१२ बजे, १२ समाचार : रविमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार हुँदैदेखि दुर्गा प्रसाईंलाई ५ वर्षबढी कैदको मागसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. सहकारी प्रकरण
जिल्ला प्रहरी कार्यालय कास्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ । एक दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’
२. दुर्गा प्रसाईं
कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
३. विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकमा विज्ञ तथा शिक्षा क्षेत्रका सरोकारवालाले थरीथरीका सुझाव दिएका छन् । बुधबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनीहरूले आ-आफ्नो सुझाव दिएका हुन् ।
४. अर्थ समिति
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था, भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समितिमा प्राप्त विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । ११ बजेदेखि सुरु हुने सो छलफलमा समयमा उपस्थित हुने सांसदहरूको सङ्ख्या न्यून थियो । कोरम नपुग्ला कि भन्नेमा शङ्का थियो । नभन्दै कूल २३ जना सांसदमध्ये ११ जनाको मात्र उपस्थिति रह्यो । कोरम पुर्याउन १४ सदस्य हुनुपर्ने व्यवस्था छ ।
५. बजार माग
अधिकांश आन्तरिक सूचक सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा आत्मविश्वास छैन ।
६. मोतिपुर औद्योगिक क्षेत्र
सरकारले हचुवाका भरमा आयोजना छनोट र शिलान्यास गर्दाको परिणाम र प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण भनेको छ रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र । २०७७ सालमै शिलान्यास भएको मौतिपुर औद्योगिक क्षेत्र अहिलेसम्म झाडीमै सीमित बनेको छ ।
७. स्थायी कमिटी बैठक
नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने प्रस्तावप्रति उपमहासचिव राजेन्द्र राईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।
८. राजनीतिक प्रतिवेदन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्थालगायत विषयमा जानकारी गराएको पार्टीका सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
९. न्यायालय
उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता असुल गर्ने नाममा असम्बन्धित कम्पनीहरूको विद्युत् नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
१०. दिलीप महतो प्रकरण
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक मारिएका धनुषाका दिलीप महतो प्रकरणमा जिल्ला र उच्चको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ । सरकारका तर्फबाट दुवै अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै केही दिनअघि सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्य दाहालले बताए ।
११. जापान
जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ । सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
१२. नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणमै रोकिने पहिलो टोली लुम्बिनी लायन्स बनेको छ । जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी लायन्स पाँच खेलमा पराजित भएको छ भने एउटामा मात्र विजयी भएको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले बुधबार स्तब्ध तुल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिड विजयी, सम्भावना जिवितै
-
साढे पाँच वर्षदेखि पुलको काम अलपत्र
-
१२ बजे, १२ समाचार : रविमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार हुँदैदेखि दुर्गा प्रसाईंलाई ५ वर्षबढी कैदको मागसम्म
-
माधव नेपालद्वारा स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन प्रस्तुत
-
पत्रकार महासङ्घको अमेरिका शाखा गठन,संयोजकमा शेर्पा
-
नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु