बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अचानक किन रद्द भयो चिनियाँ धर्मगुरु पन्चेन लामाको नेपाल यात्रा ?

बिहीबार, २७ मङ्सिर २०८१, १४ : ००
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । चिनियाँ धार्मिक गुरु पन्चेन लामा (ग्यात्सेन नोर्बु) नेपाल आउने भनिएपनि अचानक भ्रमण रद्द हुन पुगेको छ । 

बिहीबारदेखि राजधानीमा सुरु भएको ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा सहभागी हुन उनी नेपाल आउने भनिएको थियो । तर सरकारी तहबाट नै अन्तिम समयमा लामाको भ्रमण रोकिएको दाबी गरिएको छ । 

उनी भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु हुन् । 

उनलाई धर्मगुरुको रूपमा चीनले नेपाल ल्याउन चाहेको थियो भने नेपाल आउने सम्पूर्ण तयारी पनि पूरा भएको थियो । लुम्बिनी विकास कोषका अध्यक्ष ल्हारक्याल लामाले प्रधानमन्त्रीको तहबाट नै लामाको भ्रमण स्थगित गरिएको कुरा आफ्नो जानकारीमा आएको बताए । 

भ्रमण के कारणले रोकियो भन्नेबारे ठ्याक्कै जानकारी नभएपनि उच्चस्तरीय दबाबका अन्तिम समयमा रोकिएको उनको भनाइ छ । उनले भने, ‘यो हाइ लेभलको कुरा हो, अरू कुराहरू मलाई केही थाह छैन ।’

गृह मन्त्रालय स्रोतले पनि धर्मगुरु लामाको भ्रमण स्थगित भएको बतायो । मन्त्रालय स्रोतका अनुसार उनी आउने सुरक्षा व्यवस्थासहित सबै तयारी पुरा समेत भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली चीन जानु भन्दा पहिले नै धर्मगुरु पन्चेन लामा नेपाल आउने कुरा तय भएको थियो । प्रधानमन्त्री ओलीले पनि धर्मगुरु लामा आउनेमा सहमति जनाएका थिए । तर उनी फर्केपछि परिस्थितिमा परिवर्तन आयो र उनलाई नेपाल आउन नदिने सरकारी स्तरबाट नै निर्णय भएको स्रोतको भनाइ छ । 

लुम्बिनी विकास कोषको एक अधिकारीले भने, ‘पन्चेन लामा आउने कुराको जानकारी आधिकारिक रूपमा नआए पनि अनौपचारिक रूपमा तयारी गर्न भनिएको थियो । त्यसमा कोषका अध्यक्ष ल्हारक्याल लामा आफै लाग्नु भएको थियो ।’ तर अहिले आएर अध्यक्ष लामाको दाबी छ, ‘हामीले कुनै तयारी गरेका थिएनौँ ।’

पन्चेनको नियुक्तिलाई तिब्बतीलगायत अन्यहरूले स्वीकार गरेका छैनन् । उनको नियुक्तमा विवाद भइरहेको छ । 

पन्चेनको नियुक्तिमा भारत, अमेरिकालगायत देशहरूका बौद्धमार्गीहरुले आलोचना गर्दै आएका छन् । चीनले उनलाई नेपाल ल्याएर दलाई लामा जस्तै स्थापित गर्न खोजेको बताइन्छ । उनी नेपाल आउने भएपछि भारत र अमेरिका सक्रिय भएर त्यसलाई रोक्न नेपाल सरकारलाई दबाब दिएको स्रोतले जनाएको छ । 

यसअघि लुम्बिनीमा हुने एउटा कार्यक्रममा दलाइ लामा आउने भएपछि चीनले यसैगरी रोकेको थियो । दलाइ लामालाई लुम्बिनी आउन रोक लगाए पछि सो कार्यक्रम नै स्थगित भएको थियो । 

अमेरिकी संस्था लारेटस् एन्ड लिडर्सको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको समन्वयमा २०८० फागुन २८ र २९ गते बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन हुने तय भएको थियो । सो कार्यक्रममा दलाइ लामा आउने भएपछि नेपालको भूराजनीति तरङ्गित भएको थियो । 

दलाइ लामा आउने भएपछि नेपालस्थित चिनियाँ दूतावास सक्रिय भएर त्यो कार्यक्रम नै स्थगित गराएको थियो । त्यो बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार थियो । 

अहिले पनि पन्चेन आउने भएपछि नेपालको भूराजनीति तरङ्गित भएको थियो । त्यसपछि नेपालस्थित भारतीय दूतावास र अमेरिका दूतावास सक्रिय भएर पन्चेनलाई नेपाल आउनबाट रोकेको स्रोतहरूले दाबी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप