आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

बीमा प्राधिकरणका अध्यक्षबाट नागरिकता र राहदानीमा जालझेल !

विशेष अदालतमा मुद्दा दायर
सोमबार, २४ मङ्सिर २०८१, १५ : ४१
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साल साउन १६ गतेवाट ६६ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो नौ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेको उजुरी परेको थियो । 

सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र मिति २०८०।४।१५ गते देखि हालसम्म लिएको लाभ सुविधा रकम रु.३६ लाख ६२ हजार १५४.१६ रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

सिलवालमाथि परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको पाइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोबाट सिलवालले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको, निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वंयले भरेको पासपोर्ट आवेदन फारममा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८।०७।२४ (०९ Nov.१९६१) कायम गरेको देखिएको घिमिरेको भनाई छ ।
सिलवालले आफ्नो वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको पाइएको छ ।

स्थापित तथ्यका आधारमा मिति २०८०।०४।१५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा सिलवाल जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिएकाले उनको उक्त कार्यहरू प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसुर गरे भएको पुष्टि भएको अख्तियारको ठहर छ ।

सिलवालले आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रस्ट थाहा जानकारी आफूलाई हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिब ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेस गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेस गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रूपमा उक्त राहदानीहरू प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सबुद प्रमाणबाट पुष्टि भएको अख्तियारको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप