बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?

बिहीबार, २७ मङ्सिर २०८१, ०८ : १९
बिहीबार, २७ मङ्सिर २०८१

काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको । कात्तिक मसान्तसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति गत असार मसान्तको तुलनामा १ अर्ब २० करोड रुपैयाँले बढेको हो । 

गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंकसँग ३० अर्ब १७ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति घटेर ३१ अर्ब ३८ करोड रुपैयाँमा झरेको हो । 

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक मसान्तमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ बराबर रहँदा एनआईसी एशिया बैंकको ४ अर्ब २८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । 

त्यस्तै, हिमालयन बैंकको २ अर्ब ७६ करोड, कुमारी बैंकको २ अर्ब ६१ करोड, नबिल बैंकको २ अर्ब ५९ करोड गैरबैंकिङ सम्पत्ति देखिएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको १ अर्ब ७५ करोड, लक्ष्मी बैंकको १ अर्ब ६१ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १२ करोड तथा प्रभु बैंकको १ अर्ब ५ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, कृषि विकास बैंकको ९५ करोड, एनएमबि बैंकको ९२ करोड, सिटिजन बैंकको ८१ करोड, प्रभु बैंकको ७९ करोड, सिद्धार्थ बैंकको ७० करोड, सानिमा बैंकको ६७ करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।  

त्यस्तै, एभरेस्ट बैंकको ५१ करोड, नेपाल एसबीआई बैंकको ३५ करोड, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड, नेपाल बैंकको २० करोड गैरबैंकिङ सम्पत्ति रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनै पनि यस्तो सम्पत्ति नरहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस्तो छ चार महिनाको घटबढ

पछिल्लो चार महिनामा गैरबैंकिङ सम्पत्ति वृद्धिको चाप कुमारी बैंकमा सबैभन्दा धेरै देखिएको छ । यो अवधिमा सो बैंकको गैरबैंकिङ सम्पत्ति ६९ करोड रुपैयाँले बढेको देखिएको हो । त्यस्तै, हिमालयन बैंकको ३४ करोड र प्रभु बैंकको २६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । यी तीनवटा बैंकमा पछिल्लो समय गैरबैंकिङ सम्पत्तिको प्रेसर बढेको देखिन्छ । 

यसबाहेक अन्य छवटा बैंकको यस्तो सम्पत्ति समेत घटेको छ । राष्ट्र बैंकमा अनुसार ग्लोबल आईएमई बैंक र एनएमबि बैंकको समान साढे ७ करोड, लक्षी बैंकको ४ करोड ८५ लाख, नेपाल एसबीआई बैंकको २ करोड २७ लाख, नबिल बैंकको २ करोड १६ लाख तथा कृषि विकास बैंकको ७३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति बढेको देखिएको छ । 

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंकको गैरबैंकिङ सम्पत्ति स्थिर रहँदा बाँकी बैंकले भने यस्तो सम्पत्ति घटाएका छन् । 

यो अवधिमा प्राइम कमर्शियल बैंकको १५ करोड ३८ लाख बराबरको गैरबैंकिङ सम्पत्ति घटेको छ । एनआईशी एसियाको ८ करोड ११ लाख, राष्ट्रिय वाणिज्य बैंकको ७ करोड ९४ लाख, माछापुच्छ्रे बैंकको ७ करोड ८० लाख, सिद्धार्थ बैंकको २ करोड ३६ लाख, नेपाल बैंकको १ करोड ६२ लाख तथा एभरेस्ट बैंकको ६० लाख तथा सिटिजन्स बैंकको ४३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति घटेको देखिन्छ । 

के हो गैरबैंकिङ सम्पत्ति ?

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण नउठेपछि धितो लिलामी गर्छन् । त्यसरी लिलामी गर्दा तोकिएको न्यूनतम मूल्यमा त्यस्तो सम्पत्ति तत्कालै बिक्री नभएमा यसलाई बैंक आफैँले सकारेर राख्ने गर्छन् । यसरी सकारेको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्तिको रूपमा राख्ने गरिन्छ । 

यस्तो सम्पत्ति बैंकहरुले विभिन्न समयमा बोलपत्र आह्वानद्वारा बिक्री गरेर घटाउन सक्छन् । यसरी बिक्री भएको रकम यसअघि गरिएको प्रोभिजनिङबाट राइटअफ गरिन्छ, जुन प्रत्यक्ष आम्दानीमा जोडिन्छ । तर, गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा भने बैंकहरुलाई प्रोभिजनिङका साथै सम्पत्ति व्यवस्थापनको समेत जोखिम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप