मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
मोतिपुर औद्योगिक क्षेत्र

मोतिपुर औद्योगिक क्षेत्र निर्माण हुँदा बुटवलको पनि विकास हुन्छ : खेलराज पाण्डेय

बुधबार, २६ मङ्सिर २०८१, ०७ : ४३
बुधबार, २६ मङ्सिर २०८१

बुटवल । बुटवलमा उद्योगीहरू वर्षौंदेखि नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न माग गरिरहेका छन् । बुटवल औद्योगिक क्षेत्र जम्मा ३० बिघा क्षेत्रफलमा सीमित छ । त्यसैले यहाँ नयाँ उद्योग स्थापना गर्नेहरूका लागि जग्गा अभाव छ ।

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा एक दशक अघि मोतिपुर क्षेत्रमा २३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना प्रक्रिया अगाडि बढेको थियो । पछि सरकारले सोही ठाउँलाई प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरे पनि वर्षौंदेखि बसोबास गर्दै आएको घर–जग्गा परेपछि स्थानीयले विरोध गरेका थिए । वर्षौंसम्म औद्योगिक क्षेत्र स्थापना कार्य रोकिएको थियो ।

अहिले ८१३ बिघाबाट घटाएर स्थानीयवासीको जग्गा नपर्ने गरी औद्योगिक क्षेत्र निर्माण गर्न बुटवल उपमहानगरको पहलमा नापजाँच सुरु भएको छ । सोही विषयमा केन्द्रित रहेर रातोपाटीका लागि तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उपमहानगर प्रमुख पाण्डेयसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • लामो समयदेखि विवादका कारणले रोकिएको मोतिपुर औद्योगिक क्षेत्रमा बुटवल उपमहानगरपालिको पहलमा अहिले नापजाँचको काम सुरु भएको छ, यो वातावरण कसरी तयार पार्नुभयो ?

मोतिपुर औद्योगिक क्षेत्रको बारेमा धेरै पटक सरोकारवालासँग छलफल गर्‍यौँ । जिल्ला समन्वय समिति, उक्त क्षेत्रमा पर्ने वडा कार्यालय, उद्योग वाणिज्य संघमार्फत कुनै र कुनै रूपमा मोतिपुर औद्योगिक क्षेत्रको विषयलाई अगाडि बढाउन छलफल जारी थियो ।

मैले पनि विभिन्न नेतासँग समेत यो विषयमा कुराकानी गरेको थिएँ । त्यस क्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड प्रमुख पनि सकारात्मक बन्नुभयो ।

कोहलपुरको नौबस्तामा औद्योगिक क्षेत्रको समस्या समाधान भएपछि बुटवलको मोतिपुरको औद्योगिक क्षेत्र पनि अगाडि बढाउन सकिन्छ भन्ने आसका साथ काम अगाडि बढेको हो ।

मोतिपुर औद्योगिक क्षेत्रलाई सफल बनाउनु पर्छ भन्ने उद्योग मन्त्रालयको भावना अनुसार औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त पनि सकारात्मक रूपमा प्रस्तुत भएको पाएका छौँ । स्थानीयवासीका समस्या, मागलाई सम्बोधन गरेर अगाडि जान सकिन्छ भन्ने आशय  आएपछि हामीले समन्वय गरेका हौँ ।

उहाँले स्थानीयद्वारा उठाएका विषयलाई कसरी टुङ्ग्याउने भन्नेमा पहल गर्नुभएको छ । हामीले यहाँ स्थानीयलाई मर्का नपर्ने गरी औद्योगिक क्षेत्र निर्माण गरेर जान उपयुक्त हुन्छ भन्ने आशयले लामो गृह कार्यपछि नापजाँचको काम अगाडि बढाएको हो । औद्योगिक क्षेत्र कर्मचारी, नापी कार्यालय, सम्बन्धित वडा अध्यक्ष या वडा अध्यक्षले तोकिदिएको प्रतिनिधिको रोहवरमा नापजाँच कार्य चलिरहेको छ । बुटवल वडा नम्बर १७ र वडा नम्बर १८ का स्थानीयवासी पनि सकारात्मक भएको हामीले पाएका छौँ । स्थानीयवासीले अहिले विवाद नभएको ठाउँमा काम गर्न दिने भनेपछि प्रक्रिया अगाडि बढेको हो । अहिले  समस्या नभएको ठाउँमा काम गरौँ, समस्या भएका ठाउँमा पछि गरौँला भन्ने सहमतिपछि अहिले प्रक्रिया अगाडि बढाएको हो ।

नापजाँच गर्दा तिनाउ करिडोर, वन, खोला, रानीगन्जको क्षेत्रफलमा निचोड भएपछि बल्ल अर्को प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निर्णय हुन्छ । त्यसकारण हामीले स्थानीयवासीको भावना अनुसार काम गर्न बाटो खोलिदिएका हौँ ।

  • यसअघि ८१३ बिघा क्षेत्रफल निर्धारण गर्दा ३ हजारभन्दा धेरै परिवारको घर घडेरी पर्ने अनुमान गरिएको थियो । उनीहरूलाई व्यवस्थापन गर्ने विषयमा केही छलफल भयो ?

मोतिपुर औद्योगिक क्षेत्रको भनिएको ८१३ बिघामध्ये रानीगन्जमा सबैभन्दा ठुलो बस्ती हो । हामीलाई त्यहाँको टोल समितिले दिएको विवरण अनुसार त्यो बेला २७ सय घर थिए । अहिले झन् वृद्धि भएका छन् । उक्त घर क्षेत्र भएको ठाउँमा अहिले नापजाँच हुँदैन । अन्य ठाउँमा पनि केही सानो–सानो बस्ती छ । बस्ती भएको ठाउँमा नापचाँज नगर्ने सहमतिको आधारमा औद्योगिक क्षेत्र व्यवस्थापन अगाडि बढेको हो । किनकि त्यहाँ धेरै घर छन् । ती घर मासेर उद्योग स्थापना गर्न कठिन भएको बुझाइ छ ।

त्यहाँ विगतमा पनि ठुलो विवाद भएको थियो । अहिले विवाद नभएको ठाउँमा मात्र भए पनि औद्योगिक क्षेत्र निर्माण गरेर अगाडि जान सकिन्छ भनेर काम सुरु भएको हो । क्षेत्रफल कम भए पनि निर्माण गरेर जान सकिन्छ भन्ने आशयका साथ नापजाँच सुरु गर्ने सहमति भएको हो ।

अहिले राजीगन्जको बस्ती भएको क्षेत्रमा नापजाँच हुँदैन । अन्यत्र विवाद नआउने गरी काम गर्ने समझदारी अनुसार अहिले प्रक्रिया अगाडि बढाएको हो । त्यस कारण घरजग्गा नपर्ने ठाउँमा मात्रै काम अगाडि बढ्ने छ ।

  • स्थानीयहरूले विद्यालय, खेल मैदान, मसानघाट आदि मासेर मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्न मिल्दैन भनेका थिए, उनीहरूको यो माग सम्बोधन हुन्छ ?

म बुटवल नगर प्रमुखको हैसियतमा बोल्दा स्थानीयले उठाएका ती माग जायज छन् । स्थानीयहरू पहिले बसेका हुन् । औद्योगिक क्षेत्रको नापजाँच त पछिमात्र भएको हो । वर्षौंदेखि बसेका नागरिकहरूलाई विस्थापित गरेर औद्योगिक क्षेत्र निर्माण गर्न मिल्दैन । हिजो औद्योगिक क्षेत्रका नापचाँज गर्दा जुन विषयले बिग्रियो, त्यसलाई सच्याएर लैजानुपर्छ । हिजो फिल्ड नआइकन मोतिपुर औद्योगिक क्षेत्र भित्र ८१३ बिघा जग्गा रहेको उल्लेख गरिएको थियो । त्यसभित्र रानीगन्ज बस्ती, केही विद्यालय, खेल मैदान आदिसमेत छन् । मुख्यतः त्यसकारणले स्थानीयहरूले असन्तुष्टि जनाएको पनि ठहर गर्न सकिन्छ ।

अहिले नापजाँच गर्दा स्थानीयका समस्या, स्थानीयवासीको चित्त बुझ्ने गरी काम अगाडि बढाउने सहमति भएको छ । विगतमा स्थानीयवासीले उठाएका विषयहरू औद्योगिक क्षेत्रले सम्बोधन गर्नेछ ।

  • प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न सुरुमा ८१३ बिघा क्षेत्रफल उल्लेख थियो । अब कति क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण होला ?

अहिले सरसर्ती हेर्दा २५८ बिघा क्षेत्रफलमा विवाद छैन भन्ने देखिएको छ । विगतमा क्षेत्रफल निकाल्दा स्थानीयवासीको घर, खोला, विद्यालयसमेत परेकाले धेरै विवाद भएको हो ।

अहिले हामीले जहाँ विवाद छैन, त्यहाँ सुरु गरौँ भनेर काम थालेका हौँ । विवाद भएको ठाउँलाई यथावत् राखेर अगाडि जाउँ भन्ने आशयका साथ काम थालिएको छ । त्यसैले सरकार पनि कुनै विवाद नदेखिएको २३८ बिघामा औद्योगिक क्षेत्र निर्माणका लागि अघि बढ्छ भन्ने हामीलाई लागेको छ । किनकि बुटवल औद्योगिक क्षेत्र पनि ३० बिघामा छ । त्यहाँ पनि धेरै उद्योग छन् । त्यस अर्थमा २३८ बिघा भनेको त धेरै हो नि !

मोतिपुरमा सुरुको चरणमा स्थानीयवासीलाई असर नपर्ने गरी जति जग्गामा कुनै विवाद हुँदैन, त्यही आधारमा औद्योगिक क्षेत्र निर्माण गर्ने मनसायमा उद्योग मन्त्रालय देखिन्छ । सुरुमा २ सयदेखि २५० बिघा क्षेत्रफलमा निर्माण हुन सक्छ । तर ठ्याक्कै कति बनाउने, के गर्ने भन्ने कुरा सङ्घीय सरकारको कार्य क्षेत्रभित्र पर्छ । यसमा बुटवल उपमहानगरपालिकाले केही गर्न मिल्दैन ।

हामीले त केवल स्थानीयवासीलाई असर नगर्ने गरी बुटवल तथा आसपासका उद्योगीको माग अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि सहयोग र सहजीकरणको काम गर्ने हो । किनकि २ सयदेखि २५० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्दा पनि ४/५ सय उद्योग स्थापना हुन सक्छ । ती उद्योगमा स्थानीयवासीका लागि रोजगारीसँगै समग्र बुटवललाई नै औद्योगिक रूप लिन महत्त्वपूर्ण योगदान हुन सक्छ । उद्योग विभागले पनि सोही अनुसार योजना बनाएको हामीले बुझेका छौँ । सुरुमा २ सय, साढे २ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण भए पनि ठुलो उपलब्धि हुने हामीले ठानेका छौँ ।

  • मोतिपुर औद्योगिक क्षेत्र घोषणा भएको लामो समय बितिसक्दा पनि निर्माण प्रक्रियामा जान ढिलाइ कसरी भयो ?

यो सङ्घीय सरकारको परियोजना हो । त्यतिबेला जग्गा नापजाँच सेटलाइटबाट गरियो । त्यो बेला राम्रो नापजाँच भएको भए अहिलेसम्म निर्माण प्रक्रिया अगाडि बढिसक्थ्यो होला । सुरुमा जग्गा नापजाँच गर्दा स्थानीयवासीसँग समन्वय नगरी माथि–माथि बसेर काम भयो । स्थानीयसँग छलफल गरेर, स्थानीयहरूको सहमतिमा नाप्ने काम भएको भए यो अवस्था आउने थिएन ।

स्थानीयको समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि थप छलफल गरेको भए अहिले सहज हुने थियो । त्यसमा माथिबाटै काम गर्ने, स्थानीयसँग समन्वय र सहकार्य नगर्दा ढिलाइ भयो । अर्कोतिर तिनाउ वरिपरि धेरै जग्गा अतिक्रमणको चपेटामा परेको थियो । तिनै स्थानीयवासीका कारण सो जग्गा संरक्षण भएको हो । स्थानीयवासीलाई धन्यवाद दिँदै औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने हुन्छ । स्थानीयहरू पनि औद्योगिक क्षेत्र निर्माण गर्न नदिने पक्षमा छैनन् । उनीहरू पनि रोजगारी पाइन्छ भन्ने आसमा छन् । उनीहरू बुटवलको विकासमा योगदान दिन चाहन्छन् । तर स्थानीयलाई अप्ठ्यारो नपर्ने गरी काम गर्नुपर्छ ।

  • बुटवल औद्योगिक क्षेत्र निर्माण भएपछि बुटवलवासीले खास गरी के लाभ पाउँछन् ?

बुटवल व्यापारिक क्षेत्र हो । यहाँबाट सुनौली बोर्डर नजिक छ । पहाडी जिल्लाहरू पनि जोडिएका छन् । नेपालको मध्य भागमा रहँदा यातायातको सुविधा र पहाडी जिल्लासँग नजिक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ मार्गका साथै सुनौली नाका नजिक रहेका कारण यहाँ उद्योग स्थापना गर्दा उत्पादित वस्तु बाहिर पठाउन सकिने उद्योगीहरूको बुझाइ छ । त्यसकारण यहाँ उद्योग स्थापना गर्न स्थानीयदेखि अन्य ठाउँका उद्योगीहरूको रुचि छ ।

बुटवलमा रहेका उद्योगीहरू अन्यत्र जान चाहेका छैनन् । उनीहरू यतै सुविधा पाए आफ्नो भएका उद्योग विस्तार गर्ने र नयाँ उद्योग खोल्ने सोचमा छन् । बुटवल औद्योगिक क्षेत्रको क्षेत्रफल सानो र धेरै वर्ष पुरानो भएकाले जतिसक्दो छिटो यहाँ औद्योगिक क्षेत्र चाहिने यहाँका उद्योगी व्यावसायीहरूको आवाज छ । त्यही भएर सरकारले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको अवधारणा ल्याएको हो । तर विभिन्न कारणले लामो सयमदेखि यो रोकिएको छ ।

रोकिएको कामलाई हामीले अगाडि बढाउन उद्योग मन्त्रालयलाई सहयोग, समन्वय र दबाब दिनुपर्ने अवस्था छ । केवल चर्चाका लागि घोषणा गरेर हुँदैन । अब औद्योगिक क्षेत्र यहाँको आवश्यकता हो भन्ने सङ्घीय सरकारले पनि गहिरो रूपमा बुझ्नु पर्छ । 

मोतिपुरमा अहिले २ सयदेखि २५० बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण भए जग्गा नपाएएर समस्यामा परेका थुप्रै उद्योगीलाई फाइदा हुनेछ । अर्कोतिर यहाँ रोजगारी सिर्जनाको वातावरण बन्ने छ । कति उद्योग खुल्ने, कति रोजगारी दिने भन्ने कुरा उद्योगहरूको मोडल अनुसार भर पर्ने विषय भयो । तर उद्योगहरू खुल्ने हुँदा हजारौँले रोजगारी पाउँछन् । आत्मनिर्भरता पनि वृद्धि हुने छ । व्यापार, राजस्वदेखि सबै विषयमा सकारात्मक प्रभाव पर्नेछ । आर्थिक गतिविधि थप चलायमान बन्नेछ ।

औद्योगिक क्षेत्र निर्माण हुँदा मोतिपुर पनि नयाँ विकासको मोडलमा जान्छ । यसले बुटवलको समग्र क्षेत्रमा राम्रो गर्छ । बुटवल आर्थिक रूपमा नयाँ स्वरूपमा जाने निश्चित छ । त्यो नयाँ स्वरूपमा लैजान बुटवलवासीहरू सहयोग गर्न तत्पर छन् । स्थानीयहरू पनि औद्योगिक क्षेत्र चाहिछ भन्ने मनसायमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप