बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

एकाएक रवि लामिछानेको बचाउमा किन उभिए प्रचण्ड ?

बिहीबार, २७ मङ्सिर २०८१, २० : ००
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधको व्यवहार गरेको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाए । 

मङ्सिर २५ गते चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरिरहेको मात्रै बताएनन्, त्यस्तो कार्यको निन्दा समेत गरे । रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साँधेको उनको आरोप थियो ।

 

‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेका कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जोसुकैले बुझ्नसक्छ । रवि महान् अपराधी भेटियो जसरी व्यवहार गरेको सुहाउँछ त ? यो विल्कुल न्यायपूर्ण छैन । रवि लामिछानेसँग यति तर्सिनुपर्ने भनेपछि कांग्रेस एमाले कति कमजोर रहेछन्’, प्रचण्डले भनेका थिए ।

रविको पक्षमा निकै समय खर्चिएका उनले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन खोजिएकोमा उनले असन्तुष्टि पोखे ।

‘तपाईँ हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरूलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रविलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ,’ उनको आरोप थियो ।

त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रविमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका थिए ।

पाँच वटा सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा प्रचण्डले उनको पक्षमा अभिव्यक्ति दिएपछि सरकार दबाबमा परेको छ । यद्यपि माओवादीकै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । 

‘हाम्रो पार्टीको दुःख–सत्तापक्षको बदमासीका विरुद्ध बोल्नु परेको छ । प्रतिपक्षी सहकारी ठगलाई बोक्नु पनि परेको छ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तर, माओवादीका सचिव देवेन्द्र पौडेलले रविको बचाउन भन्दा पनि उनीमाथि सरकारले गरेको पूर्वाग्रही व्यवहारको प्रचण्डले आलोचना गरेको जिकिर गरे । सहकारी ठगीमा संलग्न रहेका एमालेका कतिपय व्यक्तिहरूलाई संरक्षण गरेर सरकार लामिछाने केन्द्रित भइरहेको देखिएकाले बोल्नु आवश्यक भएको उनको भनाइ छ ।

‘रविमाथि सरकार पूर्वाग्रही देखियो । सहकारी जति सबै रविले ठगेको जसरी त्यो हदसम्म उत्रिन जरुरत थिएन । सहकारी ठगीमा सबैभन्दा बढी कांग्रेस र एमाले मुछिएका छन् । उनीहरूमाथि कुनै अनुसन्धान नहुने रविलाई रातारात ठाउँ सार्नुपर्ने के जरुरत थियो ? राज्यले रविमाथि गरेको व्यवहारको विषयमा अध्यक्षले आलोचना गर्नुभएको होला’, उनले भने, ‘रवि सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत व्यक्ति हुन् ।उनी अहिले पनि माननीय छन् र सबैभन्दा मत ल्याएर जितेका सांसद हुन् । चितवन गएका बेला रविको पनि निर्वाचन क्षेत्र भएकाले सरकारले गरेको ज्याजतीबारे जानकारी गराउनुभएको होला ।’

 प्रोफेसर कृष्ण पोखरेलले पनि रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको आलोचना गरे । संसदको चौथो ठुलो दलका नेतामाथि सम्पूर्ण राज्यशक्तिको दुरुपयोग गरी अनुसन्धान गर्नु जरुरत नभएको उनले बताए । सरकारको दुराशयपूर्ण व्यवहारबारे प्रमुख प्रतिपक्षी दलले बोल्नु जायज भएको पोखरेलको धारणा छ । 

‘राज्य नै दुराशययुक्त तवरले व्यक्ति केन्द्रित भएर लागेको छ । सरकारको नियत राम्रो देखिएन । रवि सबैभन्दा बढी मत ल्याएर निर्वाचित सांसद हो । संसदमा चौथो ठुलो दल हो । उनलाई जसरी दुःख दिने नियतले सम्पूर्ण राज्य शक्ति लागेको छ, त्यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दलका नेताले बोल्नु गलत हो जस्तो लाग्दैन । विपक्षी दलमाथि राज्यले गरेको अमानवीय व्यवहारको विरुद्ध अर्को प्रतिपक्षी दलले बोल्नु जायज छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत रविलाई भेटेर अवस्था बुझेका छन् । कांग्रेसभित्रै पनि राज्यशक्ति दुरुपयोगविरुद्ध आवाज उठेको छ’, उनले भने ।

सहकारी रकम अपचलन गर्नेमा सबैभन्दा बढी एमाले कांग्रेस रहेको उनको आरोप थियो । उनीहरूलाई जोगाएर रविमाथि मात्रै अमानवीय व्यवहार देखाउनुमा सरकारको दुराशयपूर्ण व्यवहार देखिएको पोखरेलको बुझाइ छ ।

समय परिस्थिति हेरेर आफ्नो पक्षमा माहौल सिर्जना गर्न माहिर प्रचण्डले सरकारमाथि दबाब बढाउन रविको पक्षमा अभिव्यक्ति दिएको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । प्रचण्ड सरकारमा दुई पटक पार्टीको नेतृत्व गरेर रवि लामिछाने आफै गएका थिए ।

 कांग्रेस एमालेबिच भएको सात बुँदे सहमतिको जगमा २०८१ असार ३१ गते केपी ओली प्रधानमन्त्री भएका थिए । सरकार ढल्ने निश्चित भएपछि सत्ता सहकार्य गरेका अन्य साना दलले साथ छोडेपनि अन्तिमसम्म रास्वपा र एकीकृत समाजवादीले प्रचण्डलाई समर्थन गरेका थिए । रवि पक्राउ पर्ने दिनको बिहान संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक राखेर प्रचण्डले उनलाई पक्राउ गर्न लागिएको सूचना दिएका थिए । त्यसयता लामो समयसम्म मौन रहेका उनले एकाएक रवि लामिछानेको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका हुन् । 

पूर्वउप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने पाँच वटा सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए  । प्रहरीले हिरासतमा राखेर तर कहिले कता कहिले कता पु-याएर रवि लामिछानेमाथि अनुसन्धान जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप