बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

अपराजित रहँदै आएको जनकपुरलाई सुदूरपश्चिमले बनायो स्तब्ध

बुधबार, २६ मङ्सिर २०८१, ११ : ४२
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले बुधबार स्तब्ध तुल्याएको छ ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो । दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।  

जनकपुरका लागि जोसुवा ट्रम्पबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ट्रम्पले १३ रनको योगदान दिए । जनकपुरलाई सस्तोमा समेट्न हरमित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले २–२ विकेट लिए । त्यस्तै, सैफ अलि जेब, नरेन साउद र स्कट कुगेलियनले १–१ विकेट हात पारे ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले ३३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ३७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।

विनोद र सेफ अली जेबले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे । सेफ अली जेबले पनि टोलीको खातामा २१ रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका हरमित सिंह एक रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले खातासम्म खोल्न सकेनन् ।

दीपेन्द्रलाई जनकपुर बोल्ट्सका बलर अरनिको यादबले जोसुआ ट्रम्पद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान ब्रान्डन म्याकमलेन पनि १७ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए ।  

छैटौँ नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डेले टोलीको खातामा १७ रन थपे । उनले १४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । आरिफ शेखले ६ रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी, स्कट कुगेलियन तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । नरेन साउदले तीन रन बनाए । नरेश बुढाऐर नौ र अविनाष बोहरा दुई रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि १३ रन पायो ।

जनकपुर बोल्ट्सका बलर किशोर महतोले चार विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल र अरनिको यादबले पनि दुई–दुई विकेट हात पारे । हर्ष थाकेरले एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आफ्नो पाँचौँ खेल खेलिरहेका हुन् । जनकपुर बोल्ट्सले यसअघि खेलिएको चारवटै खेलमा जित हात पारेको छ ।

जनकपुर बोल्ट्स आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । सुदूरपश्चिम रोयल्सले भने यसअघि आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको छ भने एक खेलमा हार भोगेको छ ।

सुदूरपश्चिम रोयल्स ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पाँच खेलबाट ६ अंक जोडेको चितवन राइनोज तेस्रो र समान खेलबाट समान अंक जोडेको कर्णाली याक्स चौथो स्थानमा आसिन छन् ।

पाँच खेलबाट दुई अंक बटुलेको लुम्बिनी लायन्स पाँचौँ, तीन खेलबाट दुई अंक जोडेको काठमाडौँ गुर्खाज छैटौँ, चार खेलबाट दुई अंक हात पारेको पोखरा एभेन्जर्स सातौँ र चार खेलबाट दुई अंक हात पारेको विराटनगर किङ्स आठौँ स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप