आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

पुँजी बजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ

बुधबार, २६ मङ्सिर २०८१, २१ : ३७
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजी बजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आज आयोजित स्वागत कार्यक्रममा उहाँले पुँजी बजारका लगानीकर्ताको मनोबल उच्च बनाई राख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गरे ।

“अहिले पुँजी बजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ”, उनले भने । उनले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभाबी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरिरहेको जानकारी दिए । 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चारवटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताए । “पुँजी बजारको विकासका लागि यी सबै संस्थाबिच सहकार्य र समन्वय आवश्यक छ”, उनले भने, “धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उहाँको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ ।”  पुँजीबजार क्षेत्रका यी तीनवटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा ऐतिहासिक काम गर्ने जिम्मेवारी आएको उनको भनाइ थियो । 

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गरे । धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

पुँजी बजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर सङ्घ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताए । शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरुरी रहेको उनले उल्लेख गरे ।

“पुँजी बजारका लगानीकर्ताको मनोबल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ”, उनले भने, “यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ ।” 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबिच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे ।

उनले विभिन्न सङ्घ संस्थाका नवनियुक्त तथा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै पुँजी बजारलाई चलायमान बनाउन र देखिएका समस्या समाधान गर्नका लागि शुभकामना दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप