सुनसरीमा अवैध गहुँको बिउ तस्करी
विराटनगर । सुनसरीमा सूचीकृत नभएको अवैध गहुँको बिउको तस्करी हुने गरेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक कार्यदल बनाएर सुनसरी र मोरङमा अनुगमन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि भएको अनुगमनको क्रममा गहुँको बिउ तस्करी हुने गरेको फेला परेको हो ।
अनुगमन कार्यदलमा मन्त्रालयका बाली विज्ञान अधिकृत योगेन्द्र यादव, बिउ बिजन प्रयोगशाला झुम्काका बाली विज्ञान अधिकृत तथा निमित्त कार्यालय प्रमुख गोविन्द प्रसाद आचार्य र कृषि ज्ञान केन्द्र सुनसरीका बाली विज्ञान अधिकृत प्रवीणलाल श्रेष्ठ रहेका थिए ।
कार्यदलका संयोजक यादवका अनुसार अनुगमन गरिएका सुनसरीका २१ वटा बिउ बिजन बिक्री केन्द्रमध्ये ६ वटामा सूचीकृत नभएको बिउ बिक्री गर्ने गरेको पाइएको हो । उनका अनुसार भारतबाट तस्करी भएर आएको श्रीराम, सम्राट, श्री सतनाम सुपर ३०३, पिएएन ५०५० र एचएपिएल ३००९ जातको अवैध बिउ बिक्री गरेको भेटिएको हो ।
अनुगमन कार्यदलले इनरुवा १ मा रहेको दीक्षा कृषि केन्द्रमा श्रीराम जातको १२० किलो र सम्राट जातको ६० किलो अवैध गहुँको बिउ बिक्री गरेको फेला परेको थियो । यस्तै इनरुवा १ कै साह कृषि केन्द्रमा ६० किलो श्रीराम र १ सय किलो सम्राट, इनरुवा १ कै कुशवाहा भेट मेडिकोबाट ८० किलो श्रीराम र १ सय किलो सम्राट, इनरुवाकै किसान बीज भण्डारबाट ३० किलो सम्राट जातको अवैध बिउ बिक्रीका लागि राखिएको पाइएको यादवले बताए ।
यस्तै भोक्राहा नरसिंह ४ बाट मिथिला कृषि सहकारी संस्थाले श्रीराम जातको ४० किलो, श्री सतनाम सुपर ३०३ १ सय किलो र पिएएन ५०५० जातको २० किलो बिक्रीका लागि राखिएको पाइएको हो । यस्तै झोक्राहा नरसिंह ४ को कुशवाहा कृषि केन्द्रले पनि एचएपिएल ३००९ जातको ४० किलो, कोशी गाउँपालिका १ को बंगाली एग्रोभेटबाट श्रीराम जातको २० किलो, हरिनगरा १ भुटाहाको अनुभव जयन्त कृषि फर्मबाट ६० किलो पिएएन ५०५० जातको अवैध बिउ बिक्री गरिरहेको पाइएको हो ।
नियमावलीले बिक्री वितरण र भण्डार तथा प्रदेशमा उत्पादन भएको बिउलाई पञ्जीकरण गर्ने अधिकार दिएको छ । तर, संघको ऐनले प्रदेशलाई त्यो अधिकार दिएको छैन ।
‘सुनसरीको २१ वटा बिउ बिजन बिक्री केन्द्रमा अनुगमन गर्दा ६ वटामा सूचीकृत नभएको तस्करीको बिउ बिक्री हुने गरेको पाइयो,’ यादवले भने, ‘ती बिउ बिजन केन्द्रमा जाँदा किसानको घुइँचो थियो ।’ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले सूचीकृत नगरेको जातको बिउ बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ । ‘ती केन्द्रमा धेरै परिणाममा अवैध बिउ हुन सक्थ्यो । तर माग अनुसार कोही सम्पर्क व्यक्ति रहने गरेको र ती व्यक्तिले नै दुई चार बोराको दरले ल्याइदिने गरेको रहेछ,’ यादवले भने । नेपालमा सूचीकृत गरेको गहुँको बिउ ३ दर्जन बढी रहेको यादवले बताए ।
स्रोतले दिएको जानकारी अनुसार कोशी गाउँपालिकाको कटान क्षेत्रमा इनरुवाका प्रदीप बस्नेतले ५० औँ बोरा गोदाम बनाएर अवैध बिउ राखेको दाबी गरेको छ । भारतबाट आएको बिउ कम गुणस्तरको भए पनि र सस्तो हुने भएकोले नेपालका किसानहरूले खरिद गर्ने गरेको मन्त्रालय बताउँछ । ‘नेपालको बिक्री हुँदैन । खाली भारतीय बिउ बिक्री भइरहेको छ भन्ने कुरा आयो,’ यादवले भने, ‘त्यसपछि गरिएको अनुगमनको क्रममा त्यही देखियो ।’
कार्यदलले मोरङमा भने ८ वटा बिक्री केन्द्रको अनुगमन गरेको थियो । मोरङमा भने अवैध बिउ बिक्री गरेको पाइएन । ‘जुनसुकै जातको बिउ नेपालमा प्रयोग गर्नुपर्दा दुई/तीन वर्षमा मात्रै त्यसको परीक्षण पुरा गरेर सूचीकृत भएपछि मात्रै बिक्रीको अनुमति लिनुपर्ने कानुनी प्रावधान छ,’ यादवले भने ।
यद्यपि प्रदेश सरकारलाई त्यसरी अवैध बिउ बिजन बिक्री गर्नेलाई के कारबाही गर्ने भन्ने अधिकार छैन । ‘प्रदेशलाई बिउ बिजन निरीक्षक नियुक्त गर्ने अधिकार छैन । त्यसले गर्दा बरामद गरेर कारबाहीको प्रक्रिया आफैँ अगाडि बढाउन सक्ने अवस्था छैन,’ यादवले भने, ‘संघीय सरकारको बिउ बिजन ऐन र नियमावलीमा कारबाही गर्ने व्यवस्था छ । तर, हामीले कारबाही गर्न सक्दैनौँ । यद्यपि हामी यो प्रतिवेदन माथि केन्द्रमा पठाउँछ ।’
नियमावलीले बिक्री वितरण र भण्डार तथा प्रदेशमा उत्पादन भएको बिउलाई पञ्जीकरण गर्ने अधिकार दिएको छ । तर, संघको ऐनले प्रदेशलाई त्यो अधिकार दिएको छैन । ‘हामीले पनि छुट्टै ऐन बनाएर अगाडि बढेपछि मात्रै कारबाहीको प्रक्रियामा जान सक्छौँ । हामीले अनुगमन गरे पनि यस्तो भयो भनेर आवश्यक कारबाही गर्नुहुन भनेर लेखि पठाइदिन्छौँ,’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी