शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

रोहितको अलराउन्ड प्रदर्शनसामु नतमस्तक बन्यो चितवन

लुम्बिनी लायन्सको पहिलो जित, चितवन राइनोजलाई धक्का
मङ्गलबार, २५ मङ्सिर २०८१, १२ : ०५
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल नायक बने । उनले अलराउन्ड प्रदर्शन गर्दै चितवनको इनिङ्स ध्वस्त पार्न उनले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका पौडेलले मात्र १७ रन खर्चिए । प्रतियोगितामा उनको विकेट सङ्ख्या ७ पुगेको छ ।

चितवनका लागि लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २९ बलमा ३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २० रन जोडे । १७ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । रवि बोपारा १६ रनमा १२ रन जोड्दै आउट भए भने ओपनर सन्तोष कार्कीले १० रन जोडे ।

खेलमा चितवन सुरुवातदेखि नै दबाबमा परेको थियो । दोस्रो ओभरमा नै विपिन रावललाई गुमाएको चितवनले तेस्रो ओभरमा सन्तोष कार्की गुमाएको थियो । लगत्तै सोहेल तनवीर पनि १ रन बनाउँदै पभेलियन फर्किए । 

त्यसपछि बेनकेन्सटाइन र बोपारा मिलेर टोलीलाई सम्हाल्ने प्रयास गरे पनि टोलीले लगातार विकेट गुमाउँदै गयो र पाँच खेलमा दोस्रो हार बेहोर्न बाध्य बन्यो ।

खेलको अन्त्यतिर नरबहादुर सार्कीले १२ बलमा २२ रन तथा रिजन ढकालले १४ बलमा १५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । लुम्बिनीका लागि रमोन सिमन्ड्सले २ विकेट तथा साद बिन जाफर र अभिषेक गौतमले १ विकेट लिए ।

rohit poudel

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । कप्तान पौडेलले टोलीका लागि अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । ५७ बलको इनिङ्समा रोहितले ६ चौका र ५ छक्का प्रहार गरे ।

उनको यो दोस्रो अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले मात्र प्रतियोगितामा दुईवटा अर्धशतक बनाएका थिए । 

रोहितले यसअघि पोखरा एभेन्जर्सको विरुद्धमा ९५ रन बनाएका थिए । जारी प्रतियोगितामा रोहित सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले पाँच खेलमा २ सय ६१ रन बनाएका छन् ।

त्यस्तै, साद बिन जाफरले पनि अर्धशतक बनाउँदै ५२ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । 

खेलमा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । रिजन ढकालले घातक बलिङ गर्दा टोलीले दोस्रो ओभरमा १ रनको स्थितिमा दुई विकेट गुमाएको थियो । आशुतोष घिरैया १ रन र उन्मुक्त चन्द शून्य रन बनाएर आउट भए ।

अर्का ओपनर अर्जुन साउदले कप्तान पौडेलसँग मिलेर लुम्बिनीको इनिङ्स सम्हाल्दै गर्दा उनी पनि १२ बलमा १५ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै, टम मुर्सले ५ बलमा १० रन जोडे । त्यसपछि रोहित र जाफर मिलेर शतकीय साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्‍याए ।

चितवनका लागि रिजन ढकालले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए ।

त्यस्तै, कुशल मल्ल र रञ्जित कुमारले एक–एक विकेट हात पारे । प्रतियोगिताका सर्वाधिक विकेट लिने सोहेल तनवीरले भने कुनै विकेट लिन सकेनन् । उनले ४ ओभरमा २७ रन खर्चिए ।

लुम्बिनीले प्रतियोगितामा हात पारेको यो पहिलो जित हो । ५ खेलमा टोली यसअघि ४ खेलमा पराजित भएको थियो । टोलीले दुई अङ्क बटुलेको छ ।

उता, चितवनले ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । टोलीले ६ अङ्क बटुलेको छ । पराजयसँगै टोलीको प्लेअफको दाबेदारीमा ठुलो धक्का लागेको छ ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप