सत्तादेखि पतनसम्म : बशर–अल असदको उदय र अन्त्यको कथा
झण्डै ९ वर्षको हिंसात्मक द्वन्द्वसँगै केही वर्षदेखि तुलनात्मक रूपमा शान्त देखिएको सिरियामा पछिल्लो हफ्ता एक्कासी विद्रोही सैन्य बलले हमला गरेर बशर अल असदको सत्ता उल्ट्याइदिएसँगै विश्वभरका सञ्चारमाध्यममा सिरियाले पुनः स्थान पाउन थालेको छ ।
विद्रोही सैन्य बलले सिरियाका प्रमुख सहरहरू एलेप्पो, होम्स लगायतमा कब्जा गर्दै दमास्कसतिर बढेको समाचार आइरहँदा डिसेम्बर ८ को बिहान विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरे । त्यस लगत्तै ‘सिरियाका राष्ट्रपति बशर अल असद हवाईजहाजबाट देश छोडेर भागेको’ समाचार आउन थाल्यो ।
असद सरकारका प्रधानमन्त्री मोहम्मद अल जलालीले आफूहरू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए । यससँगै सन् २०१० मा सुरु भएको पश्चिम एसियाली विद्रोहको लप्कोले भेटेको अर्को मुलुक सिरियामा यो सत्तापलटसँगै त्यसले पूर्णता पाएको छ ।
सन् २०१० को डिसेम्बर ७ को दिन ट्युनिसियाको सिदी बौजिद सहरमा ठेलामा तरकारी बेच्ने एक युवक मोहमद बौआजिजीले प्रहरी ज्यादतीबाट असाध्यै पीडित भएको भन्दै आफैँलाई आगो लगाएर आत्मदाह गरे । यो घटनाबारे भर्खरै स्थापित हुँदै गरेको सामाजिक सञ्जालमा सनसनीको काम गर्यो ।
ट्युनिसियामा व्यापक प्रदर्शन हुन थाले । करिब एक महिना पुग्दा नपुग्दै लामो समयदेखि सत्तामा रहेका बेन अलीको सत्ता ढल्यो । यसले अरब क्षेत्रमा यस्तो झिल्कोको काम गर्यो, जुन ट्युनिसियामा मात्र सीमित रहेन । यसले इजिप्ट, लिबिया, यमनजस्ता मुलुकमा हिंसात्मक स्वरुप लिन थाल्यो ।
६ जनवरी २०११ मा अमेरिकी अखबार फरेन पोलिसीमा एक लेख लेख्दै मार्क लिन्चले यसलाई ‘अरब स्प्रिङ’ को नाम दिए । पश्चिमाहरूले अरब स्प्रिङको नाममा अरब क्षेत्रको आन्दोलनलाई आफ्नो नियन्त्रणमा राख्दै आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप पनि लाग्ने गरेको छ ।
जे होस्, त्यसरी फैलिएको आन्दोलनको डढेलो इजिप्ट र यमनको सत्तापलट गर्दै अरब क्षेत्रका राजतन्त्र भएका मुलुकमा पुग्दा व्यापक अवरोधको सामना गर्न थाल्यो । लिबियामा भएको आन्दोलनमा नेटो र यसका सदस्य राष्ट्रका फौजको प्रत्यक्ष सहयोगमा राष्ट्रपति मुअम्मार गद्दाफीको हत्या गरियो । यो लहरमा सबैभन्दा ठुलो ब्रेक लागेको सिरियामा हो ।
सिरियामा जब आन्दोलन हिंसात्मक बन्दै गयो, राष्ट्रपति बशर अल असदको सरकार रक्षात्मक हुँदै गयो । पश्चिमा समर्थित लडाकु फौजहरूले दबाब बढाउदै जाँदा असदको रक्षामा अर्को महाशक्ति रुस अगाडि आयो । रुसको सहयोगमा भएका हवाई हमलाहरू तथा रुसी सैन्य सहयोगको बलमा असदले आफ्नो सत्ता रक्षा गर्न सफल भएका थिए ।
७४ प्रतिशत हाराहारी सुन्नी समुदायका मुसलमानको आवादी रहेको सिरियामा अल्पसंख्यक अलवेइत समुदायबाट आएका फौजी कमान्डर हफिज अल असदले सन् १९६३ मा ‘मार्च ८ क्रान्ति’ भनेर चिनिने सिरियाली बाथ पार्टीको सत्ता कब्जामा सक्रियता साथ भाग लिए । फलस्वरुप उनको जिम्मेवारी सैन्य प्रमुखको रूपमा हुन पुग्यो ।
फेरि सन् १९६६ मा भएको बाथ पार्टीभित्रकै विप्लवमा उनले पुनः सक्रिय सहभागिता जनाउँदै त्यसलाई सफल बनाउन भूमिका खेले । यसले उनलाई सिरियाको रक्षामन्त्रीमा पदोन्नति गरायो । सन् १९७१ को एक सैन्य विप्लवमार्फत उनले सम्पूर्ण सत्ता आफैँले कब्जा गर्ने अवस्था सिर्जना गरे । त्यति नै बेलादेखि आजीवन उनी सिरियाको राष्ट्रप्रमुखका रूपमा रहे ।
सन् २००० मा उनको मृत्युपछि उनका छोरा बशर अल असद सिरियाको नेतृत्वमा आए । सिरियाको नेतृत्वमा आएको यस्तो फेरबदलले सुरुवातदेखि नै त्यहाँ विभिन्न विवादलाई थप विस्तार गर्यो । अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने असद परिवारको शासनको विरुद्ध बहुसंख्यकहरू बेला–बेला आन्दोलित भइरहेका थिए ।
सिया समुदायसँग नजिक रहेको अलवेइत समुदायका असदको समर्थनमा इरान र उसका सहयोगीहरू देखिन्थे भने सुन्नी समुदायको पक्षमा साउदी अरब र अन्य सुन्नी राष्ट्रहरूको समर्थन देखिन्थ्यो । सिरियामा अल्पसंख्यकको रूपमा कुर्द र ईसाइहरूको पनि उल्लेख्य उपस्थिति छ ।
यी समुदायहरू खास–खास भूगोलमा केन्द्रित भएका छन् । यिनीहरूको असद सरकारविरुद्ध आफ्नै खालको आन्दोलन चलिरहेको थियो । सन् २०१० डिसेम्बरमा बौअजिजीको आत्मदाहले फैलिएको आन्दोलन सिरियामा आइपुग्दासम्म असदविरुद्धको मोर्चाबन्दीमा फेरिन पुग्यो ।
पश्चिम एसिया तेल र ग्याँसको भण्डारको रूपमा सबैको आकर्षणको केन्द्र त छँदैछ, अझ यसको भू–रणनीतिक महत्त्व त्यति नै धेरै छ । युरेसियाको मध्यभागमा पर्ने यो भूभागले रुस र इरान व्यापार, सुरक्षा र प्रभावको पनि त्यत्तिनै महत्त्व राख्ने गर्छ ।
आफूलाई समस्त धर्तीको एकछत्र अधिपति ठान्ने पश्चिमा जगत र खासगरी अमेरिकाको उपस्थिति नभएको भए सम्भवतः यो भूमिमा कुनै द्वन्द्व हुने थिएन भन्ने मत पनि बलियो छ । इराक र अफगानिस्तानमा आक्रमण गरेर आफू अनुकूलको सत्ता स्थापना गरिसकेको अमेरिका सिरियाको भूगोलमा आफू अनुकूलको सत्ता खडा गरेर त्यहाँको तेल र ग्याँसमाथि नियन्त्रण गर्न र इरान–रुसलाई भूमध्य सागरको छेउमा नियन्त्रण चाहन्थ्यो ।
उता छिमेकी इजरायलले सिरियाको केही भूभागमा आफ्नो दाबी गर्दै आएको थियो भने प्यालेष्टाइनको समर्थनमा उभिएको मजबुत सत्तालाई इजरायल कुनै पनि मूल्यमा उल्ट्याउन चाहन्थ्यो । तर अरब स्प्रिङ भनिएको लहरमा तुसारापात सिरियाबाटै भयो ।
अलकायदामाथि अमेरिकाले विश्वभर चलाएको आक्रमणले बिखन्डित भएको त्यसको समूह आइएआइएस नामको अझ आक्रामक समूहको रूपमा विकास हुन थाल्यो । यसका नेता अबु बकर अल बग्दादी पश्चिमा मिडियामा नयाँ खलनायकको रूपमा देखा पर्न थाले । आइएसको नाममा पेरिसलगायत युरोपका अन्य मुलुकमा पनि हिंसात्मक घटनाहरू हुन थाले ।
यो समूहलाई नियन्त्रण गर्ने नाममा अमेरिका सिरियाको भूगोलमा आक्रमण गर्न पुग्यो । कुर्दहरूको नियन्त्रण रहेको भूभागमा कुर्द विरोधी टर्कीका नेता एडवार्ड एर्दोगानले हमला गर्न थाले । अर्थात् सिरियामा अमेरिका, फ्रान्स, बेलायत लगायत पश्चिमा, इजरायल र टर्कीको हमला हुन थाल्यो ।
रुसको उपस्थितिका कारण उनीहरूले असद सरकारविरुद्ध सोझो हमला गर्न अप्ठ्यारो हुन थाल्यो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार जोन बोल्टनले सन् २०२० मा प्रकाशन गरेको संस्मरण ‘द रूम ह्वेयर इट ह्यापन्ड’ मा कसरी उनीहरू सिरिया र इराकका सैन्य इलाकामा बमबारी गर्थे भन्ने उल्लेख गरेका छन् ।
अन्ततः ५४ बर्ष लामो असद परिवारको विरासतको सिरियाबाट जरा उखेलिएको छ र उनी भागेर रुस पुगेका छन् । सिरियासहित भावी दिनमा मध्य एशियाको भू–राजनीतिले कतातर्फ कोल्टे फेर्छ भन्ने हेर्न अझै कुर्नैपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको दौडधुप किन ?
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड