दुई पार्टी एकता कि वामपन्थी एकता ?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता सम्पन्न भएको छ । यो एकता केन्द्रीयस्तरबाट सुरु भएकाले कम्युनिष्ट पार्टीबीचको एकता भएको जस्तो महसुस गर्न सकिने अवस्था देखिंदैन ।
जनवादी केन्द्रीयताको प्रक्रियालाई पूर्णरुपमा बेवास्ता गरी बुर्जुवा पार्टीहरुबीच एकता भएजस्तै गरी पार्टी एकता गरिएकोले यो एकतालाई सैद्धान्तिक मान्यताका आधारमा वामपन्थी एकता भन्न सकिने अवस्था छैन । त्यसैले एमाले र माकेबीचको एकतापछि नामाकरण भएको नेपाल कम्युनिष्ट पार्टीको मुनिबाट ‘अण्डरलाइन’ गर्नुपर्ने अवस्थाले नै कम्युनिष्टहरुबीच एकता भयो भनेर भ्रम फैलाउनुको कुनै अर्थ देखिंदैन । यो पार्टी एकताको राजनीतिक धरातल क्रान्तिकारी पृष्ठभूमिको भए पनि यी दुवै पार्टीका नेतृत्व तहका व्यक्तिहरु राजनैतिक सैद्धान्तिक रुपमा विचलित र राष्ट्रियताको सवालमा आत्मसमर्पणवादी देखिएका छन् । त्यसैले सैद्धान्तिक विचलन र राष्ट्रिय आत्मसमर्पणवाद नै यी दुई पार्टीबीचको एकताको आधार बन्न गएको स्पष्ट हुन्छ ।
झापा आन्दोलनको पृष्ठभूमिबाट नेतृत्व विकास गरेका खड्गप्रसाद ओली (केपी ओली) र दशवर्षे सशस्त्र युद्धको पृष्ठभूमिबाट नेतृत्व विकास गरेका पुष्पकमल दाहाल (पीके दाहाल) ले आफ्नो राजनीतिक जीवनको प्रारम्भ कसरी भएको हो भन्ने धरातल मात्र खोजी गर्ने हो भने उनीहरुमा आजको अवस्थाले आफैबाट गद्दारी भएको महसुस गर्नुपर्ने अवस्था छ । केपी ओली दोस्रोपटक देशको प्रधानमन्त्री बन्नु भएको छ ।
प्रधानमन्त्री बन्नु मात्र महत्वपूर्ण पक्ष होइन । प्रधानमन्त्री बनिसकेपछि देश र जनताका निम्ति एउटा कम्युनिष्ट नेताले गर्नुपर्ने काम गर्न सकियो कि सकिएन भन्ने महत्वपूर्ण हुन्छ । आपूm बाँचुञ्जेल मात्र होइन, मृत्युपछि पनि देशले सम्झना गर्न लायकका कामहरु गर्न सक्ने अवसर प्रधानमन्त्री केपी ओलीमा प्राप्त भएको छ । कम्युनिष्ट पृष्ठभूमिबाट उठेको नेतृत्वले नेपाली जनतामा बाँडिएको कम्युनिष्ट आदर्शको पक्षलाई समेटेर अगाडि बढ्न हिम्मत गर्नुपर्दछ । विगतमा गरिएका आन्दोलनहरुभन्दा धेरै सहज रुपमा गर्न सकिने आन्दोलनलाई सम्पन्न गर्ने आधार तयार भएको वर्तमान अवस्थामा प्रधानमन्त्री केपी ओलीप्रति नेपाली जनताले आशा गर्नु स्वाभाविक हुन्छ । यही वास्तविकतालाई प्रधानमन्त्री ओलीले बुझ्न सक्नुभयो भने निश्चय पनि हाम्रो देश नेपालले अब काँचुली फेर्ने अवस्था आएको छ ।
चीनका वर्तमान अध्यक्ष सी जिनपिङले कम्युनिष्टहरुले व्यक्तिगत सम्पत्तिमा लोभ गर्नु हुँदैन भनेर नयाँ सन्देश प्रवाह गरेका छन् । विश्वको पहिलो नेताको हैसियत बनाउन सफल भएका चीनका अध्यक्ष सीको यो भनाइ कार्लमाक्सले वर्गसंघर्षको सिद्धान्त प्रतिपादन गर्ने बेलाको नभएर वर्तमान विश्व परिवेशलाई बुझेर गरिएको हो । अध्यक्ष सीको यो भनाइले नेपालका कम्युनिष्टहरुको राजनीतिक जीवनलाई प्रभाव पार्न सक्छ कि सक्दैन ? यो नै महत्वपूर्ण प्रश्न हो । कम्युनिष्ट पार्टीका नेताहरुले प्रचण्ड बहुमतको सरकार सञ्चालन गरिरहेको वर्तमान अवस्थामा पञ्चायतकालीन शासकहरु र नेपाली कांग्रेसका नेताहरुले गरिरहेको शासनभन्दा फरक अनुभूति जनताले गर्न पाउने हुनुपर्दछ ।
यसका लागि नेपाली जनतालाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखिबाट दिइएका आश्वासनहरु नै मार्गदर्शन हुनुपर्दछ । जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवादका आवरणमा जनतालाई झुक्याउने गरी पञ्च र कांग्रेसभन्दा फरक शासनको अनुभूति गर्न नपाउने वातावरण विकास भइरहेको देखिन्छ । निजी सम्पत्तिको मोह भएसम्म भ्रष्टाचार निर्मूल हुने आशा गर्न सकिंदैन । दुई पार्टीबीचको एकता भएपछि इमान्दार र कम्युनिष्ट आन्दोलनमा जीवन बिताएका चरित्रवान व्यक्तिहरु निराश भइरहेको अवस्था छ । पदीय जिम्मेवारी बाँडफाँड गर्ने क्रममा भएका पक्षपातपूर्ण गतिविधिले निराशा बढाएको देखिन्छ । यो निराशालाई चिर्न एकीकृत पार्टीको कार्यदिशा आमूल रुपान्तरणको पक्षमा देखिनु जरुरी हुन्छ । अन्यथा यो निराशाले विकल्प अवश्य खोज्ने छ भन्नेतर्पm नेताहरु सचेत हुनै पर्दछ ।
चीनका अध्यक्ष सी जिन पिङले निजी सम्पत्तिका लोभीहरू कम्युनिष्ट पार्टीका सदस्य हुन सक्दैनन् भनेर त्यसै भनेका होइनन् । माओत्सेतुङको निधनपछि चीनले गरेको आर्थिक समृद्धिसँगै चीनमा मौलाएको निजी सम्पत्तिको मोहबाट विकसित विकृतिहरुलाई मध्यनजर गरेरै अध्यक्ष सीले यस्तो अभिव्यक्ति दिनुभएको कुरा स्पष्ट छ । त्यो अभिव्यक्तिले संसारभरिकै कम्युनिष्टहरूलाई ऊर्जा दिएको छ । चीनका माओत्सेतुङ कम्युनिष्टहरूका आदर्श मानिन्छन् । लेनिन र स्टालिन सर्वहारावर्गीय जनताका मुक्तिदाता भनेर सम्झना गरिन्छन् । संसारका लागि उनीहरूले विचारबाहेक अरु के नै दिएका छन् र ? हाम्रा प्रधानमन्त्री केपी ओलीलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहाँका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति वास्तविक कम्युनिष्ट नेताका लागि अरु केही पनि हुन सक्दैन ।
कम्युनिष्ट पार्टीको सरकार बनिसकेपछि सरकारले गर्नुपर्ने काम के हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । दुवै पार्टीका नेताहरुले आ–आफ्नो राजनीतिक प्रारम्भका दिनहरुलाई सम्झना गर्ने हो भने अबको गन्तव्य निश्चय पनि आशालाग्दो हुनेछ । हामीले भूमिमा भूमिहीनको स्वामित्व हुनुपर्छ भनेर आन्दोलन गर्दै आएका हौं । उद्योगहरुमा मजदुरहरुको अधिकार सुनिश्चित हुनुपर्छ भनेर पनि हामीले आन्दोलन गर्दै आएका हौं । नेपालको जलसम्पदामा नेपालको हक सुरक्षित हुनुपर्छ भनेर पनि हामीले आन्दोलन गर्दै आएका हौं । पञ्चायतकालका ३० वर्ष र त्यसपछिका १२ वर्ष हुँदै आजसम्म आइपुग्दा उल्लेखित विषयहरुमा हाम्रो देशले कति फड्को मा¥यो ? हामी पञ्च र कांग्रेसभन्दा कति फरक हुन सक्यौं ? यी प्रश्नहरु हाम्रा नेताहरुले आफैसँग सोध्न जरुरी छ ।
दोस्रोपटक प्रधानमन्त्रीमा पदासीन भएलगत्तै केपी ओलीले आफ्ना कामहरूलाई अलि प्रभावकारी बनाउने प्रयास गरेको पाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्नुभन्दा पहिलेसम्म केपी ओलीको देशभक्ति स्तुत्य भइरहेको थियो । सर्वत्र प्रशंसा पाइरहेका केपी ओलीले नरेन्द्र मोदीको सुरक्षाको सवाल र २ नम्बर प्रदेशमा देखिएको राष्ट्रियता हित विपरीतका गतिविधिहरु हुँदै नेपाललाई बिजुलीमा पनि भारतकै अधीनमा राख्ने गरी हस्तान्तरण गरिएको अरुण–३ प्रकरणसम्मले प्रधानमन्त्री ओलीको व्यक्तित्वलाई आलोचित बनाएको छ । सर्वत्र आलोचना भइरहँदा पनि ओलीले कुनै चिन्ता गरेको पाइदैन । प्रधानमन्त्री केपी ओली १४ वर्ष जेल जीवन बिताएका व्यक्ति हुनुहुन्छ । उहाँले किन जेल जीवन बिताउनु भएको हो ? यही प्रश्न मात्र उहाँले आफैसँग सोध्न सक्नु पर्दछ । त्यही १४ वर्षको जेल जीवनले नै उहाँलाई नेता बनाएको हो । त्यो लामो जेल जीवन जुन उद्देश्यका निम्ति भोगिएको हो, अब त्यो एक किसिमले प्राप्त भएको छ । अर्थात् सत्ता प्राप्त भएको छ । ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने राजनीतिक मान्यताका साथ हतियार बोकेर ‘वर्गशत्रु सफाया अभियान’ले केपी ओलीलाई कलिलै उमेरमा जेल पु¥याएको हो । विगतकालमा उठाइएका हतियारहरू र गरिएका संघर्षहरूकै कारणबाट भए पनि आज शान्तिपूर्ण राजनीतिले सत्ता प्राप्त गराएको छ । यो सत्ता प्राप्तिका पछाडि झापा विद्रोहको इतिहास महत्वपूर्ण छ । झापाबाट सशस्त्र विद्रोहको सुरुवात नभएको भए ओलीजीको राजनीतिक व्यक्तित्व कहाँ खुम्चिएको हुन्थ्यो होला ? स्वयं ओलीले बुझ्न सक्नु पर्दछ ।
सशस्त्र विद्रोह सधैंभरि आवश्यक हुँदैन । सधैंभरि हतियार उठाएर मात्रै युद्ध जितिन्छ भन्ने कुरासँग पनि सहमत हुन सकिँदैन । तथापि सशस्त्र विद्रोह एउटा कालखण्डमा आवश्यक थियो भन्ने कुरासँग असहमति जनाएर निकै शान्तिप्रेमी बन्न खोज्नु पनि गलत हो । दश वर्षसम्म हतियार उठाएर दीर्घकालीन जनयुद्धका नामबाट ठूलो रक्तपातपूर्ण आन्दोलन गरेको राजनीतिक शक्तिलाई समेत पार्टी एकता प्रक्रियामा समेटेर कमरेड ओलीले आपूmलाई शक्तिशाली पार्टीको नेता मात्र नभएर शक्तिशाली प्रधानमन्त्री नै बनाउन सफल हुनु भएको छ ।
शक्तिशाली प्रधानमन्त्रीको हैसियतबाट देश र जनताको लागि गर्न चाहने हो भने अब कमरेड ओलीलाई कसैले रोक्न, छेक्न सक्ने अवस्था छैन । १४ वर्ष जेल बसाइपछि ओली कमरेडले जेलबाट भाग्ने कमरेडहरूलाई उग्रवादी देख्नु र अझै पनि हतियार उठाउन खोज्ने राजनीतिक शक्तिहरूलाई ललकारेर उपदेश दिनुभन्दा अझै पनि हतियार उठ्नुपर्ने कारण किन बनिरहेको छ भन्नेतर्पm चिन्तन मनन गर्नु र हतियार उठाउन तयार भएकाहरूलाई छलफलमा बोलाएर उनीहरूलाई पनि देशको विकास गर्न र जनताको जीवनस्तर माथि उठाउन कसरी सहकार्यमा तान्न सकिन्छ भन्ने कसरत गर्नु सबैभन्दा उत्तम होला ।
वाम गठबन्धनको आवरणमा चुनावी सफलता प्राप्त भएको छ । आखिर ‘वाम’ को अर्थ के हो ? यो शब्दप्रति नेपाली जनताको अटल आस्था र अटल विश्वास किन अभिव्यक्त भयो ? यो विषयलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ । निश्चय पनि शान्तिपूर्ण तरिकाले ओली कमरेड देशको कार्यकारी प्रमुख बन्न सफल हुनुभएको छ । त्यसो त १० वर्षसम्म जनयुद्ध लडेर आएका कमरेड प्रचण्ड र बाबुराम भट्टराईदेखि लिएर एमालेकै नेताहरू झलनाथ खनाल र माधव नेपाल पनि हाम्रो देशको कार्यकारी प्रमुख बन्न पाउनुभएकै हो । कार्यकारी प्रमुख बन्नु मात्रै ठूलो कुरा होइन भन्ने यथार्थलाई ओली कमरेडले आत्मसात् गर्नु पर्दछ ।
कम्युनिष्ट नेताहरूलाई देशको कार्यकारी प्रमुखका रूपमा पाउँदा पनि नेपाली जनताले पञ्चायतकालको शासनभन्दा फरक अनुभूति गर्न पाउँदैनन् भने त्यो जति लाजमर्दो कुरा के हुन्छ ? त्यसैले वर्तमान सरकारको संरचना वाम गठबन्धनको नामबाट नेपाली जनताले विश्वास गरेको धेरै पुरानो इतिहासको धरोहर हो ।
यो जनताको बहुदलीय जनवाद वा २१औं शताब्दीको जनवादको मिलन नभएर झापाबाट उठेको सशस्त्र आन्दोलन र दश वर्षसम्म चलेको दीर्घकालीन जनयुद्धको फ्यूजन हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ । आपूmहरूले हतियार उठाउँदा किन उठाइएको हो ? इतिहासको समीक्षा गर्नुपर्दछ । आज अरुले फेरि किन हतियार उठाउन खोजिरहेका छन् ? कारण खोजिनु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु