बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको कार्ययोजना प्रस्ताव

२०८४ को चुनावमा गठबन्धन नगर्ने घनश्याम भुसालको प्रस्ताव

पार्टीको समस्या : निराशा र एमालेको सामीप्यता खोज्ने प्रवृत्ति
बिहीबार, २७ मङ्सिर २०८१, १५ : ००
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । विगत दुई वर्षमा भएका विभिन्न निर्वाचनमा गठबन्धन गरेको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचन (२०८४) भने एक्लै चुनाव लड्ने प्रस्ताव गरेको छ ।

महासचिव घनश्याम भुसालले पार्टीभित्र अनेक समस्या रहेको भन्दै ती समस्याको समाधान गर्न पार्टीको सिद्धान्त र कार्यक्रमलाई आन्दोलनका रूपमा जनतामाझ लैजानुपर्ने र आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव गरेका हुन् । स्थायी कमिटी बैठकमा पेस भएको भुसालको 'प्रारम्भिक प्रस्ताव' पारित भए यसअघि अर्काको भर्‍याङमा उभिएको भनेर एकीकृत समाजवादी पार्टीमाथि लाग्दै आएको आरोप चिर्ने अवसर मिल्ने नेताहरूको भनाइ छ । 

मङ्सिर २६ गते बसेको स्थायी कमिटी बैठकमा महासचिव भुसालले पार्टी निर्माणका लागि भन्दै प्रस्ताव पेस गरेका थिए । जसमा जनताका साथमा सडक आन्दोलनमा जानु नै अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन्  ।

‘अहिले हाम्रो पार्टीमा एकसाथ अनेक समस्या छन् । वैचारिक,सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक समस्याको लामो फेहरिस्त बनाउन सकिन्छ । त्यसबाट विभिन्न रूपमा हामी प्रभावित भएका छौ’, महासचिव भुसालको प्रस्तावमा भनिएको छ, ‘एउटा राजनीतिक पार्टीले त्यस्ता सबै समस्याको समाधान मुख्यतः विचारधारात्मक तहमै खोज्नुपर्छ ।’

चुनावी गठबन्धन सोच्नै नसकिने

भुसालले एकीकृत समाजवादी संवैधानिक लोकतान्त्रिक व्यवस्थाभित्रै क्रान्तिकारी पहलकदमीबाट समाजवादको आधार तयार गर्दै अघि बढ्ने पार्टीका रूपमा चित्रण गर्दै अव हुने ०८४ को निर्वाचन पार्टीका लागि महत्त्वपूर्ण हुने भएकाले त्यो निर्वाचनमा पार्टीले गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन् ।

अब हुने निर्वाचनलाई पार्टीले आन्दोलनको कायर्मक्रमभित्रै राखेर अघि बढ्नुपर्ने जोड दिएका भुसालले अव फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा सोच्न समेत नसकिने बताएका छन् । गठबन्धनको दुष्परिणाम विगतका निर्वाचनमा पार्टीले भोगिसकेको भुसालको ठहर छ ।

‘अव फेरि गठबन्धनका आधारमा चुनावमा जाने कुरा हामीले सोच्नै सक्दैनौँ’, भुसालले भनेका छन्, ‘ गठबन्धनका कारण नेपालको राजनीति बदनाम हुँदै गएको छ भने क्रान्तिकारी पार्टीलाई वैचारिक रूपमा भुत्ते बनाउँछ ।’

आन्दोलनबाट पार्टी निर्माण गर्ने पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्ने तथा वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अघि बढ्ने भए पनि यसअघि एमाले र माओवादी केन्द्रको एकता र पछि भएको विभाजनबाट पाठ सिक्नुपर्नेमा भुसालको जोड छ ।

‘संक्षेपमा अव नेकपा एकीकृत समाजवादी ठोस राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनैपनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनुपर्छ’, भुसालको प्रस्तावमा भनिएको छ ।

भुसालले आफ्नो कार्ययोजनामा देशभरका समस्या संकलन गर्नुपर्ने र ती समस्या लिएर आगामी एक वर्ष सम्पूर्ण पार्टी सडकमा उपस्थित भए मात्रै आन्दोलन अघि बढाउन सकिने निष्कर्ष निकालेका छन् ।

उनले समस्या सङ्कलनको आरम्भदेखि नै नेतृत्व पङ्क्ति समेत सडकमा गएर पार्टी पङ्क्तिलाई उत्साहित र विश्वस्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

संकटको दुष्चक्र कायमै

भुसालले आफ्नो प्रस्तावमा अहिलेको नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकारले वर्तमान सङ्कट दुष्चक्रलाई समाधान गर्न नसक्ने ठोकुवा गरेका छन् ।

‘संसदीय मूल्यका हिसाबले यिनीहरू दुई ठुला पार्टीहरू मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परमादेशद्वारा सरकारमा पुर्‍याइएको र सरकारबाट निकालिएका पार्टीहरू हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरू हुन्’, भुसालले भनेका छन्, ‘जसले गर्दा यिनीहरूबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन ।’

उनले सत्तारुढ दलले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तर्विरोधलाई अझ बढाउने बताएका छन् ।

‘अर्थात्, अब यिनीहरूले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ । सत्ताको विरोध अझ बढ्छ । सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षडयन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउने छ’, अराजकता बढ्दै गएपछि  दमन बढ्दै जाने र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जान सक्ने भुसालको ठहर छ ।

आगामी राजनीतिक परिदृश्य केलाउँदै उनले अबका दिनमा सत्ता फासिस्ट बन्दै जाने र सडक अराजक बन्दै जान सक्ने हुँदा,सत्तारुढ दलकै स्वार्थ र भूराजनीतिक कारणले यो गठबन्धन तोडियो भने यसको ठाउँमा अनेकौँ पार्टीका स्वार्थहरूको नयाँ गठबन्धन सरकार बन्न सक्ने भुसालले औँल्याएका छन् । तर त्यस्तो गठबन्धन कमजोर बन्ने उनको निष्कर्ष छ ।

‘किनकि वर्तमान सांसदभित्र बन्न सक्ने गठबन्धनमध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन हो । यसका ठाउँमा बन्ने सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थिरता र अराजकतातर्फ लैजान नै मद्दत गर्ने छ’, उनले भनेका छन् । त्यसवेला  पुनरुत्थानवादी र पपुलिष्ट शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयत्न हुन सक्ने भए पनि तिनीहरूले ठुलै राजनीतिक पहलकदमीको नेतृत्व गर्न सजिलो नहुने भुसालको भनाइ छ । 

‘त्यसैले सरकारको अकर्मण्यता र त्यसको विरोध सँगसँगै २०८४ सम्म यो गठबन्धन टिक्न पनि सक्छ । तर त्यसले अर्थ राजनीतिक तनावलाई बढाइरहने छ र २०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रूपले बिग्रिँदै जान सक्छ’, भुसालले आफ्नो प्रस्तावमा भनेका छन् ।

एमालेसँग सामीप्यता खोज्ने प्रवृत्ति

नेकपा एकीकृत समाजवादीको गत असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी सोचेअनुसार अगाडि बढ्न नसकेको महासचिव भुसालले स्वीकार गर्दै त्यसका विभिन्न कारणहरू रहेको खुलाएका छन् ।

‘त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन्, तर जेसुकै भए पनि त्यो कमजोरी नै हो’, उनले भनेका छन्, ‘अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा, हतासा, अन्योल, पलायन र निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् ।’

उनले कतिपय पार्टी नेता कार्यकर्ताहरू नेकपा एमालेसँग सामीप्यता खोज्ने तथा नेकपा माओवादीसँग नजिकिन खोज्ने प्रवृत्तिहरू देखिएको बताएका छन् ।

पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्य योजनाले मात्रै देखिएका प्रवृत्तिहरूको समाधान गर्न सकिने भन्दै भुसालले मुलुकको राजनीतिका मुख्य समस्याहरू के हुन्, सामान्य राजनीतिक परिस्थिति कस्तो छ, चुनौती के छन् भन्ने जस्ता विषयको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । 

‘हामीले पार्टी कसरी निर्माण गर्छौँ जस्ता विषयमा खुलाखुलस्त छलफलद्वारा पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन । यो तितो वास्तविकतालाई बिना हिचकिचाहट स्वीकार गरौँ र अगाडि बढौँ’, भुसालको प्रस्तावमा भनिएको छ ।

भुसालको प्रस्तावमाथि शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ । उक्त प्रस्ताव जस्ताको तस्तै पारित भए एकीकृत समाजवादीले सडक आन्दोलनलाई जोड दिँदै आगामी निर्वाचनमा समेत एक्लै चुनाव लड्ने नीतिलाई औपचारिक रूपमा मान्यता दिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप