सात वर्षसम्म पुल निर्माण अधुरै
कैलाली । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन ।
निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए ।
खुटिया र शिवगंङ्गा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । उनले भने, “खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगङ्गामा काम भएको छैन ।”
सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् रु तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ । ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।
निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताउनुभयो । निर्माण कम्पनीले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको उनको भनाइ छ ।
शिवगङ्गा नदीमा पुल निर्माण सम्पन्न नहुँदा वर्षात्का बेला डल्लबमा एक पटकको रु एक सय शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले जानकारी दिए । पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ । वर्षात्को समयमा शिवगङ्गामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल डल्लबमै राखेर नदी वारपार गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव
-
‘बार र बेन्चबिच विवाद छैन तर संविधान संशोधन गर्ने नियमावली मान्दैनौँ’
-
माओवादीको विधानमा अस्पष्टता, के हो रुकुम (पश्चिम)को विवाद ?
-
स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
-
नयाँ वर्षकै दिन अमेरिकामा भएको आक्रमणबारे के भन्छन् डोनाल्ड ट्रम्प ?
-
तराई-मधेसमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह