शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : बीआरआईलाई लिएर अमेरिकी कुटनीतिज्ञको दौडधूपदेखि रविलाई विपक्षी पार्टीहरुको साथसम्म

बुधबार, २६ मङ्सिर २०८१, ०० : २७
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. बीआरआई 
नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान गत डिसेम्बर चारमा दुई राष्ट्रबिच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । 

२. कुटनीतिज्ञको दौडधूप
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार नेपाल आएका उनी मंगलबार बिहान स्वदेश फर्किएका हुन् । नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क सम्झौता भएको केही दिनमै नेपाल भ्रमणमा आएका लुले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटवार्ता गरे पनि प्रधानमन्त्री ओलीसँग भने उनको भेटवार्ता हुन सकेन ।

३. सचिवालय बैठक
 नेकपा एमालेले सहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो । यद्यपी उसले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

४. घोषणापत्र कार्यान्वयन
आम निर्वाचन ९२०७९ मंसिर ४० मा जनतासँग भोट माग्न नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘शब्द-शक्ति’लाई जोड दिएको देखिन्छ । समावेशी लोकतन्त्रका पाँच आधार भनेर उसले ‘प’लाई समातेको छ- पहिचान, प्रतिनिधित्व, पहुँच, प्रतिष्ठा र प्रगति ।  राजनीतिक विरासत र घोषणापत्र भजाएर चुनावबाट ऊ सिटका आधारमा सबैभन्दा ठुलो दल बन्यो । चुनाव सकिएको दुई वर्ष नाघिसक्दा उसले आफ्ना घोषणाको ४० प्रतिशत कार्यान्वयन गरिसक्नुपर्ने हो । कति गर्‍यो त ?

५. प्रधान न्यायाधीश र बारबिच दुरी बढ्दै
पछिल्ला दुई दिनमा भएका यी दुई प्रतिनिधि घटनाले नेपाल बार एशोसिएशन र प्रधान न्यायाधीश राउतका बिचमा टसल र दुरी बढ्दै गएको देखाउँछ । शनिबार भएको कार्यक्रममा भाग लिन पुगेका बार अध्यक्षलाई मञ्चमै नबोलाउने घटना गम्भीर भएको भन्दै बारका पूर्वअध्यक्षहरूले सम्मेलनमा र प्रधान न्यायाधीशकै सामु विषय उठानको तयारी गरेका छन् । 

६. रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले गरेको व्यवहारविरुद्ध विपक्षी विभिन्न पार्टीका नेताहरूले असन्तुष्टि जनाएका छन् । सहकारीको रकम दुरुपयोग र ठगी गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखरा, भैरहवा, काठमाडौँ,  चितवन र वीरगन्ज पुर्‍याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

७. अनियमितता
निजामती सेवामा प्रवेश गर्नेको एउटा लक्ष्य हुन्छ, सचिव बन्ने । सचिव बनेपछि उद्देश्य हुन्छ, सचिव बन्दै गर्दा, गृहसचिव बन्ने । त्यही लक्ष्य हासिल गरेका एक व्यक्ति हुन् सूर्यप्रसाद सिलवाल । २०७० चैतदेखि २०७२ मङ्सिरसम्म गृहसचिव रहेका उनकै नेतृत्वमा संविधान निर्माणको विषम परिस्थितिबिच सुरक्षा संयन्त्र चलेको थियो । 

८. निजामती कर्मचारी विधेयकमा छलफल
 कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने आवाज दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूले नै उठाएका छन् । उनीहरूले नेता वा मन्त्रीको ‘पावर’ लगाएर हुँदै आएको कर्मचारी सरुवाको अप्राकृतिक मोडल तुरुन्त खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

९. संविधान कार्यान्वयन 
संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ३९ वटा कानूनहरु बन्न बाँकी रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरूका सम्बन्धमा अध्ययन गर्न गठन गरेको उपसमितिले मंगलवार समितिमा अध्ययन प्रतिवेदन बुझाउँदै संविधान कार्यान्वयनको लागि अझै ३९ वटा कानून बन्न बाँकी रहेको जानकारी दिएको हो ।

१०. नियुक्ति 
सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताएका छन् । 

११. सिरिया सङ्कट

झण्डै ९ वर्षको हिंसात्मक द्वन्द्वसँगै केही वर्षदेखि तुलनात्मक रूपमा शान्त देखिएको सिरियामा पछिल्लो हफ्ता एक्कासी विद्रोही सैन्य बलले हमला गरेर बशर अल असदको सत्ता उल्ट्याइदिएसँगै विश्वभरका सञ्चारमाध्यममा सिरियाले पुनः स्थान पाउन थालेको छ ।

१२. नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग ९एनपीएल० मा कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो । त्यस्तै दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप