बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन

मङ्गलबार, २५ मङ्सिर २०८१, ०१ : २४
मङ्गलबार, २५ मङ्सिर २०८१

दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । 

निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन् । अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे ।  

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी दिए ।  चरण एक अन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यो प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव सात प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । 

मुख्य बाँध निर्माणअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् । 

आयोजनाको चरण दुई अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । जसमा ६३ दशमलव पाँच प्रतिशत प्रगति भएको बताइएको छ । 

चरण तीन को प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर दुई सय २० केभी ३४।७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप