१० बजे १० समाचार : लिलाबल्लभविरुद्ध मानव तस्करी प्रकरणमा कतै मुद्दा नचल्नेदेखि लिएर रविको हिरासत बसाइ लम्बियोसम्म
आज २०८१ मंसिर २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा लिलाबल्लभविरुद्ध मानव तस्करी प्रकरणमा कतै मुद्दा नचल्ने, रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै, महत्त्वपूर्ण विधेयकबारे गैरजिम्मेवार बन्दै सांसद, प्रधानमन्त्री ओलीले गरे ‘भ्यु टावर’ उद्घाटन, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा वैद्य सर्वसम्मत, झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा, दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै लगायत छन् ।
१. लिलाबल्लभविरुद्ध मानव तस्करी प्रकरणमा कतै मुद्दा नचल्ने
मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट सो प्रकरणमा अधिकारीले उन्मुक्ति पाएको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन दरपिठ गर्ने निर्णय सदर भएसँगै अधिकारीविरुद्ध यसबारे अब कतै मुद्दा नचल्ने भएको हो ।
२. रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । कास्की जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै लामिछानेको हिरासत बसाइ फेरि लम्बिएको हो ।
३. महत्त्वपूर्ण विधेयकबारे गैरजिम्मेवार बन्दै सांसद
सांसदहरू महत्त्वपूर्ण विधेयकलाई गति दिएर अघि बढाउने सवालमा गैरजिम्मेवार बन्दै गएको देखिन्छ । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफलको कार्यसूची थियो तर ४० जना संशोधनकर्तालाई बोलाइएकोमा ७ जनामात्र उपस्थित भए । अर्कोतिर विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपूरक संख्या नपुगेका कारण सोमबारसम्मका लागि स्थगित भएको छ ।
४. प्रधानमन्त्री ओलीले गरे ‘भ्यु टावर’ उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् । दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
५. क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा वैद्य सर्वसम्मत
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
६. झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा
काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
७. पूर्वप्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरुबिच भेटवार्ता भएको हो ।
८. दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको दिएको हो ।
९. ‘इन्जिनियरिङ’ नमिलेको संरचनाका कारण काठमाडौँमा जाम
काठमाडौँ उपत्यकामा सवारी जाम मुख्य समस्याका रूपमा देखिँदै आएको छ । सवारी साधनको संख्या दिनदिनै बढिरहे पनि सडकको अवस्था उही छ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी जामको विषयलाई लिएर रातोपाटीले विविध पक्ष केलाएर तयार पारेको सामग्री हेर्नुहोस्–
१०. प्रमुख तीन दल आन्तरिक बैठकको तयारीमा
दुई ठुला सत्ता सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र बीआरआई सम्झौताबारे समीक्षा गर्न बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले पनि मंसिर २७ देखि २९ सम्म बस्ने गरी बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता