बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
पूर्वाधार

साढे ५ खर्बको आयोजनामा पुँजी जुटाउन १५ दिनको समय

तोकिएको समयभित्र नेपालीबाट प्रस्ताव नआए विदेशी लगानीकर्तालाई आह्वान गर्ने गरी कार्यविधि
सोमबार, २४ मङ्सिर २०८१, ०९ : ००
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । विद्युत् उत्पादक कम्पनीले देशका दुई ठुला जलविद्युत् आयोजना बनाउन आइतबार नेपाली लगानीकर्तासँग प्रस्ताव माग गर्‍यो । ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त आयोजना निर्माणका लागि स्वपुँजी जुटाउन कम्पनीले नेपाली लगानीकर्ताहरूसँग वित्तीय लगानीका लागि आशयपत्र मागेको हो । 

यी आयोजनाहरूमध्ये किमाथांका अरुण अर्ध जलाशययुक्त आयोजना हो । यसको कुल लागत ९३ अर्ब ८० करोड रुपैयाँ हुनेछ । त्यस्तै, अर्को आयोजना मुगुकर्णाली जलाशययुक्त आयोजना हो । यसको कुल लागत ४ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यी दुई आयोजनाको लागत जोड्दा ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ बराबर हुन आउँछ । 

यो लागतमध्ये २५ प्रतिशत रकम स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत जुटाउन सक्ने कम्पनीले जनाएको छ । यो आधारमा दुई आयोजनाको स्वपुँजीका लागि मात्रै १ खर्ब ३८ अर्ब ४५ करोड रुपैयाँ बराबर जुटाउनुपर्ने देखिन्छ । 

त्यो रकममध्ये ५१ प्रतिशत बराबर रकम लगानीका लागि प्रस्ताव पेस गर्नुपर्ने कम्पनीले जनाएको छ जुन ७० अर्ब ६१ करोड रुपैयाँ हुन आउँछ । यसमध्ये किमाथांका अरुणको लागि ११ अर्ब ९६ करोड रुपैयाँ र मुगु कर्णाली आयोजनाका लागि ५८ अर्ब ६५ करोड रुपैयाँ जुटाउने क्षमता राख्नुपर्ने देखिन्छ । निर्माणको चरणमा लागत बढ्न गयो भने त्यही अनुपातमा पुँजी थप गर्न सक्ने क्षमता समेत लगानीकर्तामा हुनुपर्ने अवस्था समेत छ । 

प्रस्ताव आह्वान गर्नुअघि विद्युत् उत्पादक कम्पनीले मङ्सिर १४ गते आयोजना निर्माण तथा लगानी साझेदारसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । उक्त कार्यविधिले सार्वजनिक निजी साझेदारी ढाँचामा लगानी जुटाइ आयोजना विकास गर्न कम्पनीले प्रस्ताव आह्वान गर्ने विषय उल्लेख गरिएको छ । यसका लागि सुरुमा कम्तीमा १५ दिनको समय दिएर स्वदेशी लगानीकर्तालाई आह्वान गर्नुपर्ने र तोकिएको अवधिभित्र स्वदेशी लगानीकर्ताबाट प्रस्ताव नआएमा विदेशी लगानीकर्ता वा जोइन्ट भेञ्चरका लागि लगानी आह्वान गर्न सक्ने व्यवस्था छ ।  

कम्पनीका सूचना अधिकारी वरिष्ठ इन्जिनियर नवीन पौडेलका अनुसार कार्यविधिको यही व्यवस्था अनुसार १५ दिनको सूचना आह्वान गरिएको हो । कुनै पनि आयोजनामा साझेदारी गर्न नेपाली कम्पनी आफैँ इच्छुक छन् भने सुरुमा नेपाली लगानीकर्तालाई नै प्राथमिकता दिनुपर्छ भन्ने मान्यता अनुसार कार्यविधिमा यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । 

  • कम्पनीको ध्यान विदेशी लगानीकर्तामै 

कम्पनीले स्वीकृत कार्यविधिले स्वदेशी लगानीकर्ताका लागि न्यूनतम १५ दिनको समय दिएर प्रस्ताव पेस गर्न आह्वान गर्नुपर्ने व्यवस्था छ, त्योभन्दा बढी आवश्यकता अनुसार जति समय पनि दिन पाइन्छ । तर, कम्पनीले न्यूनतम समय मात्रै दिएर प्रस्ताव आह्वान गरेको पाइन्छ । तर, १५ दिनको समयभित्र ७० अर्बको स्वपुँजी जुटाउन स्वदेशी लगानीकर्ताका लागि सम्भव देखिँदैन । प्राविधिक तयारीका लागि यो समय पर्याप्त हुनसक्ने पनि लगानी जुटाउने विषय महिनौँ लाग्नसक्छ । यो अवस्थामा तोकिएको समयभित्र नेपाली लगानीकर्ता आउने सम्भावना निकै नै कम छ । 

त्यसो त, अवस्थामा नेपाली लगानीकर्ता आउँछन् भन्ने आश कम्पनीलाई नै छैन । इन्जिनियर पौडेल किमाथांका अरुणमा नेपाली कम्पनी आउन सक्ने आशा गरिए पनि मुगु कर्णालीमा सम्भव नदेखिएको बताउँछन् । 

‘किमाथांमा अरुणका अर्ध जलाशययुक्त आयोजना एक खर्बभन्दा कम लगानीको छ । यसमा नेपालबाटै लगानी जुटाउन सकिन्छ कि भन्ने हो,’ पौडेल भन्छन्, ‘मुगु कर्णालीको त लागत नै धेरै छ, स्वपुँजी जुटाउन सके पनि ऋणका लागि पनि विदेशी लगानी ल्याउनैपर्छ । त्यसका लागि विदेशी साझेदार त खोज्नै पर्ने देखिन्छ ।’ तोकिएको अवधिभित्र नेपाली लगानीकर्ताले इच्छा देखाए यसमा केही समय थप्न पनि सकिने उनको भनाइ छ । 

कम्पनीले यी आयोजनालाई सार्वजनिक निजी साझेदारी मोडलबाट अगाडि बढाउने भनेको छ । यस अनुसार कम्पनीले आयोजनामा हालसम्म गरेको खर्चमा ५ प्रतिशत ओभरहेड खर्च जोडेर कुल लागत निर्धारण गर्ने जनाएको छ । यसमा तोकिएको दर अनुसार ब्याजदर समायोजन गरेर आउने रकमलाई शेयरको रूपमा दिनुपर्ने उल्लेख गरिएको छ । यद्यपि विदेशी लगानीकर्ता आएको अवस्थामा आयोजनाबाट सरकारले पाउनुपर्ने निःशुल्क शेयर वा विद्युत्को बारेमा भने कार्यविधिमा केही उल्लेख गरिएको छैन । 

  • कुन आयोजना कस्तो ? 

१. किमाथांका अरुण अर्ध जलाशययुक्त आयोजना

सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको नेपाल–चीन सीमानजिक यो आयोजना पर्छ । ४५४.०७ मेगावाटको क्षमताको यो आयोजना अर्धजलाशययुक्त हो जसमा नदीको पानीलाई दिनभर जम्मा गरेर दिनको ‘पिक आवर’मा विद्युत् उत्पादन गर्न सकिन्छ । 

Water2

यो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) को काम सम्पन्न भइसकेको छ । यो आयोजनामा करिब ७०० रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । यसका लागि मङ्सिर ९ गते मात्रै सूचना प्रकाशित भएको थियो । यो आयोजनाका लागि विद्युत् उत्पादक कम्पनीले ९० करोड ८१ लाख रुपैयाँ खर्च गरिसकेको छ । १४० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ । बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । यो आयोजनाले सुक्खायाममा १ अर्ब ५ करोड युनिट बिजुली र बर्खा याममा १ अर्ब ८७ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।  

२. मुगु कर्णाली अर्ध जलाशययुक्त आयोजना

कर्णाली प्रदेश अन्तर्गत हुम्ला, मुगु र बाजुरा जिल्लाको बिचमा रहने मुगु कर्णाली एउटा जलाशययुक्त आयोजना हो । यसको क्षमता १९०२ मेगावाट रहने जनाइएको छ । आयोजना हुम्ला, मुगु र बाजुराका ११ वटा गाउँपालिकाको क्षेत्रसँग जोडिनेछ । आयोजनाको ड्याम २८५ मिटर अग्लो हुनेछ बताइएको छ । आयोजनाको विकासका लागि भारतीय कम्पनीहरूले चासो देखाइरहेका छन् ।

mugu-karnali-river

यो आयोजनाको अध्ययन नै प्रारम्भिक चरणमा छ । आयोजना क्षेत्र निर्धारण र प्रारम्भिक सम्भाव्यता अध्ययनको काम भइसकेको छ । यी कामहरू विद्युत् उत्पादक कम्पनीले गरेको हो । एनईए इन्जिनियरिङले यो आयोजनाको इन्जिनियरिङ अध्ययन गरेको थियो । 

आयोजनाका लागि हालसम्म जग्गा प्राप्ति र मुआब्जा वितरणको काम समेत भइसकेको छैन । कर्मचारी आवासको २५० रोपनी जग्गाको लागि मुआब्जा निर्धारण समिति बनेको विद्युत् उत्पादक कम्पनीले जनाएको छ । यो आयोजनामा हालसम्म कम्पनीको ४८ करोड ७२ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप