मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
संसदीय समिति

गैरजिम्मेवार सांसद : कोरम नपुग्दा आजित भए अर्थ समिति सभापति

अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रको वर्तमान अवस्थासँग म पनि सन्तुष्ट छैन’
बुधबार, २६ मङ्सिर २०८१, २१ : ००
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था, भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समितिमा प्राप्त विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । 

११ बजेदेखि सुरु हुने सो छलफलमा समयमा उपस्थित हुने सांसदहरूको सङ्ख्या न्यून थियो । कोरम नपुग्ला कि भन्नेमा शङ्का थियो । नभन्दै कूल २३ जना सांसदमध्ये ११ जनाको मात्र उपस्थिति रह्यो । कोरम पुर्‍याउन १४ सदस्य हुनुपर्ने व्यवस्था छ । 

तर समितिका सभापति सन्तोष चालिसेले कोरम नपुगे पनि छलफल अघि बढाए । छलफलका क्रममा उनले समितिमा प्राप्त ६ वटा विधेयकमध्ये एउटा विधेयक बैंकिङ कसुर सजाय दोस्रो संशोधन २०८० पारित भइसकेका र ५ वटा विधेयक यथावत् रहेको जानकारी गराए । बाँकी विधेयकमाथि छलफल गर्न कोरम नपुगेकाले छलफल नहुने सभापति चालिसेको भनाइ थियो ।

‘सभामुखले सबै समितिका सभापतिलाई बोलाएर किन छलफल नगरेको भनेर सोध्दा सबैको गुनासो कोरम नपुग्ने नै आएको थियो । कोरम नपुगे पनि यो पटक बैठक राखेका छौँ,’ उनले भने ‘५/५ वटा विधेयक भएको समितिमा बारम्बार कोरम पुग्न नसकेको समस्या देखियो भनेर प्रचार गरिदिनुपर्ने भो ।’ 

यसपछि सभापति चालिसेले छलफल अघि बढाए । छलफलका क्रममा अर्थ सचिव रामप्रसाद घिमिरेले देशको समग्र अर्थतन्त्रको अवस्था प्रस्तुत गरे । उनले देशका समग्र अर्थतन्त्र सुधार हुँदै गएको जानकारी दिए । यसै गरी उनले अर्थतन्त्रका सूचक सुधार भए पनि बैंकिङ कर्जा विस्तार हुन नसकेको जानकारी दिए । 

यसपछि राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व सङ्कलनबारे तथ्याङ्क प्रस्तुत गरे । उनले चालु वर्ष १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ३ खर्ब ८४ अर्ब बराबर मात्रै राजस्व सङ्कलन भएको बताए । यसै गरी उनले लक्ष्यको तुलनामा ३० प्रतिशत माथि जानुपर्ने बताए ।

artha sachib

‘भन्सार छुट हुने गरी सम्झौता गर्दा राजस्व सङ्कलनमा समस्या देखिएको छ । राजस्व छुट दिने तर खर्चमा नदेखिने समस्या बढेको छ,’ सचिव घिमिरेले भने, ‘दूरसञ्चारबाट आउने राजस्व कम हुँदै गएको छ । यसै गरी राज्यले खर्च गरेको ठुला आयोजनाबाट प्रतिफल आउन सकेको छैन । पछिल्लो समय आएको बाढी पहिरोलेसमेत असर पुगेको छ ।’

अर्थतन्त्रमा राजस्वको हिस्सा आउनु पर्ने त्यति आउन नसकेपछि मन्त्रालयले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिमार्फत छलफल गरेको बताए । अर्थतन्त्रमा आएको सङ्कुचनका कारण राजस्व परिचालन हुन नसकेको समेत सचिव घिमिरेको भनाइ थियो ।

राजस्व सङ्कलन नभएकोप्रति सांसदको प्रश्न 

सांसद पदम गिरीले लक्ष्यअनुसार राजस्व किन सङ्कलन नभएको भन्दै प्रश्न गरे । ‘मुलुकको अर्थतन्त्र सकारात्मक रहे पनि कर्जा प्रवाह गर्न नसक्दा व्यापार व्यवसाय पनि बढ्न सक्दैन । आर्थिक वर्ष २०८०/८१ को भन्दा ८ प्रतिशतले राजस्व बढेको छ । तर यो पनि लक्ष्यभन्दा कम छ,’ सांसद गिरीले प्रश्न गरे, ‘किन लक्षअनुसार राजस्व सङ्कलन गर्न सक्दैनौँ । कहाँनेर समस्या आयो ?’ 

भन्सार विन्दुमा एक्स-रे मेसिन, ल्याब टेस्ट गर्ने मेशिनले काम नगरेको भेटिएको र यसबारे सरकारलाई थाहा हुँदाहुँदै पनि किन समस्या समाधान गर्न नसकेको भन्दै उनले प्रश्न तेर्स्याए । ‘भन्सार मूल्य कारोबार मूल्यमा आधारित छैनन् भन्ने आइराछ । कुन–कुन क्षेत्रमा राजस्व छुट गरिएको छ यस विषयमा पनि सरकारको जवाफ चाहियो,’ उनले भने, ‘खुला नाकाको समस्या समाधान गरिनुपर्छ । खुला सीमाका कारण चोरी पैठारी बढेको छ । नाका व्यवस्थित बनाउनुपर्छ । साधारण उपकरण जडान गर्न नसकेको समस्या छ। यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् ।’ 

छलफलमा राजस्व सङ्कलन हुन नसकेको विषयमा उठेको प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको वर्तमान अर्थतन्त्रसँग आफू पनि सन्तुष्ट नभएको बताए । ‘देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको छ । अर्थतन्त्र क्रमशः समाधानका निम्ति पहल गरिरहेका छौँ  । समग्र आर्थिक स्थितिमध्ये केही सूचक राम्रो छ,’ मन्त्री पौडेलले भने, ‘सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाईँहरू यसमा सन्तुष्ट हुनुहुन्न, म स्वयं पनि सन्तुष्ट छैन ।’

bishnu poudel

उनले आफ्ना सबै प्रयास सफल हुन नसकेको उल्लेख गरे ।  ३ प्रतिशतको वृद्धिबाट  १७ प्रतिशतसम्म आइपुगेकाले सुधार हुँदै गएको उनको भनाइ थियो । 

‘यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौँ’,अर्थमन्त्री पौडेलले भने, ‘राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ,’ अर्थमन्त्री पौडेलले भने, ‘हामी तरलता बढ्यो र ब्याजदर घट्यो भनेर सन्तोष मानेर बस्ने अवस्था छैन । यो तरलता उत्पादनमूलक काममा लाग्नु आवश्यक छ ।’

भन्सार र सिंहदरबारमा थन्किएका सवारीमाथि प्रश्न 

chalise

अर्थ समितिका सभापति  सन्तोष चालिसेले बुधबार समितिमा भएको छलफलमा भन्सार कार्यालयमा वर्षौँदेखि ठुलो सङ्ख्यामा सवारीसाधन थन्किएर बसेको र ती सवारीभित्र रहेका मालवस्तु खेर गएको विषयप्रति प्रश्न गरे ।

‘यो कन्टेनर वर्षौँदेखि छन् । त्यसभित्रका समान के भएका छन् ? प्रहरी कार्यालयमा पनि उत्तिकै छन् यति ठुलो राजस्व आउने ठाउँमा थप प्रयास केही भइरहेका छन् ?,’ चालिसेले प्रश्न गरे, ‘वर्षौँदेखि किन अलपत्र छन् । यो विषयमा गर्नुपर्ने के हो किन लामो समयदेखि किन केही प्रयास भएन ?’

यसपछि सांसद बिराजभक्त श्रेष्ठले सिंहदरबारभित्र थन्किएर कवाडी भएका सवारीमाथि प्रश्न गरे । ‘सभापतिज्यूले सिमानाकामा थन्किएका सवारीको विषयमा बोल्नुभयो तर सिंहदरबारमा करोडौँ पर्ने सवारी साधन थन्किएका छन् । तर वर्षैपिच्छे नयाँ सवारी खरिद गर्ने प्रवृत्ति रहेको छ । यो विषयलाई  पनि उठाउनु पर्छ कि पर्दैन? जनताले तिरेको करले नयाँ सवारी खरिद गर्ने प्रवृत्ति हटाउनु पर्‍यो ।,’ श्रेष्ठले भने । 

biraj bhakta

जवाफमा राजस्व सचिव दिनेशकुमार घिमिरेले कतिपय सवारीसाधन मुद्दामा गएर निरूपण हुनुपर्ने भएकोले थन्किएर बसेको र कतिपय जाँचपासका लागि रहेको बताए । बैठकमा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले ठुलो सङ्ख्यामा गाडी थन्किएर बसेकामा गत वर्ष सुक्खा बन्दरगाहको हकमा धेरै कम गरिएको जानकारी दिए । 

उनले १० र १५ वर्ष अगाडि कन्टेनरमा आएका साधन बिग्रिएका र त्यसलाई नष्ट गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको बताए । ‘नेपालगन्जमा धेरै टिपर छन्, जुन अधिकांश मुद्दामा गएका छन्,’ अर्थ सचिव घिमिरेले भने, ‘प्रहरीमा रहेका सवारीसाधन भने आपराधिक मुद्दा मामिलाका भएकाले यसलाई अलग्गै ढङ्गले टुङ्ग्याउनुपर्छ ।’

तर सिंहदरबारभित्र थन्किएर कवाडी भएका सवारीमाथि प्रश्नको जवाफ कसैले दिइएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप