अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई ओलीले किन दिएनन् भेट ?
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार नेपाल आएका उनी मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क सम्झौता भएको केही दिनमै नेपाल भ्रमणमा आएका लुले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटवार्ता गरे पनि प्रधानमन्त्री ओलीसँग भने उनको भेटवार्ता हुन सकेन ।
सभापति देउवा र अध्यक्ष प्रचण्डसँगको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालको प्रगति आफूहरूका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताएको दुवै नेताको सचिवालयले जनाएको छ ।
लुले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ टुङ्गिन थालेकोमा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद् खबर भएको बताएका छन् । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको पनि उल्लेख गरेका छन् ।
परराष्ट्र मन्त्रालयले सुरुमा नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको जनाएको थियो । तर त्यो सम्भव नभएपछि लुको भेटघाट अन्य नेतामा सीमित बन्न पुगेको हो ।
त्यसो त प्रधानमन्त्री ओलीको सट्टा लुसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र अर्थिक विभाग प्रमुख डा. युवराज खतिवडाले भेटवार्ता गरेका छन् ।
लु नेपाल आउँदा प्रधानमन्त्री ओली गृह जिल्ला झापाका सामान्य कार्यक्रममा तीन दिनसम्म बस्नुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले ओलीको यो कदमलाई बीआरआईबारे अमेरिकी प्रेसर छल्ने प्रयासका रूपमा हेरेका छन् । किनभने अमेरिका नेपालमा बीआरआईको विपक्षमा छ । यता लु फर्केपछि मंगलबारमात्र प्रधानमन्त्री ओली झापाबाट काठमाडौँ फर्कंदैछन् ।
राजनीतिक रूपमा बीआरआईको प्रतिस्पर्धी मानिएको अमेरिकी परियोजना एमसीसी अहिले नेपालमा कार्यान्वयनमा गइसकेको छ भने ओली नेतृत्वको सरकारले बीआरआई परियोजना पनि अघि बढाउने सहमति गरेको छ । अमेरिका र चीनसमेत एकआपसमा प्रतिस्पर्धी मानिन्छन् ।
‘चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् र दुवैका रणनीति अगाडि आउँदा एक अर्काले चासो राख्नु स्वाभाविक हो’, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार चितवनमा पत्रकारहरूसँग भनेका छन् ।
अध्यक्ष प्रचण्डको यो भनाइबाट पनि अमेरिकी सहायक विदेशमन्त्री लुले बीआरआईबारे चासो देखाएको प्रस्ट हुन्छ । तर अध्यक्ष प्रचण्डले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको भन्दै नेपाल र चीनबिच भएको सहमतिको स्वागत गरे ।
नेपालमा एमसीसी संसदबाट अनुमोदन गर्ने बेला उनै लुले नेपालका नेताहरूलाई दबाबसमेत दिने गरेका थिए ।
तर सहायक विदेशमन्त्री लु काठमाडौँ आएकै दिन प्रधानमन्त्री ओली गृहजिल्ला झापा जानुपरेका कारण प्रधानमन्त्रीसँग लुको भेट हुन नसकेको नेकपा एमाले सचिवसमेत रहेका विदेश विभाग प्रमुख रघुवीर महासेठको भनाइ छ ।
‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वनिधारित कार्यक्रम अनुसार झापा जानुभएको थियो, झापामा भएकै कारण भेट हुन नसकेको हो’, महासेठले भने, ‘भेट नभएकोमा आशङ्का गरिरहनुपर्ने अवस्था होइन ।’
प्रधानमन्त्रीको झापाको कार्यक्रम चीनजानु अघि नै तय भएको महासेठको भनाइ छ । ‘अमेरिकी सहायक विदेशमन्त्री आउँदा प्रधानमन्त्रीको भेट नहुनु संयोगमात्र हो । जानीबुझी त्यसो गरेको होइन’, महासेठले भने, ‘अरु कुनै राजनीतिक कारणले होइन ।’
नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा सम्झौता भएको केही दिनमै अमेरिकी विदेशमन्त्री नेपाल आउनु र उच्च राजनीतिक भेटघाट हुनुमा कुनै भूराजनीतिले काम गरेकोजस्तो आफूलाई नलागेको महासेठ बताउँछन् ।
‘अमेरिकाका लगायत देशका विदेशमन्त्री र उपमन्त्रीहरू प्रायः आइरहन्छन् । उनीहरू नेपाल अइसकेपछि नेताहरूसँग भेटवार्ता गर्नु स्वाभाविक हो’, उनले भने, ‘भेटमा दुई देशबिच सम्बन्ध बढाउने प्रयास गर्नुमा आफैँमा नराम्रो कुरा पनि होइन ।’
महासेठले बीआरआईको विरुद्ध अमेरिकी विदेशमन्त्री अहिले नेपाल आएको भन्ने चर्चामा सत्यता भएजस्तो आफूलाई नलागेको भन्दै यदि कसैको प्रेसर आए पनि त्यो नेपाली जनतालाई स्वीकार्य नहुने दाबी गरे ।
‘बीआरआईमा कसैको प्रेसर आए पनि नेपाली जनताले त्यो प्रेसर स्वीकार्दैनन्’, महासेठको भनाइ छ ।
एमाले नेता महासेठले ओली र लुबिच भेटवार्ता नहुनुलाई संयोग भने पनि एमालेकै अर्का एक नेताले ओली जानीबुझी नै लुको भ्रमण छल्न काठमाडौँ बाहिर गएको बताए । उनले भने, ‘लु आउने थाहा थियो, भर्खरै बीआरआईको सम्झौता भएको अवस्थामा अर्को प्रतिस्पर्धी राष्ट्रको अतिथिलाई भेटेर चीनलाई नचिढ्याउने नीति अनुसार नै यसो गरिएको हो ।’
यसैबीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विषयमा प्रश्न उठाएका छन् । नेपाल भ्रमणका क्रममा लुले नेपाल–चीनबीचको बीआरआई सम्झौताको पारदर्शिताको माग गरेको दाबी गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘खासमा उहाँको नेपाल भ्रमण नै पारदर्शी छैन । नेपाल सरकारको निमन्त्रणा विना नै आफूखुशी यसरी आउनुको उद्देश्य नै अपारदर्शी छ । साथै, नेपालको छिमेक सम्बन्धका बारेमा टिप्पणी गर्नु अशोभनीय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ