बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
भूराजनीतिक सवाल

नेपाल–चीनबिच भएको बीआरआई सम्झौतामा अमेरिकी मन्त्री लुको चासो

मङ्गलबार, २५ मङ्सिर २०८१, १९ : ००
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को पक्ष र विपक्षमा चर्चा चलिरहेको बेला दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको भ्रमण सकेर फर्किएका छन् ।

श्रीलंका र भारत हुँदै नेपाल आएका सहायक विदेशमन्त्री लुको मुख्य चासो नेपालमा बीआरआई कार्यान्वयन कसरी हुन गइरहेको छ भन्ने थियो । भारत हुँदै मंसिर २३ गते नेपाल आइपुगेका सहायक विदेशमन्त्री लुले भेटवार्ताका क्रममा नेपाली नेताहरूसँग बीआरआई कार्यान्वयनको विषयमा चासो राखे ।

पत्रकारसँग बीआरआईको चर्चा

चीनले नेपालमा कार्यान्वयनमा ल्याइरहेको बीआरआईको बारेमा अमेरिकाले चासोपूर्वक हेरिरहेको छ । मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा बीआरआई कार्यान्वयनमा सहमति भएको हो । नेपालमा त्यो कसरी कार्यान्वयन हुन्छ भन्नेबारे अमेरिकाले चासो लिएको हो । त्यसैका क्रममा प्रधानमन्त्री ओली चीनबाट फर्के लगत्तै अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आका हुन् ।

अमेरिकाले नेपालमा बीआरआई कार्यान्वयनलाई कसरी हेरेको छ भन्ने पत्रकारको जिज्ञासामा अमेरिकी सहायक विदेशमन्त्री लुले त्यसको बारेमा अध्ययन गर्न नपाएको तर बीआरआई परदर्शी ढंगले कार्यान्वयन हुनुपर्छ भन्ने प्रतिक्रिया दिएका थिए । उनले चीनले नेपालसँग बीआरआईमा जेजस्ता सम्झौता गरेको छ, ती सबै सार्वजनिक हुनुपर्नेमा जोड दिएका थिए ।

अमेरिकाले स्वतन्त्र निर्णय लिने र पारदर्शितामा विश्वास राख्छ भन्दै उनले बीआरआईको मामिलामा पनि त्यस्तै होस् भन्ने चाहेको धारणा राखेका थिए । उनले पत्रकारलाई भनेका थिए, ‘बीआरआईका विवरणहरू बाहिर नआएसम्म सम्झौतामा थप टिप्पणी गर्न मिल्दैन तर तर यो पारदर्शी हुनुपर्छ ।’

अमेरिकाले नेपाललाई बाहिरी प्रभावबाट मुक्त भएर स्वतन्त्र निर्णय गर्न सक्ने सक्षम देश बनाउने लक्ष्यका साथ सहयोग गरिरहेको उल्लेख गर्दै अमेरिकी सहायकमन्त्री लुले बीआरआई कार्यान्वयनमा नेपाल सहमत भएकोमा धन्यवाद पनि दिए ।

ओलीसँग किन भएन भेट ?

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटेरै बीआरआईको बारेमा छलफल गर्न चाहेका थिए । तर सहायक विदेशमन्त्री लु नआउँदै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा काठमाडौँबाट बाहिरिए । प्रधानमन्त्री ओलीले मंसिर २३ आफ्नो गृह जिल्ला झापा गए भने परराष्ट्रमन्त्री आरजु मंसिर २२ गते नेदरल्याण्ड गइन् ।

जबकि सहायक विदेशमन्त्री लुले आफ्नो भेटघाटको तालिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुको नाम पनि समावेश गरेका थिए । परराष्ट्र मन्त्रालयको कार्यतालिकमा पनि उनीहरूको नाम थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘लुको कार्यक्रमको भेटघाटको कार्यतालिका हामीले तयार गरेको होइन, उहाँहरुले क–कसलाई भेट्ने भन्ने कार्यतालिका बनाएर हामीलाई जानकारी गराइएएको थियो । त्यसमा प्रधानमन्त्री ओलीसँगको भेटघाट पनि थियो । तर किन भेट भएन भन्नेमा हामीलाई जानकारी भएन ।’

यसअघि तीन पटक नेपाल आइसकेका लुले २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेका थिए । २०७८ मा पनि लु नेपाल भ्रमण आउँदा देउवालाई प्रधानमन्त्रीकै रूपमा उनले भेटेका थिए ।

२०८० मा आउँदा उनले तत्कालीन प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्रीका रुपमा एनपी साउदसँग भेटवार्ता गरेका थिए । उनी आएकै दिन प्रचण्ड पत्नी सीता दाहालको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए । त्यतिबेला उनले एमालेका अध्यक्षको रूपमा ओलीलाई भेटेका थिए तर यसपटक प्रधानमन्त्री ओलीलाई नभेटिकन फर्किएका छन् । 

नेपालमा एमसीसी कार्यान्वयन गराउनमा मन्त्री लुको विशेष भूमिका छ । एमसीसीमाथि विवाद भइरहँदा उनले लगातार नेपालको भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीका सल्लाहकारसँग बीआरआईबारे चासो  

प्रधानमन्त्री ओलीसँग भेट नभएपछि मन्त्री लुले प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा.युवराज खतिवडासँग भेटवार्ता गरेका थिए । सो भेटमा पनि मन्त्री लुले सबैभन्दा बढी चासो बीआरआईका बारेमा राखेका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण दलका सदस्यमात्र होइन, बीआरआईका विषयमा छलफल गरी सहमतिको दस्तावेज बनाउने कार्यदलमा समेत यी दुवै जना सदस्य थिए । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा थिए भने एमालेबाट सल्लाहकारद्वय रिमाल र खतिवडा थिए ।

भेटवार्तामा मन्त्री लुले बीआरआई सम्झौता सफल बनाएकोमा रिमाल र खतिवडालाई बधाई पनि दिएका थिए ।

स्रोतका अनुसार लुले बीआरआईको बारेमा राखेको जिज्ञासाको जवाफ सल्लाहकार रिमालले दिएका थिए भने बीआरआई कार्यान्वयनमा ऋण र अनुदानलगायतको पाटोमा अर्का सल्लाहकार खतिवडाले जानकारी गराएका थिए । ‘सम्झौता सफल बनाएकोमा नेपाललाई बधाई छ तर यसका काम र कार्यान्वयनका सम्झौताहरू पारदर्शी हुनुपर्छ,’ लुको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यससँग सम्बन्धित सम्झौताका दस्तावेजहरु सार्वजनिक हुनुपर्छ ।’

रिमाल र खतिवडाले पारदर्शितामा ढुक्क रहन उनलाई आग्रह गरेका थिए । भेटघाटबारे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै सल्लाहकार रिमालले अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लुसँग सौहार्दपूर्ण शिष्टाचार भेटघाट भएको उल्लेख गरेका थिए ।

‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरूबारे चर्चा भयो,’ उनले भनेका थिए । उनले नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आफूले आभार व्यक्त गरेको जानकारीसमेत गराएका छन् ।

पूर्वप्रधानमन्त्रीसँग पनि बीआरआईबारे चासो

नेपाल आएकै दिन आइतबार मन्त्री लुले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यो भेटमा पनि लुले बीरआरआईको बारेमा चासो राखेका थिए ।

भेटमा सभापति देउवाले बीआरआईमा अनुदानकै कुरा दोहोर्‍याएका थिए । सभापति देउवा निकट स्रोतका अनुसार कांग्रेस र एमालेको सहमतिमै चीनसँग सम्झौता भएको र सोही अनुसार कार्यान्वयनमा जाने भनाइ देउवाले राखेका थिए ।

भेटमा उनीहरूबिच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए । यद्यपि उनले बीआरआईको बारेमा दुई जनाको बिचमा कुनै कुराकानी नभएको बताए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अमेरिकी मन्त्री लुले भेटेका थिए । प्रचण्डको सचिवालयले भेटमा बीआरआईको बारेमा चर्चा नभएको बताएको छ । सचिवालयका अनुसार नेपाल आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको र त्यसमा अमेरिकाको साथ सहयोग चाहिएको धारणा प्रचण्डले राखेका थिए ।

मन्त्री लुले नेपालले गरिरहेको आर्थिक प्रगतिमा आफूलाई खुसी लागेको र अमेरिकाको साथ सहयोग रहने धारणा राखेको सचिवालयले प्रेसनोटमार्फत जानकारी गराएको थियो ।

सहायक विदेशमन्त्री लु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक सुरुवात कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागी भएका थिए । त्यसपछि उनी पत्रकारहरूसँग भेटघाट गरेर स्वदेश फर्केका थिए ।

मन्त्री लुको नेपाल भ्रमण मंसिर २५ गतेसम्म थियो । प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न नपाएपछि आफ्नो भ्रमणलाई छोट्याएर उनी अमेरिका फर्केका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लु डिसेम्बर ३ देखि १० सम्म श्रीलंका, भारत र नेपालको भ्रमणमा रहने जानकारी गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप