बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
चलचित्र

बढ्यो फिल्म निर्माण, फ्लोरमै करिब दर्जन फिल्म

बिहीबार, २७ मङ्सिर २०८१, ११ : ००
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय उकालो लागेसँगै निर्माण पनि बढ्न थालेको छ । अचेल दैनिकजसो फिल्म निर्माण घोषणा, छायाङ्कनका समाचार देख्न र सुन्न पाइन्छ । कलाकारदेखि प्राविधिकसम्म धेरैजसो व्यस्त छन् ।

नियमित फिल्म निर्माण गर्ने त छँदैछन्, पुरानाहरू ‘कमब्याक’ गर्ने र नवप्रवेशी आउने क्रम बढ्दो छ । पुराना निर्देशक तुलसी घिमिरे, ऋषि लामिछाने र रोज राणाले ‘कमब्याक’ गरेका छन् । निर्देशक तुलसी घिमिरे ‘पहाड’ फिल्ममार्फत ‘कमब्याक’ गर्दैछन् भने ऋषि लामिछाने ‘माग्नेराजा’ मार्फत फेरि यो क्षेत्रमा आउँदैछन् । रोज राणाले ‘दादागिरी २’ बनाउने तयारी थालिसकेका छन् ।

विगत ९ महिनादेखि आफूले फिल्ममा ‘कमब्याक’को तयारी गरे पनि अहिले सार्थकता पाएको निर्देशक ऋषि लामिछानेले बताए । उनले अहिले बढेको फिल्मको व्यवसायले फिल्म बनाउन झन् उत्साह थपेको सुनाए ।

अहिले निर्माणमा भित्रिन लागेका छन् फिल्म ‘हरिबहादुरको जुत्ता’मार्फत सरोज वली । थुप्रै म्युजिक भिडियो निर्माण  गरेका ओलीको फिल्म निर्माण पहिलेदेखिको योजना भए पनि अहिले समय जुरेको हो ।

1

हुन त यो वर्ष (२०८१)को सुरुवातबाटै फिल्मको व्यवसाय उँभो लागेको हो । वैशाखमा ‘बोक्सीको घर’ र ‘मन्सरा’ले सुरु गरेको उकालो यात्रा ‘पूर्णबहादुरको सारङ्गी’सम्म आउँदा एकदमै उत्साहजनक छ ।

कात्तिक १५ मा रिलिज फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ५० करोडतिर अगाडि बढिरहँदा त्यसपछि रिलिज भएको ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ व्यवसाय राम्रो भएको बताइन्छ । दसैँमा एकसाथ रिलिज तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा’ र ‘ज्वाइँ साब’मध्ये कुनै पनि फिल्मले घाटा व्यहोर्नु परेन ।

त्यसैले पनि होला, अहिले चलचित्र विकास बोर्डमा दर्ता हुने फिल्मको सङ्ख्या पनि बढ्न थालेको छ । गत कात्तिक महिनामा बोर्डबाट १० वटा फिल्मले निर्माण इजाजतपत्र  लिएका थिए । मंसिर २५ गते (समाचार तयार गर्दा)सम्म निर्माण इजाजतपत्र लिनेको सङ्ख्या २१ पुगेको छ ।

2

फिल्म निर्माण अगाडि चलचित्र बोर्डबाट निर्माण अनुमति (इजाजत पत्र) लिनुपर्ने प्रावधान छ । कात्तिक र मंसिरको निर्माण इजाजत पत्र लिने सङ्ख्या हेर्दा पनि फिल्म निर्माणमा उत्साह थपिएको सजिलै अनुमान लगाउन सकिन्छ ।

चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी ‘पीडित’ पनि पछिल्लो समय चलचित्र निर्माण बढेको बताउँछन् । ‘केही समय यता फिल्मको व्यवसायले निर्माता, निर्देशक र सम्पूर्ण फिल्मकर्मीमा उत्साह देखिएको छ’, बुढाथोकीले भने, ‘अहिले बोर्डमा फिल्म दर्ता गर्नेको सङ्ख्या पनि बढेको छ ।’

बोर्डमा फिल्म दर्ता गर्नेको सङ्ख्या बढ्नु भनेको निर्माण बढेको बुझ्न सकिने बुढाथोकीको भनाइ छ ।

  • फ्लोरमै करिब दर्जन फिल्म

यतिबेला धेरै फिल्म छायाङ्कनका लागि फ्लोरमा छन् । धमाधम फिल्म छायाङ्कन भइरहँदा कलाकार व्यस्त नहुने कुरै भएन । केही कलाकारको त फिल्मको सेड्युल जुध्दा कतिपय फिल्मबाट हात झिक्नु परेको अवस्था छ । केही फिल्मले भर्खर छायाङ्कन सकेका छन् भने करिब आधा दर्जनभन्दा बढीको अहिले पनि छायाङ्कन चलिरहेको छ ।

अहिले फ्लोरमा हास्य शृङ्खला ‘सक्किगोनी’ टिमले निर्माण गरेको ‘लाज शरणम’, दयाहाङ राई र रिस्मा गुरुङको अभिनय रहने खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’,  रिहान गिरी, आशिष घिमिरेको अभिनय रहने सशान कँडेल निर्देशित फिल्म ‘होस्टल ३’, समिर भट्टको अभिनय रहने सन्तोष सेन निर्देशित ‘बलिदान’,  अञ्जना बराइली र प्रवीण खतिवडाको अभिनय रहने अरुण लामा निर्देशित फिल्म ‘डोरी’ छन् ।

3

त्यस्तै खगेन्द्र लामिछाने, सुशील सिटौलाको अभिनय रहने लोकेश बज्राचार्य निर्देशित फिल्म ‘विमान’, अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको अभिनय रहने सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’, सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राईको अभिनय रहने कृषा चौलागाईं निर्देशित फिल्म ‘पीताम्बर’ र प्रकाश सपूत, आँचल शर्माको अभिनय रहने प्रकाश सपूत निर्देशित फिल्म ‘वसन्त’, दिवार भट्टराई निर्देशित ‘नरसिंहा’ लगायत समेत छायाङ्कनमा छन् ।

केही फिल्मले भर्खर छायाङ्कन सकाएका छन् । ‘फेरि रेशम फिलिली’, ‘जुनकिरी’ र ‘दुःखी आत्मा’को छायाङ्कन सकिएको हो । ‘फेरि रेशम फिलिली’ रोज महर्जनले निर्देशन गरेका हुन् भने ‘जुनकिरी’मा दीप गुरुङको निर्देशन छ । ‘दुःखी आत्मा’ दीपेन्द्र लामाको निर्देशनमा बनिरहेको छ ।

DSC08887

  • निर्माण घोषणा धेरै

फिल्मको व्यवसाय बढेसँगै फिल्म निर्माण घोषणा गर्ने पनि बढेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’, अर्जुन सुवेदीको निर्देशनमा ‘सोल्टिनी’, लक्ष्मण सुनार निर्देशनमा ‘परालको आगो’, सौरभ चौधरीको निर्देशनमा ‘कर्मा’, दिनेश राउतको निर्देशनमा ‘महाभोज’, ‘कल्ली’, मिलन तामाङ निर्देशित ‘माइतीघर’लगायत फिल्म निर्माण घोषणा भइसकेका छन् ।

अझै दर्जन जति फिल्म घोषणा हुने तयारीमा छन् । ती फिल्म चलचित्र विकास बोर्डमा नाम दर्ता गर्दै निर्माणको तयारीमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप