बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सीआईबीले लियो दुर्गा प्रसाईंसँग बयानदेखि रविमाथि भइरहेको अनुसन्धानबारे प्रश्न उठ्दैसम्म

सोमबार, २४ मङ्सिर २०८१, २१ : ४०
सोमबार, २४ मङ्सिर २०८१

आज २०८१ मंसिर २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा रवि लामिछानेसँग पर्सा प्रहरीले लियो प्रारम्भिक बयान, आफ्नो बदनाम गर्न भ्रम फैलाइएको प्रधानमन्त्रीको आरोप, इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारविरुद्धको अभियानलाई पूर्वप्रधानमन्त्रीहरूको साथ, सीआईबीले लियो दुर्गा प्रसाईंसँग बयान, रविमाथि भइरहेको अनुसन्धानबारे प्रश्न उठ्दै, ऋण लिएर बीआरआई अघि बढाउन नसकिने कांग्रेसको निष्कर्ष लगायत छन् ।

१. रवि लामिछानेसँग पर्सा प्रहरीले लियो प्रारम्भिक बयान
सहकारी रकम हिनामिना सम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेलाई सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको हो । मंगलबार औपचारिक बयान लिइने प्रहरीले जनाएको छ ।

२. आफ्नो बदनाम गर्न भ्रम फैलाइएको प्रधानमन्त्रीको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्न भ्रम फैलाइएको आरोप लगाएका छन् । सोमबार बिर्तामोडमा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाइएको जिकिर गरे । 

३. इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारविरुद्धको अभियानलाई पूर्वप्रधानमन्त्रीहरूको साथ 
इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । सो अभियानमा पूर्वप्रधानमन्त्रीहरू तथा शीर्ष नेताले ऐक्यवद्धता जनाएका छन् ।

४. सीआईबीले लियो दुर्गा प्रसाईंसँग बयान
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।

५. रविमाथि भइरहेको अनुसन्धानबारे प्रश्न उठ्दै
सहकारीको रकम हिनामिनाबारे अनुसन्धानका लागि लिइएका रवि लामिछानेलाई विभिन्न जिल्लामा लगेर बयान लिने क्रम जारी छ । सोही क्रममा उनलाई सोमबार पर्सा लगिएको छ । यसअघि उनलाई कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा लगेर बयान लिइएको छ । झण्डै ८ सातादेखि हिरासतमा रहेका उनीमाथिको अनुसन्धानबारे प्रश्न उठ्न थालेको छ ।

६. ऋण लिएर बीआरआई अघि बढाउन नसकिने कांग्रेसको निष्कर्ष 
सत्ता साझेदार दल नेपाली कांग्रेसले चीनसँग हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को–अपरेशन फ्रेमवर्कबारे आफ्नो धारणा बनाएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई परियोजना ऋण लिएर अघि बढाउने भए, कुनै पनि हालतमा त्यो स्वीकार्य नहुने निष्कर्ष निकालेको छ ।

७. सिन्धुपाल्चोकको एउटा पुलको विषयलाई लिएर कांग्रेस र माओवादी नेताबिच विवाद
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित दाबी खोलामा निर्माण भएको पुल उदघाटनको विषयलाई लिएर सत्ता पक्षको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबिच विवाद चर्किएको छ । पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट कांग्रेसका निर्वाचित सांसद मोहनबहादुर बस्नेत दाबी खोला पुल उदघाटन गर्न दलबलसहित पुगेपछि विवाद चर्किएको हो ।

८. ओलम्पिक कमिटीको विवाद नयाँ मोडमा
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले निर्वाचनको सँघारमा संस्थाको विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने चलखेल गरेपछि विवाद बढेको छ । यस क्रममा अदालतको आदेशलाई समेत उपहास गरिएको भन्दै विभिन्न खेलकुद संघले आपत्ति जनाएका छन् ।  

९. त्रिविका उपकुलपतिलाई लिएर एमाले र माओवादी केन्द्र आमनेसामने
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई लिएर नेकपा एमाले र माओवादी केन्द्र आमनेसामने भएका छन् । सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा एमालेले बरालमाथि मेरिटोक्रेसीको धज्जी उडाइरहेको आरोप लगाएको छ । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने बरालको बचाउ गरेको छ ।

१०. सुदूरपश्चिम सरकारका गौरवका योजनाको प्रगति लज्जास्पद
सुदूरपश्चिम सरकारले २०७५ सालमा अघि सारेका गौरवका योजनाको प्रगति लज्जास्पद देखिएको छ । प्रदेशका ९ जिल्लामा सडक सञ्जाल विस्तार गर्ने गरी प्रदेश सरकारले अघि बढाएको गौरवका योजना बजेटको अभावमा बेहालजस्तै भएका छन् । यसबारे रातोपाटीले तयार पारेको विशेष रिपोर्ट हेर्नुहोस्–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप