"/>
बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
प्रथम महिला भिडियो शृङ्खला–४

राजेन्द्रलक्ष्मी : नायब भई देशको शासन सत्ता सम्हाल्ने प्रथम नेपाली महारानी

मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम महिला’को चौथो शृङ्खला बुधबार साँझ ७ः३० बजे प्रसारण भएको छ । गत बुधबार प्रसारण भएको तेस्रो शृङ्खलामा राष्ट्रिय विभूति भृकुटीमाथि चर्चा गरिएको थियो । यो पटक महारानी राजेन्द्रलक्ष्मीबारे चर्चा गरिएको सामग्री छ । 

यस्तो छ कार्यक्रमको विस्तृतमा विवरण:

परिचय 

पात्र- महारानी राजेन्द्रलक्ष्मी

जन्ममिति- वि.सं. १८१० 

जन्मस्थान- पाल्पा ?

निधन- वि.सं. १८४२ साउन

माता- अज्ञात

पिता-  मुकुन्द सेन (द्वितीय) 

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पु¥याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै महिलाहरुप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । 

महारानी राजेन्द्रलक्ष्मी नेपालको इतिहासमा यस्तै पात्र हुन् । उनी नायब भई देशको शासन सत्ता सम्हाल्ने प्रथम नेपाली महिला हुन् ।  नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली नारीका रूपमा पनि उनको नाम आउँछ । राजेन्द्रलक्ष्मी श्री ५ प्रतापसिंह शाहकी पत्नी हुन् । ससुरा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अपुरो अभियानलाई अग्रगति दिने श्रेय राजेन्द्रलक्ष्मीलाई प्राप्त छ । 

उनकै शासनकालमा लमजुङ, कास्की र तनहुँ एकीकरण भए ।  

राजेन्द्रलक्ष्मीको जन्मथलो, जन्ममिति तथा उनका पुर्खाका सम्बन्धमा प्रस्ट उल्लेख पाइँदैन । 

कतिपय इतिहासमा उनलाई काशी नजिककी राजपूतकन्या भनिएको छ । कतै पाल्पाकी राजकुमारी उल्लेख छ । 

कुनै इतिहासमा उनलाई पाल्पाली राजा मुकुन्द सेन (दोस्रो) की छोरी भनिएको पाइन्छ । 

उनको जन्ममितिका सम्बन्धमा पनि यकिन उल्लेख छैन, वि.सं. १८१० सालमा उनी जन्मिएको अनुमान छ । 

वि.सं. १८२२ साल फागुन महिनामा राजेन्द्रलक्ष्मीको विवाह श्री ५ प्रतापसिंह शाहसँग नुवाकोटमा भएको थियो । 

त्यतिखेर श्री ५ प्रतापसिंह १४ र राजेन्द्रलक्ष्मीको उमेर १२ भएको अड्कल छ । 

श्री ५ पृथ्वीनारायण शाहका रानीहरू इन्द्रकुमारी र नरेन्द्रलक्ष्मीमध्ये कान्छी नरेन्द्रलक्ष्मीका जेठाछोरा प्रतापसिंह देशको एकीकरण अभियान अथवा राजकाज आदि सम्बन्धमा उस्तो चाख लिँदैनथे । 

उनको अभिरुचि तन्त्रसाधना तथा भोग विलासतर्फ अधिक थियो । 

तन्त्रसाधनामा पञ्चमकार (मत्स्य, मांस, मदिरा, मुद्रा र मैथुन) सेवन गर्नुपर्ने भएकाले उनको रसबस यसैमा थियो । 

पाटनकी मैजुरानी यिनकी अविवाहिता पत्नी थिइन् । मैजुरानीबाट विदुर शाही र शेरबहादुर शाही दुई छोरा जन्मिए ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ५२ वर्षको उमेरमा वि.सं. १८३१ मकर सङ्क्रान्तिका दिन (सन् १७७५ जनवरी ११) नुवाकोटको देवीघाटमा निधन भयो । 

यही १८३१ सालको माघ महिनामा प्रतापसिंह ‘महाराजाधिराज’ भए । 

यिनको राज्यकाल निकै छोटो रह्यो । 

वि.सं. १८३४ मङ्सिर ०६ गते (सन् १७७७ नोभेम्बर १७) रक्तस्रावका कारण प्रतापसिंह शाहको देहावसान हुन पुग्यो । 

उनीसँगै आठवटी सुसारे पनि सती गएको उल्लेख छ । 

कुल दुईवर्ष दशमहिने प्रतापसिंहको राज्यकालमा वि.संं. १८३२ मा तिब्बतसँग खासामा भएको वाणिज्य सन्धिलाई महत्त्वपूर्ण मानिन्छ ।

यसबीच नेपाल एकीकरणको क्रम पनि अघि बढेकै देखिन्छ ।

प्रतापसिंह शाहसँगै महारानी राजेन्द्रलक्ष्मीलाई पनि सती पठाउने कुरो नचलेको होइन तर अडाई वर्षे छोराको पालनपोषण गर्नुपर्ने भएकाले सती जान नपरेको उल्लेख पाइन्छ । 

छोरा रणबहादुर शाहको जन्म वि.सं. १८३२ असार (सन् १७७५ मे २५) महिनामा भयो । 

मैजुरानी पनि त्यतिखेर दोजिया भएकीले सती गइनन् तर बच्चा जन्मिएको एक महिनापछि उनलाई सती पठाइयो । 

प्रतापसिंहको स्वर्गारोहण हुँदा रानी राजेन्द्रलक्ष्मी पनि गर्भवती भएकी र पति स्वर्गीय भएको १३ दिनपछि उनले ‘शिवप्रिया’ नामकी कन्या जन्माएको उल्लेख समेत छ ।

राजेन्द्रलक्ष्मीको पहिलो सन्तानका रूपमा ‘नागेन्द्र शाह’ जन्मिएको तर पास्नी अगावै नागेन्द्रको निधन भएको बेहोरा पनि भेटिन्छ । 

प्रतापसिंह स्वर्गारोहण भएपछि अढाई वर्षे बालक रणबहादुर शाह वि.सं. १८३४ मङ्सिर महिनामा ‘श्री ५’ घोषित भई गद्दीमा बस्न पुगे । 

अभिभावकका रूपमा माता राजेन्द्रलक्ष्मीलाई नायवी पदभार सुम्पिएको थियो । 

राजेन्द्रलक्ष्मीले प्रशासनिक काम हेर्न देवर बहादुर शाहको सहयोग लिई नायबको दायित्व निर्वाह गर्न थालिन् । 

कतिपय इतिहासकारले यस अवधिलाई ‘संयुक्त नायबीकाल’ पनि भनेका छन् । 

यसबीच देवर–भाउजूको कुरो नमिल्दा उनले बहादुर शाहलाई पदबाट हटाई बन्दी बनाइन् ।

पछि कैदमुक्त पनि गरिन् । 

बहादुर शाह मौकाको पर्खाइमा थिए, षड्यन्त्रको तानाबाना बुनी राजेन्द्रलक्ष्मीलाई बन्दी बनाउन सफल भए । 

राजेन्द्रलक्ष्मीलाई चरित्रहीनताको आरोप लगाई दरबारभित्रै नजरबन्द गरियो । 

उनीमाथि ‘सर्वजीत राना मगर’सँग अनैतिक सम्बन्ध राखेको बात लगाइएको थियो । 

यसै अभियोगमा दलजित शाहले सर्वजीत रानामगरलाई हनुमानढोका दरबारभित्रै कटाई मार्न लगाएका हुन् ।

कुनै इतिहासमा यस कामका पछाडि बहादुर शाहको हात रहेको उल्लेख पनि पाइन्छ । 

रानीलाई नजरबन्द राखिँदा चाँदीको हतकडी लगाई राखिएको बयान समेत छ ।

राजेन्द्रलक्ष्मी बन्दी बनाइएपछि देशको बागडोर स्वतः नायव बहादुर शाहको हातमा पुग्यो । 

उता नजरबन्दमा रहेकी राजेन्द्रलक्ष्मी पनि हातमा हात राखेर बसेकी थिइनन् । 

उनले गहिरो कूटनीतिक प्रयास अघि बढाउने क्रममा बनारसबाट ससुरा पर्ने चौतरिया महोद्दमकीर्ति शाहलाई सहयोगार्थ बोलाइन् । 

उनी पृथ्वीनारायण शाहका पाँच दाजुभाइ (पृथ्वीनारायण, महोद्दमकीर्ति, दलमर्दन, शूरप्रताप र दलजीत) मध्ये एक हुन् । 

यिनकै सहायताले ‘भारदारी सभा’ मार्फत रानी निर्दोष साबित भई दश महिनापछि नजरबन्दबाट मुक्त हुन पुगिन् । 

भनिन्छ, त्यतिखेर पानी भरिएको एउटा खड्कुलामा चाँदीको एउटा डल्लाभित्र सुनको टुक्रा र अर्को डल्लाभित्र फलामको टुक्रा राखी छाडियो । 

रानीले झिक्दा सुनको टुक्रा भएको डल्लो परेकाले उनी निरपराध ठहरिइन्, अर्को डल्लो परेको भए बेग्लै अर्थ लाग्थ्यो ।

आपत्विपदका बेलामा पनि धीरता, सुझबुझ र कूटनीतिक तवरबाट प्रयास अघि बढाउन सफल राजेन्द्रलक्ष्मी पुनः नायब हुन पुगी गुमेको सत्ता हात पार्न सक्षम ठहरिइन् । 

उनले आफ्ना शत्रुहरूलाई सखाप पार्ने निधो गरिन् । 

बहादुर शाह बेतियातिर लाग्न बाध्य भए । 

रानीलाई बदनाम गराउने खेलमा लागिपरेका घले खवास र बलभद्र खवास हात्तीद्वारा कुल्च्याइए । 

दुई कमारालाई शुलीमा चढाइयो । 

श्रीहर्ष पन्तलाई गालामा डामी देशनिकाला गरियो । वंशराज पाण्डे पनि मारिए ।

शत्रु तथा अहित चिताउनेका चाललाई बेलैमा बुझी बुद्धिमत्तापूर्ण ढङ्गबाट उम्कन सक्षम थिइन् राजेन्द्रलक्ष्मी ।

महोद्दमकीर्ति शाहले देखाउन थालेको चर्तिकलाबाट समेत उनले सजिलै मुक्ति पाइन् । 

महोद्दमकीर्ति शाहको हातबाट पशुपति क्षेत्रमा एक ब्राह्मणको हत्या हुनपुगेकाले यसै अपराधमा उनलाई देशनिकाला गरी बनारस पठाउन सजिलो भएको थियो । 

झन्डै आठवर्षे नायवी शासनकालभरि अविश्वास, आशङ्का, जालझेल र षड्यन्त्रकै तानाबानामा अल्झिइरहनुपरे तापनि नेपाल एकीकरणको बृहत् अभियानलाई राजेन्द्रलक्ष्मीले उचाइमा पु¥याइन् । 

एकीकरणको अभियानलाई विशेष ऊर्जा दिइएकै कारण ससुराले जीवनकालमा पश्चिम जित्न नसकेको अधुरो सपना राजेन्द्रलक्ष्मीबाट साकार हुन पुग्यो । 

परिणामस्वरूप वि.सं. १८३९ मा कास्की, लमजुङ, तनहुँ नेपालराज्यमा गाभिए । 

उनकै नायवीकालमा उत्तरतर्फ (तिब्बत) र दक्षिणतर्फ (भारत) सित राम्रो सम्बन्ध थियो । यसबाट अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पनि त्यतिखेर विशिष्ट रहेको अवगत हुन्छ । 

राजेन्द्रलक्ष्मीलाई अन्तिमकालमा क्षयरोगले च्याप्दै ल्यायो । 

यसैका कारण वि.सं. १८४२ साउनमा हनुमानढोकामा उनको देहान्त भयो ।

ढाल, तरबार आदि भिरेर सुसारेहरूका साथमा घोडा चढी सहर, गल्लीतर्फ जाने र सैनिकहरूको उत्साह बढाउन ओजदार भाषण दिने राजेन्द्रलक्ष्मीको गर्विलो इतिहास छ ।  

नेपाली महिलाले हतियार भिरेर घोडा चढी बाहिरफेर हिँड्नेगरेको यो घटना अभूतपूर्व मानिन्छ । 

योद्धाहरूको मनोबल बढाउन उनले गरेको उत्साहबद्र्धक क्रियाशीलता वरिपरिका राज्यका लागि समेत उदाहरणीय बनेको हुनुपर्छ ।

भारतीय इतिहासमा झाँसीकी रानी लक्ष्मीबाई (मणिकर्णिका/मनु) ले हतियार भिरेर घोडा चढी फिरंगीमाथि जाइलागेको वृत्तान्त पाइन्छ । 

लक्ष्मीबाईको जन्म १९ नोभेम्बर १८२८ ईस्वीमा र मृत्यु १८ जुन १८५८ मा भएको थियो ।

स्मरणीय छ, लक्ष्मीबाई महारानी राजेन्द्रलक्ष्मीको निधन भएको ४३ वर्षपछि बनारसमा जन्मिएकी हुन् । 

यस अर्थमा राजेन्द्रलक्ष्मी नेपालका सन्दर्भमा मात्रै होइन, क्षेत्रीय हिसाबमै वीराङ्गना देखापर्छिन् । 

मुद्रामा नाम अङ्कित हुनेसम्बन्धमा पनि राजेन्द्रलक्ष्मीको नाम छ । 

उनका नाममा दुई प्रकारका मुद्रा रहेका छन्– उनी महारानी हुँदाखेरिको मुद्रा र नायव हुँदाखेरिको मुद्रा । 

प्रतापसिंह शाहसँगको मुद्रा वि.सं. १८३३ को र नायव हुँदाको मुद्रा १८३४ को देखिन्छ । 

यी दुवै मुद्रा (सुकी) ले ऐतिहासिक महत्त्व ओगटेका छन् । 

उनका नाममा सुनको मुद्रा समेत निस्किएको थियो रे । 

रनिवास वा दरबारभित्र सीमित रहने महारानीहरूको तत्कालीन इतिहासमा राजेन्द्रलक्ष्मीले पु¥याएको योगदान निस्सन्देह अद्वितीय छ । 

व्यक्तिका गुण, अवगुणका हिसाबमा रानीमाथि पनि औँला ठड्याउन सकिएला । 

एक महिने सुत्केरी सौता मैजुरानीलाई सती पठाइनु जस्ता कुराले उनको अनुहारको एक पाटामा क्रूरता तथा प्रतिशोधात्मक भावना लुकेको नदेखिने होइन । 

बहादुर शाहसँग मिलेर उनले नेपाल एकीकरणको अभियानलाई निकै माथि पु-याउन सक्ने थिइन् ।

तर, त्यसो हुनसकेन भनेर कतिपय इतिहासकारले झैँ धारणा व्यक्त गर्न नसकिने होइन ।

तर इतिहास जे जस्तो भयो, भयो, त्यसलाई कसैले सच्याउन सकिने कुरै भएन । 

कमी, कमजोरी पन्छाएर हेर्ने हो भने राजेन्द्रलक्ष्मी केवल नायवी चलाउने हिसाबमा मात्रै होइन ।

अन्य कारणबाट समेत उनलाई नारी सशक्तीकरणकी जीवन्त प्रतीकका रूपमा हेर्न सकिन्छ । 

काखेबालकको अभिभावकका रूपमा नायब भई मुलुकलाई चौतर्फी कुदृष्टिबाट रक्षा गर्ने काम मात्रै नगरी मुलुकको सीमा र गौरव बढाउने कामसमेत गरेको पाइनुले उनी साँच्चिकै वीराङ्गना राजमहिषी भएको पुष्टि हुन्छ । 

नेपालको पछिल्लो इतिहासमा नायव भई देशको शासन सत्ता सम्हाल्ने जिम्मेवारी सुवर्णप्रभा, राजराजेश्वरी तथा ललितत्रिपुरसुन्दरीले पनि पाए । 

नायवी पाउने पछिल्ला महारानीका तुलनामा राजेन्द्रलक्ष्मीको इतिहास महत्त्वपूर्ण रहेको इतिहाससाक्षी छ । 

राजेन्द्रलक्ष्मीका सम्बन्धमा कर्कप्याट्रिक, ओल्डफिल्ड लगायत विदेशी इतिहासकारका खोज छन् । साथै इतिहासशिरोमणि बावुराम आचार्य, बालचन्द्र शर्मा, ढुण्डीराज भण्डारी, ज्ञानमणि नेपाल, हृषीकेश शाह, डिल्लीरमण रेग्मी, प्रमोदशमशेर राणा, डा. राजाराम सुवेदीलगायतका स्वदेशी इतिहासकारले पनि विशेष प्रकाश पारेका छन् । प्रकाश ए. राजको खोजपूर्ण ‘महारानी राजेन्द्रलक्ष्मी’ जीवनी पुस्तिका समेत प्रकाशित छ ।  धेरै जानकारी अगाडि आए तापनि राजेन्द्रलक्ष्मीको पूर्ण व्यक्तित्व झल्कने कैयन् पाटा अझै उघ्रिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया