बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सहरकारी ठगी प्रकरण

रविको आरोपमाथि प्रहरीको खण्डन, भन्यो –  प्रहरीले मादक पदार्थ सेवन गरेको कुरा झुटो

आइतबार, २३ मङ्सिर २०८१, १९ : ५३
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । सहरकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रातारात चितवनबाट पोखरा ल्याउँदा प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै लगाएको आरोप नेपाल प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै सो कुरा भ्रामक भएको बताएको हो ।

लामिछानेले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसँगको भेटमा सो कुरा बताएका थिए । प्रहरीले विज्ञप्ति जारी गर्दै भनेको छ– 

विगत केही दिन यता विभिन्न सामाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा यस कार्यालयमा ल्याइएकोमा बयान कार्य सकिए पश्चात् मिति २०८१।०८।२० गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।

गत मङ्सिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरी माथि ढुंगामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको प्रहरीको भनाई छ । ‘मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको र तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट लामिछानेको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको प्रहरीको विश्लेषण रहेको बताइएको छ ।

‘ मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको विषय समेतलाई मध्यनजर गरी मङ्सिर १९ गते २१:३० बजेको समयमा जिल्ला सरकारी वकिल कार्यालयमा बयान स पश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्व उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरी सके पश्चात् भेटघाट कक्षबाटै मिति २०८१।०८।२० गते बिहान ००:०५ बजेको समयमा नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रूपमा लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको हो,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।

cp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप