बुटवल–नारायणगढ सडक : तेस्रो पटक म्याद थप्दा पनि निर्धारित समयमा काम सकिने सम्भावना कम
बुटवल । बुटवल–नारायणगढ सडक स्तरोन्नतिको म्याद तेस्रो पटक थप भए पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको ठेक्काको म्याद तेस्रो पटक थपेर २०८२ साउन ८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का तोड्ने चेतावनीसमेत दिएको थियो । त्यसपछि हाल केही ठाउँमा काम सुरु भएको छ ।
०७५ चैत ८ मा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको यो सडक स्तरोन्नति ०७९ साउन २२ भित्र सम्पन्न गरिसक्ने लक्ष्य थियो । काममा ढिलासुस्ती भएपछि प्रधानमन्त्री ओलीले समेत पछिल्लो समय चासो दिएका छन् ।
अहिलेसम्म यो सडकको समग्र भौतिक प्रगति ५३ प्रतिशत भएको छ । दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको सडकको पूर्वी भागमा वित्तीय प्रगति ४७ प्रतिशत छ भने पश्चिम भागमा ४५ प्रतिशत छ ।
बुटवलदेखि नारायणगढसम्म ११३ किलोमिटर सडकमध्ये ९९ किलोमिटर ४ लेन, दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाइउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने सम्झौता छ ।
अहिलेसम्म दुई लेन सडक ८० किलोमिटर र चार लेन सडक ४० किलोमिटरमात्र कालोपत्रे भएको सडक कार्यालयले जनाएको छ । नारायणगढ–बुटवल सडकको पश्चिम खण्डका प्रमुख इन्जिनियर शंशाक मिश्रले अहिले आफ्नो क्षेत्रमा ५३ प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तीय प्रगति भएको रातोपाटीलाई बताए ।
उनले बुटवल, सुनौल, देवदहको खैरेनीमा काम चलिरहेको जानकारी दिए ।
पूर्वी खण्डमा झण्डै चार महिनादेखि रोकिएको काम अहिले सुरु भएको छ । बुटवल–नारायणगढ पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले चार ठाउँमा काम भइरहेको रातोपाटीलाई बताए । उनका अनुसार गैंडाकोट, सीजीचोक, चोरमार, अरुणखोलाको दुम्कीबासमा काम भइरहेको छ ।
तोकिएको समयमा काम नसकिएपछि यो ठेक्काको म्याद दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको स्तरोन्नतिको काम दुई खण्ड गरेर १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का लागेको हो । हालसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको सडक कार्यालयले जनाएको छ ।
दाउन्ने सडक केही समय बन्द गर्ने तयारी
बुटवल–नारायणगढ सडक अन्तर्गत दाउन्नेमा केही दिन निश्चित समय सडक बन्द गरेर काम गर्ने योजना रहेको इन्जिनियर मिश्रले जानकारी दिए । उकालो भिर रहेकाले कम्तीमा १५ दिन मेसिन प्रयोग गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले त्यसका लागि नवलपरासी पूर्वी र पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भइरहेको जानकारीसमेत दिए । कहिलेदेखि सडक बन्द गर्ने भन्नेमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।
मिश्रले कम सवारी चल्ने समय ट्राफिक प्रहरीले निकालेपछि कम्तीमा दैनिक ६ घण्टा बन्द गर्ने गरी छलफल चलिरहेको खुलाए । सकभर सवारी कम हिँड्ने बेलामा काम गर्ने उद्देश्य रहेको भन्दै उनले कहिलेदेखि र कुन समयमा भन्ने यकिन हुन बाँकी रहेको बताए ।
उता, पूर्वी भागमा दुईतर्फ नै यातायात बन्द गरेर काम गर्नुपर्ने ठाउँ नरहेको पूर्वी भागका सूचना अधिकारी शिव खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा