आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीको संगठन विभागमा ३ नेताको हानथाप

सोमबार, २४ मङ्सिर २०८१, १६ : ००
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को संगठन विभागमा तीन नेताले दाबी नछोड्दा कार्यविभाजन गर्न गठित सात सदस्यीय कार्यदललाई सहमति जुटाउन कठिन भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलमा नेताहरूको कार्य विभाजनबारे लगातार सहमति खोज्ने प्रयास भए पनि संगठन विभागको नेतृत्वमा पुगेर अड्किएको बताइएको छ ।

संगठन विभागको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता डा. बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी छन् ।

‘संगठन विभाग प्रमुखका लागि तीन नेताले आकाङ्क्षा देखाउनुभएको छ । जसमा राजेन्द्रप्रसाद पाण्डे, बेदुराम भुसाल, र घनश्याम भुसाल हुनुहुन्छ’, एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँहरू अहिलेसम्म हानथाप मै हुनुहुन्छ ।’

ती नेताका अनुसार आइतबार र सोमबार बसेको कार्यदल बैठकमा आकाङ्क्षी नेतालाई सहमतिमा आउन अध्यक्ष माधव नेपालले आग्रह गरे पनि उनीहरू कोही लचक हुन तयार भएनन् । यद्यपि पाण्डे भने चीन भ्रमणमा छन् । उनी मंगलबारसम्ममा चीनबाट नेपाल फर्कने छन् ।

अध्यक्ष माधवकुमार नेपाल भने मंगलबारभित्र जसरी पनि सहमति जुटाउने प्रयासमा छन् ।

बुधबारबाट सथायी कमिटी बैठक बोलाइएकाले पनि अध्यक्ष नेपाल मंगलबारभित्र कार्यविभाजन टुङ्ग्याउने र स्थायी कमिटीमार्फत कार्यविभाजनको घोषणा गर्ने प्रयत्नमा छन् ।

‘अध्यक्षले सहमति जुटाउने प्रयास गरिरहनुभएको छ । सहमतिमा विभागको नेतृत्वमात्र होइन, सबै टुङ्गिन्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘कार्यविभाजनमा बाहिर आएजस्तो समस्या छैन ।’

नेताहरूको कार्यविभाजन गर्न साउन महिनामै अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् ।

असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले भदौ यता नेताहरूको कार्यविभाजन गर्न लगातारजसो बैठक राखे पनि सहमति जुटाउन सकेको छैन ।

कार्यविभाजन गर्दा विभिन्न विभाग प्रमुख, प्रदेश तथा जिल्ला इन्चार्ज, जनसंगठन प्रमुख, आयोग प्रमुख तोक्नुपर्ने हुन्छ । संगठन विभागपछि विदेश विभाग प्रमुखमा पनि दुई नेताले दाबी गरेका छन् । विदेश विभाग प्रमुखमा सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष प्रमेश हमालले दाबी गरेका छन् । तर पछिल्लो समय खनाल विदेश विभाग छाड्न केही लचक भएको अध्यक्ष माधव नेपाल निकट स्रोतको दाबी छ ।

‘खानल र हमालबिच लामै रस्साकसी भयो । तर पछिल्लो समय खनालले हमाललाई छाड्ने सङ्केत गर्नुभएको छ’, नेपाल निकट ती नेताले भने, ‘विदेश विभागभन्दा पनि संगठन विभाग पेचिलो बनेको छ ।’

कार्य विभाजनमा नेताहरू सहमतिमा नआए स्थायी कमिटीमा बहुमत र अल्पमतका आधारमा निर्णयमा पुग्ने अध्यक्ष नेपालको तयारी रहेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीमा २१ सदस्यीय स्थायी कमिटी छ । 

‘सकभर सहमति जुटाउने त्यो भएन भने बहुमत र अल्पमतका आधारमा स्थायी कमिटीमार्फत नै निर्णय गर्ने विकल्प अध्यक्षसँग छ । केही लागेन भने अध्यक्ष त्यही विकल्पमा जान सक्नुहुन्छ,’ अध्यक्ष नेपाल निकट अर्का नेताको भनाइ छ ।

एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेताहरू जिम्मेवारीविहीन बनेका छन् ।

महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसविपरीत नेता कार्यकर्ताहरूमा निराशा बढेको तथा संगठन निर्माणमा सुस्तता आएको उनीहरूको गुनासो छ ।

दशौँ महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्दा नै पार्टीभित्र देखिएको असन्तुष्टिलाई नेतृत्वले समयमै सम्बोधन नगर्दा त्यसको असर केन्द्रीय नेताहरूको कार्यविभाजनमा परेको नेताहरू नै बताउँदै आएका छन् ।

महाधिवेशनले पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भनिए पनि नेताहरूलाई चित्त बुझाउन बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । केन्द्रीय कमिटी संख्या बढाउने र पदाधिकारी तथा पोलिटव्युरो चयन गर्दा अपनाइएको प्रक्रियासमेत गलत रहेको भन्दै कतिपय नेताहरू पार्टीमा निष्क्रिय रहँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप