‘अहिले विवाह व्यक्तिको चाहना र स्वतन्त्रतासँग जोडिएको छ’
मान्छे किन एक्लै बस्न खोज्छ र एक्लै बस्न कुन बेला सक्छ भन्नेले नै सम्बन्ध विच्छेदमा विशेष भूमिका र अर्थ राख्छ ।
सामाजिक आवश्यकता र सामाजिक सम्बन्धको स्वरूपले व्यक्तिहरूलाई एक ठाउँमा ल्याएको हुन्छ । व्यक्तिबिचको सम्बन्धलाई सामाजिक संरचना, उत्पादन प्रणाली, अर्थ–व्यवस्था, राजनीतिक प्रणाली आदिले नियन्त्रण र निर्धारण गरेको हुन्छ । अर्थात् यी कुराले व्यक्तिको व्यवहारलाई नियन्त्रण वा निर्धारण गर्छ ।
हिजोको समाज धेरै पितृसत्तात्मक थियो । एक व्यक्तिको कमाइमा परिवारका धेरै सदस्यले जीविकोपार्जन गर्थे । परिवारमा महिला र पुरुष आ–आफ्नै क्षमतामा अलग–अलग उभिने सम्भावना कम थियो । किनभने उत्पादनको प्रमुख साधन भनेको जमिन मात्रै थियो । त्यो जमिनको स्वामित्व खास एउटा व्यक्तिमा केन्द्रित थियो । त्योबाहेक जिन्दगी चलाउने अरु अतिरिक्त स्रोत कम हुन्थे । त्यस कारण परिवारका अन्य सदस्य त्यही जमिनमाथि आश्रित हुनुपथ्र्यो । महिलाले म छुट्टै बसेर आफ्नो खुट्टा उभिन्छु भन्नलाई पनि जमिन आफ्नो स्वामित्वमा हुनुपथ्र्यो ।
अहिले जस्तो आयआर्जन गर्ने आधार र अवसर पहिलेको सामन्तवादी वा जमिनमा आधारित प्रणालीमा थिएन । आय–आर्जनका अवसर कम भएकाले पनि महिलाहरू परिवारसँग जोडिएर रहनुपर्ने, एक ठाउँमा रहनुपर्ने लगायत धेरै खालका बाध्यता हिजोका दिनमा थिए । आज महिलाले कानुनी अधिकार पाएका छन् । समावेशी र आरक्षणको नीतिले महिलाहरूको उपस्थिति राजनीतिदेखि सरकारी सेवामा देखिएको छ । देशमै केही गर्नेदेखि वैदेशिक रोजगारीसम्मका कुरा छन् । यी सबैले एक्लै पनि केही न केही गर्न सक्छु भन्ने हिम्मत महिलामा बढेको अवस्था छ ।
हिजोको दिनमा अन्याय वा विभेद सहेरै भए पनि बस्नुपर्छ, पारिवारिक विघटनमा जानुहुँदैन भन्ने थियो । अहिले आएर शिक्षा लगायत विविध कारणले मान्छेको चेत बढ्यो । विभेद, अन्याय र असमानता सहेर बस्ने होइन त्योबाट मुक्ति पाउनुपर्छ, व्यक्ति स्वतन्त्र हुनुपर्छ भन्ने सचेतना बढ्दै गयो । वैवाहिक सम्बन्धमा रहिरहँदा त्यो खालको स्वतन्त्रता हनन हुने अथवा स्वतन्त्रता सीमित हुने अवस्था देखेपछि सम्बन्ध विच्छेद गरेर स्वतन्त्र भई आफ्नै खुट्टामा उभिने चाहना बढेको देखिन्छ ।
सम्बन्ध विच्छेदका कुरालाई बल पुर्याउने कुराहरू जे जति छन्, तिनीहरूलाई कम गरेर पारिवारिक मिलनलाई निरन्तरता दिइरहन सकिन्छ । यसका लागि सरकारले अथवा सरोकारवाला निकायले काम गर्न सक्छन् ।
जो बढी पढेको छ, संसार बुझेको छ, जसले धेरै कमाउँछ, जसको आम्दानी बढी हुन्छ, जो आफैँ कमाउन सक्छ, उसले आफूलाई असहज हुने अवस्थामा सम्झौता गरेर नबस्न सक्छ । यस्तै, व्यक्तिगत रुचि, इच्छा, आकांक्षा र उद्देश्यले पनि सम्बन्धमा प्रभाव पारेका हुन्छन् । आफ्नो रुचि वा उद्देश्यमा ठेस लाग्ने अवस्था आउँदा पनि मानिसले छुट्टिनेबारेमा सोच्न सक्छ ।
अहिले महिलाहरूका समस्या, पीडा अथवा उनीहरूले भोग्दै आएका विभेदलाई संगठित रूपमा बोकिदिने अरु एजेन्सी अथवा संयन्त्र छन् । यसले गर्दा महिलाहरूले विभेद र अन्यायबारे बुझ्ने अवसर पाएका छन् । कतिसम्म सहने, के कुरामा सम्झौता गर्ने वा नगर्ने भन्ने उनीहरूको क्षमतासँग जोडियो । आफ्ना कुरा राख्ने, विभेद र असमानताका विरुद्धमा बोल्ने र न्याय खोज्नका लागि महिलाहरूलाई धेरै कुराले साथ दिएको छ ।
पछिल्लो समयको सामाजिक संरचना, उत्पादन प्रणाली, लोकतान्त्रिक व्यवस्था, विज्ञान र प्रविधिको विकास आदिले व्यक्तिलाई स्वतन्त्र भएर गरिखाने वातावरण निर्माण गरेको छ । स्वतन्त्र भएर वा दम्पतीबिच छुट्टिएर बस्न सक्ने कानुनी आधारहरू पनि छन् । यी सबैले गर्दा सम्बन्ध विच्छेद हुने दर क्रमशः बढ्दै गइराखेको छ ।
भोलिका दिनमा पनि जति–जति विज्ञान प्रविधिसँगको पुँजीवादी उत्पादन प्रणाली बलियो हुँदै जान्छ, त्यति नै व्यक्तिको स्वतन्त्रताका घेरा फराकिला हुँदै जान्छन् । धेरैजसो कुरा वैयक्तिक बन्छन् । हिजोका दिनमा पारिवारिक वा सामाजिक माहोल थियो । विवाहलाई परिवारको बलियो आधार मानिन्थ्यो । अहिले विवाह भनेको व्यक्तिको चाहना र स्वतन्त्रताको विषय बनेको छ । व्यक्ति सक्षम र स्वतन्त्र भएको अवस्थामा धेरै कुरासँग सम्झौता गरेर एक ठाउँमा बस्नुपर्छ भन्ने मान्यता कमजोर हुँदै जान्छ । अर्थात् छुट्टिएर बस्ने बलियो आधार बन्छ ।
पहिले साथीभाइ, नातापाता, छिमेकी सबैले छुट्टिनु वा सम्बन्ध विच्छेद गर्नु हुँदैन भन्नेमा जोड दिन्थे । अहिले कुनै व्यक्तिले आफ्नो समस्या राख्यो भने साथीभाइ र नातापाताले नै अन्याय वा विभेद सहेर बसिरहनु हुँदैन भन्नेमा जोड दिन थालेका छन् ।
समाज सामन्ती उत्पादन प्रणालीबाट पुँजीवादी व्यवस्थातिर गएसँगै मानिस स्वतन्त्र हुन खोजेको देखिन्छ । सामूहिकतामा आधारित उत्पादन प्रणाली भएका बेला सम्बन्ध विच्छेदको दर कम हुन्छ, जति–जति उत्पादन प्रणाली वैयक्तिक हुन्छ, अथवा पुँजीवादी हुन्छ, अझ भन्ने हो भने प्राविधिक हुन्छ, त्यो हुँदै जाँदा व्यक्तिगत स्वतन्त्रताको दायरा फराकिलो हुने भएकाले सम्बन्ध विच्छेदको दरलाई बढाउँछ ।
पहिले साथीभाइ, नातापाता, छिमेकी सबैले छुट्टिनु वा सम्बन्ध विच्छेद गर्नु हुँदैन भन्नेमा जोड दिन्थे । अहिले कुनै व्यक्तिले आफ्नो समस्या राख्यो भने साथीभाइ र नातापाताले नै अन्याय वा विभेद सहेर बसिरहनु हुँदैन भन्नेमा जोड दिन थालेका छन् ।
एउटा यस्तो बिन्दु हुन्छ कि सन्तुलित उत्पादन प्रणाली हुँदा सम्बन्ध विच्छेदको दर स्थिर रहन सक्छ । पुँजीवादी उत्पादन प्रणालीको उच्चतम तह जहाँ उत्पादनका साधन तथा अवसरहरू अधिकतम निर्माण हुन्छन्, त्यस्तो बेला सम्बन्ध विच्छेदको दर स्थिर रहने सम्भावना बन्ने भयो । किनभने सम्बन्ध विच्छेदको दरलाई निर्धारण गर्ने उत्पादन प्रणाली, सामाजिक संरचना, अर्थतन्त्र, राजनीतिक प्रणाली आदि स्थिर भएका बेला सम्बन्ध विच्छेदको दर पनि स्थिर हुने सम्भावना रहन्छ ।
वैदेशिक रोजगारीमा गएर सम्बन्ध विच्छेद बढ्यो भनेर भन्न मिल्दैन तर यसले परिवारका सदस्यबिच अन्तक्र्रिया कम हुन्छ । विदेश जाँदा उनीहरूले सोच्ने कुरा, देखेको कुरा, कमाउने तरिका फरक हुन्छ । यसको प्रभाव दाम्पत्य जीवनमा पर्यो भने सम्बन्ध विच्छेदको सम्भावना बढ्न पनि सक्छ ।
अहिले सम्बन्ध विच्छेदको दर बाहिर गएकामा बढी छ कि नेपालभित्रै रहेकाहरूमा बढी छ भनेर हेर्दा बाहिर जानेहरूमा बढी छैन । घटनाहरूमा हामी त्यस्तो देख्छौँ । समग्रमा सम्बन्ध विच्छेदको दर बढेको छ । त्यसमा बहु कारण जिम्मेवार हुन सक्छन् ।
- समाधान
दुवैलाई मिलाएर राख्नुपर्छ कि पर्दैन भन्ने बहसको विषय भयो । परिवारको कल्याण सँगै बस्दा हुने स्थिति छ भने सकेसम्म पारिवारिक विघटन नहुनु राम्रो हो । किनभने दम्पतीको मात्रै सम्बन्ध विच्छेद हुने होइन, बाबुआमाको सम्बन्ध विच्छेद हुँदा सन्तान पनि आमा वा बुवाको स्नेहबाट टाढा हुनुपर्ने अवस्था आउँछ । त्यसैले सकेसम्म बुझेर, बुझाएर, सच्चिएर सम्बन्धलाई बलियो बनाउँदा राम्रो हुन्छ ।
एक–अर्कादेखि टाढा बस्नुपर्दा अरुका विभिन्न कुरा सुनेर दूरी बढेको छ भने छलफल गर्न सकिन्छ । सम्बन्ध विच्छेदका कुरालाई बल पुर्याउने कुराहरू जे जति छन्, तिनीहरूलाई कम गरेर पारिवारिक मिलनलाई निरन्तरता दिइरहन सकिन्छ । यसका लागि सरकारले अथवा सरोकारवाला निकायले काम गर्न सक्छन् । तिनीहरूले विभिन्न पक्षहरू केलाएर दम्पतीलाई सम्बन्धमा रहन प्रेरित गर्न सक्छन् । अनावश्यक र अनुचित खालका सम्बन्ध निर्माण नगर्न सचेत गराउन सक्छन् ।
मूलतः सम्बन्ध विच्छेद के कारण हुन लाग्दै छ भन्ने बुझ्नुपर्यो । निराशाका कारण पनि व्यक्ति सम्बन्ध विच्छेदका लागि प्रेरित हुन सक्छ । यस्तोमा सबै पक्ष केलाएर दम्पतीले नै समाधान गर्न सक्ने अवस्था आउन सक्छ ।
(समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. गौतमसँग रातोपाटीकर्मी कृष्णसिंह धामीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्छ : सरोकारवाला
-
बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
-
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
-
टुकुचा कोरिडोर खुलाउन माग
-
‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’
-
तस्बिरमा हेर्नुहोस्, एनपीएलको पहिलो सुपर ओभरको रोमाञ्च