रास्वपाले कसरी गर्दैछ पहिलो महाधिवेशनको तयारी ?
काठमाडौँ । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनको तयारीमा जुटिरहेको बताएको छ । रास्वपाले २०८२ वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ ।
जसअनुसार महाधिवेशनको तयारी स्वरूप जिल्ला भेलाहरू लगातार भइहरेको सो पार्टीको भनाइ छ । नयाँ विधान अनुसार जिल्ला समितिलाई समायोजन गर्दै लगिएको कार्यवाहक महामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
गत असोज २ गते पार्टीको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले महाधिवेशन गर्ने घोषणा गरेका थिए । सभापति लामिछानेले सोही दिनबाट कार्यसमिति महासमिति आयोजक समितिमा रूपान्तरण भएको समेत जानकारी गराएका थिए ।
यद्यपि अहिले सभापति लामिछाने सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । उनले कास्की‚ काठमाडौँ‚ चितवन, पर्सा र रुपन्देही पुगेर सरकारी वकिल र प्रहरीसँग बयान दिइसकेका छन् । बिहीबार मात्रै कास्की जिल्ला अदालतले उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपा सडक केन्द्रित आन्दोलनमा होमियो । जसका कारण महाधिवेशनका लागि आवश्यक व्यवस्थापन गर्न पनि समयमै सकेको थिएन ।
रवि पक्राउ राजनीतिक प्रतिशोध भनेर स्थापित गर्न सडक उत्रिएको रास्वपा अहिले भने सबै सडक आन्दोलन स्थगन गरेर बसेको छ । बिचका महिना सभापति केन्द्रित हुँदा त्यसको असर महाधिवेशनको आयोजनाको विषयमा पनि पर्नु स्वाभाविक भएको बुर्लाकोटीले बताए ।
‘महाधिवेशन समयमै गर्न र सर्न नदिन हामीले निरन्तर काम गरिरहेका छौँ‚’ उनले भने‚ ‘३ महिना अलमल भयो । उपनिर्वाचन‚सभापतिज्यूको पक्राउ प्रकरण लगायतले हामी डिस्ट्रव भयौँ ।’
सकेसम्म महाधिवेशन तोकेकै समयमा गर्ने रास्वपाको भनाइ छ । फागुनसम्म महाधिवेशनलाई जोडेर कति काम गर्न सकिन्छ त्यसपश्चात् तोकिएकै समयमा महाधिवेशन गर्ने कि केही पर सार्ने भन्नेबारे सल्लाह हुने बुर्लाकोटीले जानकारी दिए ।
‘जिल्ला भेलाहरू भइरहेको छ । फागुन सम्म महाधिवेशनको तयारी कहाँसम्म पुग्छ अनि मात्र यो छलफलमा आउने विषय हो‚’ उनले भने ।
उसो त रास्वपाले मिति घोषणा गरेपनि वडा‚ पालिका‚निर्वाचन क्षेत्र‚ जिल्ला तथा प्रदेशको अधिवेशन कहिलेसम्म सक्ने भनेर पार्टीले तालिका बनाएर काम गरेको छैन ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार हाल पार्टीका जिल्ला भेलाहरू निरन्तर भइरहेका छन् । पार्टीले पुस ५ भित्र जिल्ला भेला सक्ने तयारी गरेको उनले बताए ।
जिल्ला भेलाले रिक्त रहेका जिल्लामा संयोजक तथा उपसंयोजक तोक्ने‚ विधान अनुसार पार्टी सचिव‚कोषाध्यक्ष लगायत पद पनि पूर्ति गर्ने काम गर्नुपर्ने हुन्छ ।
‘विधानको नयाँ व्यवस्था अनुसार जिल्ला भेलाहरू भइरहेका छन् । पुसको ५ सम्म सक्ने त्यसपश्चात् छुटे भएका जिल्लाहरूलाई पछि गर्ने भन्ने तयारी छ‚’ उनले भने‚ ‘जिल्लामा संयोजक उपसंयोजक हुनुहुन्छ कतिपय जिल्लामा रिक्त पनि छ । त्यो पूर्ति र विधानमा भएको सचिव सहसचिव कोषाध्यक्ष सबै राखेर जिल्ला फराकिलो बनाउने काम भेलाले गरिरहेको छ ।’
पार्टीको राष्ट्रिय भेलाले पारित गरेको विधान अनुसार अद्यावधिक भएका जिल्ला कार्यसमितिले मात्र अधिवेशन गराउने अधिकार राख्छ । जिल्लाको काम सकिएपछि वडा र पालिकाको काम सुरु गर्ने रास्वपाको तयारी छ ।
‘केही पालिकाहरूले अधिवेशन माग गरेका छन् । तर खुला गरिसकेको छैन‚’ उनले भने‚ ‘जिल्ला भेला सकेपछि त्यही समितिले जिल्ला अधिवेशन गराउने वैधानिकता पाउनेछ । वडा पालिका सकिएपछि जिल्ला अधिवेशन थोरै समयमा गर्ने हाम्रो तयारी हो । त्यसपश्चात् प्रदेशको अधिवेशन हप्ता दिनभित्र गरिसक्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत