मलेसिया रोजगारी फेरि खुल्यो, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

काठमाडौँ । केही समययता बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ । गत ३१ मे २०२४ (२०८१ जेठ १८ गते) देखि लागेको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला भएको हो ।
मलेसियाको श्रम नीतिअनुसार देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने व्यवस्था छ । उक्त सङ्ख्या पुरा भएसँगै मलेसियाले श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो ।
मलेसियास्थित नेपाली राजदूतावासले प्लान्टेसन लगायतका अन्य क्षेत्रका माग पत्र प्रमाणीकरण गरेको छ । गत शुक्रवार सोमबार गरेर फेल्डा प्लान्टेसन लगायत विभिन्न प्लान्टेसन र अन्य कम्पनीका एक हजार ७८० माग पत्र प्रमाणीकरण भएको हो । दूतावासले माग पत्र प्रमाणीकरण गरेसँगै मलेसियामा ६ महिनादेखि राखिएको आप्रवासी कामदार पठाउने बाटो खुलेको छ । तर, अहिले आंशिक रूपमा मात्रै खोलिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले हाल आंशिक रूपमा मात्रै खुला गरिएको बताए । विशेष कोटामार्फत डिमान्ड गरिएको उनको भनाइ छ ।
नेपाल र मलेसियाबिच सन् २०१८ अक्टोबर २९ तारिखमा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । त्यसपछि मलेसियाले पटक पटक आप्रवासी कामदार लैजान रोक लगाउँदै आएको छ ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्ने राजदूतावासले जनाएको छ । मलेसियाको माग पत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाइटमा सो माग पत्र अपलोड गरेपछि कामदार लैजाने प्रक्रिया सुरु हुनेछ । हाललाई सीमित क्षेत्रमा मात्रै कामदारको माग भएको मलेसियाको लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले बताइन् । उनले दूतावासमा आएका मागपत्रहरु अनुगमन गरेर अनलाइन गरिएको बताइन् ।
मलेसिया जाने कामदारमाथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते मलेसिया श्रम स्वीकृतिमा रोक लगाएको थियो । पछि दुई सरकारबिच सहमति भएको थियो ।
मलेसियामा रोजगारी खुलेसँगै स्वास्थ्य परीक्षणमा गरिएको सिन्डिकेट समेत तोडिएको छ । नेपाल सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरूको मेडिकल गर्न पाउने दूतावासले जनाएको छ ।
संघका अध्यक्ष भण्डारीले मलेसियाको उक्त सिन्डिकेट तोड्ने कदम स्वागतयोग्य भएको बताए । यसले कामदारको लागत घट्ने र कुनै पनि खालको सिन्डिकेट संघलाई मान्य नहुने बताए ।
मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घबिचको सम्झौता गत मेमा सकिएको थियो । त्यसपछि उक्त सम्झौता नवीकरण नगरिएपछि सिन्डिकेटको अन्त्य भएको हो । हाल मलेसियामा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कपको तयारी पूरा, जियानलुइजी बुफोन पनि आउने
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख