हसनको अर्धशतकसँगै चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको हो ।
चितवन राइनोजका लागि हसन ईशाखिलले अर्धशतकीय योगदान गरे । अफगानिस्तानका १८ वर्षीय ब्याट्सम्यान हसन ईशाखिलले ६५ रन बनाए । ओपनर ब्याट्सम्यानको भूमिकामा क्रिज समाल्न आएका उनले केवल ५२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।
चितवन राइनोजले १७ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर सन्तोष कार्की सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि हसन ईशाखिल र विकेटकिपर ब्याट्सम्यान विपिन रावलले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।
विपिन रावल १७ रन बनाउँदै पभेलियन फर्किए । उनले २० बलमा दुई चौका पनि हिर्काए । कप्तान कुशल मल्लले पनि टोलीको खातामा १३ रन थपे । उनले १६ बलमा एक चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रवि बोपाराले पनि ३६ रनको योगदान गरे ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका बोपाराले केवल १८ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । जन निकोल लफ्टी दुई रनमा र अमर रौतेला ६ रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रूपमा १६ रन पायो । सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलियनले दुई तथा ब्रान्डन म्याकमलेन, दीपेन्द्रसिंह ऐरी, सेफ अलि जेबले एक–एक विकेट लिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । सुदूरपश्चिम रोयल्स यसअघि खेलिएको तीनवटै खेलमा विजयी भएको छ । चितवन राइनोजले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।
यसैगरी, चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । चितवन राइनोजले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन राइनोज कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो ।
त्यसैले आइतबारको खेलमा सुदूरपश्चिम रोयल्स लगातार चौथो जितको खोजीमा हुनेछ । अर्कोतिर, चितवन राइनोज भने तेस्रो जित हात पार्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने उद्देश्यसहित मैदानमा ओर्लने छ ।
चितवन राइनोजका कप्तान कुशल मल्ल हुन् । राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका कुशल मल्ल टोलीका मार्की खेलाडी पनि हुन् । सुदूरपश्चिम रोयल्सको कप्तान पनि दीपेन्द्रसिंह ऐरी हुन् । राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्र टोलीका मार्की खेलाडी पनि हुन् ।
जारी एनपीएलमा हालसम्म चार खेल खेलेको जनकपुर बोल्ट्स आठ अङ्कसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अङ्कसहित दोस्रो, तीन खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित सातौँ र चार खेल खेलेको लुम्बिनी लायन्स शून्य अङ्कसहित आठौँ स्थानमा आसीन छन् ।