मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
सडक सञ्जाल

उपत्यकामा ४८ हजार वर्गमिटर सडक खाल्टाखुल्टीरहित, कति भयो खर्च ?

बुधबार, २६ मङ्सिर २०८१, ०९ : ५३
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय सडक विभागले काठमाडौँ उपत्यकाभित्रका  सडक धुलो न्यूनीकरण गर्ने तथा खाल्टाखुल्टी पुर्ने कार्य गरिरहेको छ । विभाग अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीन सडक डिभिजनले धमाधम सडकका खाल्टाखुल्टी पुर्ने कार्य गरिरहेका हुन् ।

चालु आर्थिक वर्ष (२०८१/०८२) मा काठमाडौँ उपत्यकाभित्र कुल ७४ हजार ९० वर्गमिटर (स्क्वायर मिटर) सडकमा खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएको थियो । सोमबारसम्म ४८ हजार ५९ स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुर्ने कार्य भएको विभागका इन्जिनियर शुभराज न्यौपानेले रातोपाटीलाई जानकारी दिए । उनले काठमाडौँ महानगरले भत्काएको बाहेक उपत्यकाका सडक खाल्टाखुल्टी र धुलोरहित भएको बताए ।

‘भदौको तेस्रो सातादेखि खाल्टाखुल्टी लक्ष्यभन्दा बढी पुुरिएकोे छ । मंसिर मसान्तसम्मसम्म ४५ हजार ९०० स्क्वायर मिटरमा खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएको थियो,’ न्यौपानेले भने, ‘खानेपानी, विद्युत प्राधिकरण र काठमाडौँ महानगरले भत्काएको बाहेक उपत्यकाका सडक खाल्टाखुल्टी र धुलोरहित भइसकेका छन् ।’

न्यौपानेका अनुसार विभागले चालु वर्षमा उपत्यकाभित्रका सडकको खाल्टाखुल्टी पुर्न ११ करोड ९१ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्येबाट हालसम्म ५ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा ठेक्का खोलेर र सिधै विभागबाट पनि खाल्टाखुल्टी पुर्ने काम भइरहेको न्यौपानेले बताए । सडक मर्मतका लागि उपत्यकाभित्र ५६ वटा ठेक्का लागेको उनको भनाइ छ ।

काठमाडौँमा खाल्टाखुल्टी पुर्न साढे ३ करोड खर्च

चालु वर्षमा काठमाडौ सडक डिभिजनअन्तर्गत ३९ हजार १८० स्क्वायर मिटरमा खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएको थियो । जसका लागि ७ करोड ५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये हालसम्म ३ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ । ३० हजार २९० स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुर्ने कार्य भएको छ ।

भक्तपुरका सडक खाल्टाखुल्टी पुर्न डेढ करोड खर्च

भक्तपुरमा १६ हजार ३०० स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुर्ने लक्ष्य लिइएको थियो । जसमध्ये ७ हजार ९०० स्क्वायर मिटरमा खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएकोमा सोमबारसम्म ८ हजार ९४० स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुरिएको छ ।

भक्तपुर सडक डिभिजनका लागि चालु आर्थिक वर्षमा ३ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमध्ये सोमबारसम्म १ करोड ५० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

ललितपुरमा ६८ लाख बजेट खर्च

ललितपुर सडक डिभिजन कार्यालयले १८ हजार ६१० स्क्वायर मिटरमा खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएको थियो । जसअनुसार मंसिर मसान्तसम्म ८ हजार स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुर्ने लक्ष्य लिएकोमा ८ हजार ८२९ स्क्वायर मिटर सडकका खाल्टाखुल्टी पुर्न सफल भएको  छ ।

चालु आर्थिक वर्षमा खाल्टाखुल्टी पुर्न सडक डिभिजन कार्यालय ललितपुरलाई कुल १ करोड ७७ लाख ८० हजार बजेट विनियोजन भएको थियो । हालसम्म कुल ६८ लाख बजेट खर्च भएको छ ।

इन्जिनियर न्यौपानेले उपत्यकाका सडकहरु सडक विभागमात्र नभएर अन्य निकायले पनि हेर्ने भएकाले उपत्यकालाई पूर्ण रूपमा खाल्टाखुल्टीरहित बनाउन नसकिरहेको बताए ।

‘उपत्यकाभित्रका सडकहरू विभागले मात्रै हेर्दैन । काठमाडौँ महानगर चक्रपथ सुधार आयोजना, प्रदेश सरकार र अन्य नगरपालिकाले आ–आफ्नो क्षेत्राधिकारमा पर्ने सडक मर्मत गर्छन्,’ न्यौपानेले भने ।

न्यौपानेकाअनुसार सडक विभागअन्तर्गतको नागपोखरी सडक काठमाडौँ महानगरले गत फागुनमा ढल हाल्ने स्वीकृति लिएर करिब ५०० मिटरमा भत्काएको थियो । उक्त सडकमा महानगरले ढल हालिसकेको छ तर यथास्थितिमा ल्याइदिएको छैन । तर पनि पटक–पटक ताकेता गर्दा पनि यथास्थितिमा ल्याइदिएको छैन ।

यसैगरी काठमाडौँ उपत्यकाका अन्य सडक पनि खानेपानीको पाइप बिछ्याउने, विद्युत प्राधिकरणले तार भूमिगत गर्ने लगायतका कार्य गर्दा सडकका खाल्टा र धुलो न्यूनीकरण गर्न नसकेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप