बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
शिखर सम्मेलन

४०औँ सार्क बडापत्र दिवस : शिखर सम्मेलन हुने टुङ्गो छैन

आइतबार, २३ मङ्सिर २०८१, २० : ३०
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ४०औँ सार्क बडापत्र दिवस आइतबार हो । सार्कको शिखर सम्मेलन अनिश्चित रहेकै समयमा ४० औँ बडापत्र दिवस पनि औपचारिकतामा सीमित रहेको छ ।

सन् १९८५ डिसेम्बर ७–८ मा बंगलादशको ढाकामा सार्कको प्रथम शिखर सम्मेलन आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर भएको थियो । त्यो बेलादेखि प्रत्येक वर्ष सोही दिनको स्मरणमा सार्क बडापत्र दिवस मनाउने गरिएको हो । सार्क बडापत्रमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले हस्ताक्षर गरेका थिए । पछि अफगानिस्तान पनि सार्कको सदस्य राष्ट्र बन्यो ।

सार्क बडापत्र दिवसको अवसरमा हालसम्म नेपालबाहेक अरु कुनै देशले बोलेका छैनन् । सार्कको सचिवालयले पनि आफ्नो वेबसाइटमा यसबारे केही उल्लेख गरेको छैन ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । अध्यक्ष राष्ट्रकै हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शुभकामना दिए पनि सार्क सम्मेलनको बारेमा कुनै धारणा राखेका छैनन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा सार्कका सदस्य राष्ट्रहरू बिच पारस्परिक विश्वास, समझदारी र सहयोगलाई बढावा दिन सार्कको प्रमुख भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।

उनले शान्ति, समृद्ध र एकीकृत दक्षिण एसियाको निर्माणका लागि अध्यक्ष राष्ट्रको नाताले बडापत्रप्रति दृढ रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय संगठित अपराधलगायतका सामाजिक–आर्थिक र वातावरणीय चुनौतीहरू निरन्तर बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रका जनताको साझा हित र समृद्धिका लागि सार्क प्रक्रियालाई पुनरुत्थान गर्न पनि आह्वान गरे ।

परराष्ट्रमन्त्री आरजुले सार्क संस्थापकहरूको दृष्टिकोण र सामूहिक आत्मनिर्भरता प्रवर्द्धनमा सार्क बडापत्रको महत्त्वलाई स्वीकार गर्दै बडापत्रमा उल्लेखित आपसी सहमतिको भावनामा एसडीजीलगायतका उद्देश्यहरू पूरा गर्न सार्कलाई पुनरुत्थान र सक्षम बनाउने आवश्यकमा जोड दिइन् ।

मानव जीवनको सुधार तथा साझा चुनौतीलाई सम्बोधन गर्न क्षेत्रीय एकता आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।

सार्क गठन भएर बडापत्र घोषणा भएको ४० वर्षमा सार्कका १८ वटा शिखर सम्मेलन भइसकेको छ । सन् २०१४ मा १८ औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएको थियो । त्यसपछि शिखर सम्मेलन हुन सकेको छैन ।

१९औँ शिखर सम्मेलन गराउने जिम्मेवारी पाकिस्तानले पाएको थियो तर भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण सम्मेलन अनिश्चित बनेको छ । सन् २०१६ नोभेम्बर १५ देखि १९ सम्म पाकिस्तानको इस्लामावादमा हुने भनिएको १९औँ शिखर सम्मेलनमा भारतले सहभागी नहुने जनाएपछि स्थगित भएको थियो ।

सार्कका सदस्य राष्ट्र बंगलादेशले सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिएको छ । बंगलादेशको विदेश मन्त्रालयका सचिव मोहम्मद जसिम उदिनले सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिए । उनले सार्कका महासचिव गोलाम सारवरसँगको भेटघाटपछि जारी गरिएको विज्ञप्तिमा सार्कलाई पुनर्जीवित गर्न बंगलादेश प्रतिवद्ध रहेको जनाएका छन् । उदिनले सार्कका मन्त्रीस्तरीय बैठकका लागि पनि प्रस्ताव गरेका छन् ।

१० वर्षदेखि शिखर सम्मेलन नभए पनि सार्कसँग सम्बन्धित अन्य गतिविधि तथा प्रशासनिक काम नियमित भइरहेका छन् । गत फागुन २३ गते सार्क कार्यक्रम समितिको ५९औँ बैठक नेपालमा बसेको थियो । काठमाडौँमा बसेको बैठकमा सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव, महानिर्देशकहरूको सहभागिता थियो । सो बैठकले सार्कलाई विभिन्न तहमा सक्रिय बनाउने सहमति गरेको थियो ।

भारत–पाकिस्तान लफडा

सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र आफगानिस्तान सदस्य छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा शिखर सम्मेलन भए यता अर्को सम्मेलन हुन नसकेको छैन । सार्क सम्मेलन भएको पाँच महिनापछि पोखरामा बसेको सार्क मन्त्रीस्तरीय बैठकले पाकिस्तानको इस्लामावादमा १९ औं सम्मेलन २०७३ चैत २४ र २५ गते गर्ने निर्णय गरेको थियो । तर २०७३ असोजमा भारत–पाकिस्तानबिच भएको लफडाले सार्क सम्मेलन स्थगित गरिएको थियो ।

जम्मु–काश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले आक्रमण गराएको भारतको आरोप छ । सो आक्रमणमा १९ जना भारतीय सेनाको ज्यान गएको थियो । त्यतिबेलादेखि भारतले सार्क सम्मेलन बस्न सकेको छैन । पाकिस्तानबाहेक अरु देशमा १९ औँ सम्मेलन गर्न सकिन्छ कि भन्नेबारे छलफल भए पनि त्यसका लागि पाकिस्तान तयार देखिँदैन ।

पाकिस्तानले आफ्नै देशमा सम्मेलन गराउन चाहेको छ भने भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने बताउँदै आएको छ ।

सबैको सहमतिमा भारत–पाकिस्तानबाहेक अरु देशमा पनि सम्मेलन गर्न सकिन्छ कि भन्नेबारे अध्यक्ष राष्ट्रका नाताले नेपालले पहल गर्नुपर्ने सार्कको महासचिव रहिसकेका अर्जुन थापाको सुझाव छ ।  

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रायले पाकिस्तानका कारण सार्क संगठन अगाडि बढ्छ जस्तो आफूलाई नलागेको बताए । दक्षिण एसियामा सार्कका निकै महत्त्व रहे पनि एउटा कुनै देशका कारण यो अगाडि बढ्न नसकेको उनको टिप्पणी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप