बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस, एमाले र माओवादीले बोलाए लगातार बैठक

आइतबार, २३ मङ्सिर २०८१, १४ : ११
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । दुई ठुला सत्ता सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र बीआरआई सम्झौताबारे समीक्षा गर्न बैठक बोलाएका छन् । 

त्यसका लागि नेपाली कांग्रेसले मङ्सिर २४ गते सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा उपनिर्वाचन परिणाम र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे रहेका अन्योलबारे छलफल हुने कांग्रेसका नेताहरूको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहमतिमा कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् भने नेतृत्वले बीआरआई सहमतिप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको छ । 

त्यसैगरी नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । मङ्सिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले जानकारी दिए ।  बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता,  स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।

दुई दलको बैठकमा उपचुनाव र बीआरआई सहमतिको समीक्षाबाहेक पार्टीका आन्तरिक मुद्दासहित सरकारबारे समेत छलफल हुने बुझिएको छ ।  कांग्रेस एमालेबाहेक प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि बैठक बोलाएका छन् । 

माओवादी केन्द्रले मङ्सिर २७ देखि २९ गतेसम्म बस्ने गरी बैठक बोलाएको छ । माओवादी बैठकको मुख्य एजेन्डा केन्द्रीय समिति बैठक र पार्टी एकता रहे पनि अन्य विषयमा समेत छलफल हुने नेताहरूको भनाइ छ । 

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि स्थायी कमिटी बैठक बोलाएको छ । सो पार्टीले मङ्सिर २६ र २७ गते बस्नेगरी बैठक बोलाएको हो । बैठकले उपचुनावको समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने बताइएको छ । 

दुई ठुला दल मिलेर बनेको वर्तमान सरकारले जनअपेक्षा अनुरुप कामहरू गर्न नसकेको गुनासो व्याप्त छ । यसबारेमा प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट हुन सकेका छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल गरेर भए पनि सरकारका कामलाई प्रभावकारी बनाउने सोच बनाएको एमाले नेताहरूको भनाइ छ । 

‘सरकारका काम कारबाही प्रभावकारी भएको छैन भन्नेमा प्रधानमन्त्री पनि सहमत देखिनुहुन्छ । यस्तो अवस्थामा केही मन्त्रीहरू फेरबदल गर्नेसम्मको विकल्प रहेको छ तर त्यो विकल्पमा जान प्रमुख दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच छलफल हुनुपर्छ’, एमालेका एक नेता भन्छन्, ‘सम्भवतः यसबारेमा पहिला दुवै दलले आ–आफ्नो पार्टीमा पनि छलफल गर्लान् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप