बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सम्बन्ध विच्छेद

किन टिक्दैन कलाकारको सम्बन्ध ?

बिहीबार, २७ मङ्सिर २०८१, ११ : ३७
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । अभिनेत्री रेखा थापाले प्रेमी–प्रेमिकाको मिलन भएका धेरै फिल्ममा अभिनय गरिन् । कतिपय फिल्ममार्फत परिवार फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने सन्देश समेत बाँडिन् । रिल लाइफ (फिल्मको पर्दा)मा जस्तो सफलता उनलाई रियल लाइफमा भएन । 

निर्माता छवि ओझासँगको करिब १० वर्ष लामो सम्बन्धबाट उनी अलग भइन्, २०७६ सालमा । उनीहरूबिचको सम्बन्ध विच्छेदको कारण उमेरको अन्तरलाई बताइन्छ । छविसँग सम्बन्ध विच्छेदपछि बलराम शाहीसँग घरजम गरेकी रेखाको यतिबेला दाम्पत्य जीवन सुखद देखिन्छ ।

हास्य कलाकार मनोज गजुरेलले हास्यव्यंग्यमार्फत थुप्रै नेपालीलाई हँसाइरहेका छन् । उनको हास्यव्यङ्ग्य कतिपय रोगीका लागि थेरापीजस्तै हुने गरेका छन् । सबैलाई हँसाउने गजुरेलले आफ्नो पहिलो वैवाहिक सम्बन्धलाई भने सुखद राख्न सकेनन् । उनले पहिलो वैवाहिक सम्बन्धलाई २०७४ मा टुङ्ग्याएर दोस्रो घरजम गरिसकेका छन् ।

गायक निशान भट्टराईले गाएका गीतले कैयौँ प्रेमी–प्रेमिकालाई जोडेको होला । उनी स्वयंले भने छोटो अवधिमै वैवाहिक सम्बन्धलाई विच्छेद गरे । दुई वर्षको प्रेमपछि विवाह गरेका गायक भट्टराई र मोडल ऋचा न्यौपानेले २०८० चैतमा सम्बन्धलाई औपचारिक रूपमा टुङ्ग्याए । शंकाका कारण यी दुईको सम्बन्ध विच्छेद भएको बताइन्छ ।

माथिका त केही उदाहरण मात्र हुन् । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध पनि धेरै टिक्न सकेन । यिनीहरू विवाह गरेको करिब तीन वर्षमा छुट्टिए । 

शंका, सफलता, लामो समय परिवारसँग अलग रहनु र अन्यत्र सम्बन्ध बन्नु आदि अवस्था वा कारणले कलाकारका वैवाहिक सम्बन्ध बिग्रिएको देखिन्छ ।

गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराजको सम्बन्ध पनि टिकेन । मनोजराजसँगको सम्बन्ध विच्छेदपछि यतिबेला अञ्जु अर्को घरबारमा रमाइरहेकी देखिन्छिन् ।

अभिनेत्री प्रियंका कार्की यतिखेर अभिनेता आयुष्मान देशराज जोशीसँगको घरजममा खुसी देखिन्छिन् । यसअघि कार्कीले रोचक मैनालीसँगको वैवाहिक सम्बन्धलाई विच्छेद गरेकी हुन् । रोचक र प्रियंकाले अमेरिकामै बिहे गरेका थिए । रोचकलाई अमेरिका छाडेर नेपालमा अभिनयमा व्यस्त हुन पुगेकी प्रियंकाको व्यस्तताका कारण सम्बन्ध विच्छेद हुन पुगेको बताइन्छ । 

अभिनेत्री सञ्चिता लुइँटेलको पहिलो घरबार आकाश शाहसँग भएको थियो । आकाश करिअरका सिलसिलामा भारतमा व्यस्त भए । त्यसैले उनले आकाशसँगको सम्बन्ध तोडेर अभिनेता निखिल उप्रेतीसँग घरबार बसाइन् । निखिलले पनि पहिलो वैवाहिक सम्बन्ध टुङ्ग्याएर सञ्चितासँग विवाह गरेका हुन् । 

कलाकारको सम्बन्ध विच्छेदको सूची लामै छ — गायक धीरज राई र नायिका छुल्ठिम गुरुङ, भुवन केसी र सुम्मिता केसी, निर्देशक श्याम भट्टराई र रञ्जना शर्मा, पूजा चन्द र सुरज चन्द, अभिनेत्री गौरी मल्ल र राजन भण्डारी आदि । गायिका सपनाश्री, पूजा लामा, अभिनेत्री मौसमी मल्ल, अभिनेत्री रिमा विश्वकर्मा, अभिनेता शिव श्रेष्ठ, गायिका मिलन अमात्य, अभिनेत्री वर्षा शिवाकोटी, मिस नेपाल माल्भिका सुब्बा, उषा खड्गी लगायत थुप्रै कलाकारको वैवाहिक सम्बन्ध नटिकेको देखिन्छ । 

एउटै पेसामा रहेकासँग सम्बन्ध बनाउनेदेखि अलग पेसासँग घरबार बसाउनेसम्मको सम्बन्ध बिग्रिएको छ । प्रेम गर्ने, बिहे गर्ने फेरि सम्बन्धलाई दुई किनारा लगाउने कार्य कलाकारका लागि सामान्यजस्तै देखिन्छ । कलाकारको सम्बन्ध नटिक्नुको पछाडि धेरै अवस्थाले भूमिका खेलेको पाइन्छ । 

कलाकार संघका अध्यक्ष मोहन निरौला शंका, सफलता, लामो समय परिवारसँग अलग रहनु र अन्यत्र सम्बन्ध बन्नु आदि अवस्था वा कारणले कलाकारका वैवाहिक सम्बन्ध बिग्रिएको बताउँछन् ।

‘कलाकारले व्यस्तताका कारण घर–परिवारलाई समय दिन पाउँदैनन्,’ निरौला भन्छन्, ‘सबैले आफ्नो मान्छेसँग समय खोज्छ, परिवारले घरमा एक किसिमको व्यवस्था खोज्छ ।’ कतिपयले घर–परिवारभन्दा करिअरलाई महत्त्व दिँदा पनि सम्बन्ध बिग्रिएको देखेको निरौलाले सुनाए । ‘आजको उदार समाज र समय बुझ्न नसकेका कारण कतिपयको घरबार बिग्रिएको छ,’ निरौला थप्छन् ।

अध्यक्ष निरौलाका कुरासँग शत प्रतिशत सहमति जनाउँछन् फिल्म लेखक तथा समीक्षक सामीप्य तिमिल्सिना । ‘कलाकारितामा जो प्रवेश गर्छ, त्यो एउटा महत्त्वाकांक्षाका साथ आएको हुन्छ । त्यसमा एक सफल, अर्को असफल भयो भने पनि सम्बन्धमा तितोपन आउँछ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा दुवै सफल भए भने सम्बन्ध टिक्छ, नत्र टिक्दैन ।’ एक सफल र अर्को कम सफल हुँदा दुवैमा इगो आउने र त्यसले सम्बन्धमा नकारात्मक असर गर्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप