बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको ‘दाबी खोला पुल’लाई लिएर बस्नेत र सापकोटाबिच चर्कियो विवाद

पुल निर्माणको विषयमा कांग्रेस र माओवादीको आ–आफ्नै दाबी
सोमबार, २४ मङ्सिर २०८१, १८ : ०८
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित दाबी खोलामा निर्माण भएको पुल उद्घाटनको विषयलाई लिएर सत्ता पक्षका नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबिच विवाद चर्किएको छ । पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट कांग्रेसका निर्वाचित सांसद मोहनबहादुर बस्नेत दाबी खोला पुल उद्घाटन दलबलसहित पुगेपछि विवाद चर्किएको हो ।

गाउँपालिकाको आयोजनामा भएको उद्घाटन समारोह बिथोल्न माओवादीका कार्यकर्ताहरूले रुख ढालेर अवरोध गरेकोमा कडा आपत्ति जनाए । कार्यक्रममा सोही क्षेत्रका पूर्वसांसद तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, वर्तमान सांसद माधव सापकोटाको नामै लिएर बस्नेतले बढी चुरीफुरी देखाए देखाइदिने चेतावनी दिए । देशमा सरकार जसको भएपनि सिन्धुपाल्चोक सरकार आफै भएको उनले दाबी गरे ।

‘चाहे सुबोध(माधव सापकोटा) होस् वा चाहे अग्नि होस् । पञ्चायत कालमा भिडेर आएको मान्छे हुँ । यो देशमा सरकार जसको होस् । सिन्धुपाल्चोकको सरकार म हुँ । माओवादी अर्को पटकको चुनावमा एकादेशको बन्नेछ । सुबोध सापकोटाको जमानत जफत गराएर छाड्छु’, चेतावनी दिँदै उनले भनेका थिए ।

उक्त पुल एमाले र माओवादीले बनाएको नभइ आफूनै पहलमा तत्कालीन भौतिक पूर्वधारमन्त्री विमलेन्द्र निधिको पालामा नेपाली सेनाले बनाएको बस्नेतले दाबी गरे ।

‘बजेट हाल्न ल्याउने म हुँ । अग्निले सांसद विकास कोष बाहेक केही गरेको छ भने म राजनीति त्यागिदिन्छु । बुरुकबुरुक नउफ्रन म चेतावनी दिन्छ । आज एक दिनलाई माफी भयो’, उनले भनेका थिए ।

बस्नेतको अभिव्यक्तिलाई लिएर माओवादीका नेताहरूले आपत्ति जनाएका छन् । सिन्धुपाल्चोक–१ का निर्वाचित सांसद माधव सापकोटाले निर्माण नै नभएको पुल उद्घाटन गर्न पुगेपछि स्थानीयले विरोध गरेको दाबी गरे । बस्नेतले दाबी गरेजस्तो पुल कांग्रेसको पालामा नभइ तत्कालीन नेकपा सरकारको पालामा बनेको उनले दाबी गरे । निर्माण सम्पन्न नभएको पुल उद्घाटन गर्दा स्थानीयले विरोध जनाउँदा बस्नेतले आक्रोश पोखेको हुन सक्ने सापकोटाले बताए ।   

उनले भने, ‘पुलको निर्माण कार्य पुरा नहुँदै मोहनजीले गाउँपालिकाको आयोजनामा उद्घाटन गर्नुभयो । त्यो पुल नेकपाकालीन सरकारको पालामा प्रदेश सरकारको बजेटमा निर्माण भएको हो । स्थानीयहरूले जोसुकैले उद्घाटन गरेपनि निर्माण पुरा गर्नुपर्छ भनेर विरोध गरेका हुन् । मूलतः माओवादी र एमाले समर्थकहरूले विरोध र नाराबाजी गरेका हुन् । वडा माओवादी र एमाले प्रभावित ठाउँ हो । दाबी भन्ने ठाउँमा माओवादी प्रभाव बढी छ । विरोध भएपछि उहाँ उत्तेजित भएको हुन सक्छ ।’  

पूर्वसभामुख समेत रहेका अग्नि सापकोटाले जित्दै आएको सो क्षेत्र २०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादीबिच भागबण्डा हुँदा बस्नेत क्षेत्र–२ मा जानुपरेको थियो । ताकि उनले सोही क्षेत्रबाट चुनाव लड्न नपाए विद्रोह गर्ने नेतृत्वमाथि दबाब दिएका थिए । कांग्रेस र माओवादीबिच राजनीतिक द्वन्द्व बढ्दै गएको देखिन्छ । बस्नेत र सापकोटाले एकले अर्कालाई आफ्नो प्रभाव बढ्दै गएकाले आत्तिएको दाबी गरिरहेका छन् । अहिले विवाद भएको ३ नम्बर वडा एमालेले जितेको वडा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप