पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ

ताप्लेजुङ । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन् । उक्त वर्ष दुई लाख ८३ हजार नौ सय ४५ जना दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेको थियो । पछिल्ला केही वर्षमा दर्शनार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार नौ सय ६१ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्याङ्क रहेको छ ।
यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन् । उक्त वर्ष एक लाख एक हजार ६ सय पाँच जना दर्शनार्थीले मन्दिर दर्शन गरेका थियो । कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ ।
चालु आव २०८१/८२ को कात्तिक महिना मात्रै ६१ हजार एक सय ७३ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको थियो । असोज महिनामा भने पाँच हजार नौ सय ४९ जनाले मात्र मन्दिरको दर्शन गरेको थियो । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ ।
क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा यो यात्रा श्रद्धालुहरूका लागि विशेष अनुभव बनेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् । काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ ।
पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट