न्यायाधीशसमक्ष रविको गुनासै गुनासो

कास्की । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।
आइतबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको गुनासो गरेका छन् । आफ्नो परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई आफूलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याएको उनले बताएका हुन् ।
आफ्नो स्वास्थ्य अवस्था सामान्य नभएको भनेर प्रहरीसमक्ष आग्रह गर्दा पनि आफूलाई महानिरीक्षकको दबाबमा आफूलाई राति नै पोखरा ल्याइएको उनको भनाई थियो । चितवन पुर्याएकै दिनदेखि आफूलाई सन्चो नभएको र भोलिपल्ट बिहान पनि टाउको दुखेको निको नभएकोले प्रहरीले दिएको औषधि खाएर दिनभर बयान दिएको उनले जिकिर गरेका छन् । गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ नभनेको उनले बताएका छन् ।
राति अबेर सरकारी वकिलको कार्यालयबाट आफूलाई जिल्ला प्रहरी कार्यालय फर्काइएको र करिब दस बजेतिर आफू आराम गर्न गएको उनले न्यायाधीश समक्ष बयान दिएका छन्। तर, प्रहरी महानिरीक्षकले त्यहाँको एसपीलाई फोन गरेर ‘अहिल्यै लिएर जा ...’ भनेर दबाब दिएको लामिछानेको दाबी छ । एसपीले यसरी लान मिल्दैन भन्दा पनि महानिरीक्षकले उनलाई गालीसमेत गरेको लामिछानेले बताएका छन् ।
आफूले पनि ‘मलाई गाह्रो भएको छ आराम गर्न दिनुस् । मलाई अस्पताल लगेर चेक गर्नुस्’ भनेर पटकपटक आग्रह गर्दा पनि प्रहरीले आफ्नो बिन्ती नसुनेको लामिछानेले बताएका छन् । भोलि बिहान ७ बजे नै एयरपोर्ट जान्छु भन्दा पनि नमानेको उनको भनाई छ ।
आफूलाई लिन आएका एक प्रहरीको मुखबाट मादक पदार्थको गन्ध समेत आएको लामिछानेले आरोप लगाएका छन् । पोखरा आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो प्रेसर १८०/९० पुगेको पाइएको पनि पनि उनले न्यायाधीशसमक्ष बताएका छन् ।
बिहानदेखि बेलुकासम्मको बयान र मिडिया ट्रायल भएकोमा पनि उनले गुनासो गरेका छन् । ठाउँठाउँमा उजुरी हाल्न लगाइएको र अदालतले म्याद थपेको थप्यै गरेकोमा पनि उनले असन्तुष्टि पोखेका छन् ।
लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर अदालतले भने चार दिन मात्र उनको म्याद थप गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन र पाँचौँपल्ट १५ दिन म्याद थप गरिएको थियो । छवि जोशी पक्राउ गरेको दिन असोज ६ गतेलाई पहिलो दिन मानेर लामिछानेको म्याद मिलान भएको अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'