जीवन बीमाको व्यवस्था गर्न समेत माग गरे । स्वास्थ्य बीमाका लागि विद्यार्थी हरेक ६ महिनामा ५०० रुपैयाँका दरले शुल्क तिर्ने गरेको तर, बीमा नपाउने बताउँदै त्यसका लागि विद्यार्थीले तिरिराखेको शुल्कबाट ५ लाख रुपैयाँसम्मको बीमा गर्नुपर्ने बताए । यो विषयमा कुलपति ओलीले बीमाको व्यवस्थामा छुट्टै छलफल गर्नुपर्ने बताए । 

त्यस्तै नेपाल ल क्याम्पसका सभापति एवं सभा सदस्य विष्णु ढुंगेलले विधि प्रक्रियाबाट आएका उपकुलपतिलाई सुनियोजित ढंगबाट प्रहार भइरहेको बताए । उपकुलपतिको बचाउँदै उत्रिँदै उनले भने, ‘एउटा उपकुलपतिलाई दोष दिने, सुनियोजित तरिकाले प्रहार भइरहेको छ । यसमा उपकुलपतिको मात्र दोष हो ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप