शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र, शेखर र बाबुरामपछि रविको पक्षमा खुले प्रचण्ड !

मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : १९
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले गरेको व्यवहारविरुद्ध विपक्षी विभिन्न पार्टीका नेताहरूले असन्तुष्टि जनाएका छन् । सहकारीको रकम दुरुपयोग र ठगी गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखरा, भैरहवा, काठमाडौँ,  चितवन र वीरगन्ज पुर्‍याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैक्रममा लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले गरेको व्यवहार तथा अनुसन्धानका नाममा सरकारले हिरासतको बसाई लम्ब्याएको भन्दै दलका नेताहरूले आपत्ति जनाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रवि लामिछानेबाट सरकार र सत्तारुढ दलहरू तर्सिएको बताए ।

‘देशको चौथो दलको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरूलाई भनेको छु, किन हिरासतमा राख्नुपर्‍यो ? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि !’, पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍यो ?’ 

उनले सरकारले ज्यादतीविरुद्ध संसदको विशेष अधिवेशन बोलाएर त्यहाँबाट पनि विरोध जनाउन सकिने बताए ।

त्यसक्रममा प्रचण्डले सबैभन्दा धेरै सहकारी ठगहरू अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरूमा रहेको दाबी गर्दै सत्तारुढ दलका नेताहरूले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिएको देखिएको बताए ।

‘तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ । अहिले उहाँहरूले एउटा पाउनुभएको रवि लामिछाने, जो यही चितवनबाट दुई दुई पटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतङ्कित पार्ने ढङ्गले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु’, प्रचण्डको भनाइ छ ।

यसअघि नेसपा नयाँ शक्तिका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपाका नेता ज्ञानेन्द्र शाहीले लामिछानेलाई पोखरा पुगेर प्रहरी हिरासतमै भेटेका थिए ।

लामिछानेसँगको भेटपछि भट्टराईले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए ।

‘रवि लामिछानेलाई विभिन्न ढङ्गले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक र अन्यायपूर्ण भो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो’, मंसिर २१ गते लामिछानेलाई भेटेपछि भट्टराईले भनेका थिए,  ‘सहकारीसम्बन्धी जुन समस्या छ, त्यसको जरो धेरै फैलिएको छ ।’

त्यस्तै मंसिर २२ गते राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले रविलाई भेटेपछि  राज्यका तर्फबाट चितवन प्रहरीले लामिछानेलाई अमानवीय व्यवहार गर्नुका साथै प्रतिशोध साँधेको बताएका थिए ।

‘प्रतिशोध नभए अरू मान्छेलाई पनि थुन्नुपर्थ्यो । अरू पनि छन् सहकारीमा जोडिएका’, शाहीले कास्की जिल्ला प्रहरी कार्यालय अगाडि उभिएर भनेका थिए, ‘कानुनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यो चाहिँ खेद प्रकट गर्छु ।’

प्रहरीले लामिछानेलाई मंसिर १९ गते राति चितवनमा अनुसन्धान सकेर पोखरा लगेको थियो । त्यसक्रममा प्रहरीको व्यवहार अशोभनीय रहेको भन्दै लामिछाने रास्वपाले आपत्ति जनाउँदै विरोध गरिरहेको छ ।

  • सत्तापक्षकै नेता शेखरको पनि आपत्ति

विपक्षी दलका नेताहरूले मात्र होइन सत्तापक्ष नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि रास्वपा सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका थिए ।

मंसिर २२ गते भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले राति १२ बजे लामिछानेलाई चितवनबाट उठाएर पोखरा लैजानु अमानवीय व्यवहार भएको टिप्पणी गरेका थिए ।

‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो’, कोइरालाले भनेका थिए, ‘यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि यस्तो गर्न हुँदैन । हाम्रो लोकतान्त्रिक देशमा त्यसो गर्नु विल्कुल गलत हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप