बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने व्यक्ति नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आएन : वर्षमान पुन

बुधबार, २६ मङ्सिर २०८१, १८ : २५
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरू नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । 

पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, बीमा क्षेत्रमा आफू अनुकुलमा व्यक्तिहरू हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाए । उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिए । उनले  लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलायमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताए । उनले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गरे । 

पूर्वअर्थमन्त्री पुनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे । उनले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताए । 

उनले भने,‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलायमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन । म आफैं अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आएको थियो । फेक देखिएपछि  राजीनामा दिनुस् भन्दा मान्नुभएन । आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नुभयो । अहिले अख्तियारले मुद्दा  दायर गरेको छ । हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ । विगतका वर्षका दायित्व नै धेरै हुन्छ । यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ ।’

पूर्वअर्थमन्त्री पुनले सरकार र नियमनकारी निकायहरूबिच ट्युनिङ मिल्ने/नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताए । उनले निजी क्षेत्रको अहिले पनि मनोबल माथि उठ्न नसकेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप