सभ्य समाज भएको कुनै पनि मुलुकमा हाम्रोजस्तो सहरी सडक छैन
काठमाडौँमा दिनानुदिन ट्राफिक जामको समस्या बढ्दो छ । जाम हुनुको मुख्य कारण सडकको क्षमताभन्दा बढी सवारी–साधन हुनु नै हो । सामाजिक तथा आर्थिक कुराले गर्दा मानिसको आवतजावत दिनहुँ बढ्दो छ, सँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । तर सो अनुरूप सडकको क्षमता बढ्न सक्दैन र सडक जाम हुन पुग्छ ।
हाम्रो देशमा निजी गाडी र दुईपांग्रे सवारीको संख्या तीव्र रूपमा बढेको पाइन्छ । यसको मुख्य कारण हाम्रो सार्वजनिक यातायातमा भएको बेथिति नै हो । सार्वजनिक यातायात आरामदायी, भरपर्दो र सुरक्षित छैन । त्यसमाथि समय अनुसार नचल्ने भएका कारण धेरै मानिस निजी सवारीतर्फ आकर्षित भइरहेका छन् ।
विकसित मुलुकमा निजी सवारी–साधनलाई विलासिताका रूपमा चिनिन्छ तर हाम्रा लागि यो आवश्यकता भइसकेको छ । किनभने सार्वजनिक सवारी चढेर न समयमा गन्तव्यमा पुग्न सकिन्छ, न त त्यो अन्य कुरामा विश्वसनीय नै छ । बालबालिका, अपाङ्गता भएका व्यक्ति, बिरामी, वृद्धा, अशक्तलाई सार्वजनिक यातायातमा यात्रा गराउन फलामको चिउरा चपाउनसरह छ । यसले गर्दा पनि काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा निजी गाडी तथा मोटरसाइकल, स्कुटर चढ्नेहरू बढेका छन् ।
सवारी–साधन बढ्दा ट्राफिक जाम बढ्ने नै भयो । एउटा उदाहरण हेरौँ– काठमाडौँमा चल्ने साझा यातायातले एकपटकमा कम्तीमा ४० यात्रु बोक्न सक्छ । जसमा चढेर त्यति ठुलो जनसंख्या एकैपटकमा एउटाबाट अर्को गन्तव्यमा पुग्न सक्छ तर त्यही बेला ४० वटा कार वा मोटरसाइकलमा ४० जना उत्तिकै दूरी पार गर्नका लागि गुडिरहेका हुन्छन् । ४० वटा कार वा मोटरसाइकलले स्वाभाविक रूपमा एउटा साझा बसभन्दा बढी स्थान ओगट्छन् । यसले जाम मात्रै बढाएको छैन, प्रदूषण बढाउन पनि भूमिका खेलेको छ ।
काठमाडौँमा जाम बढ्नुको मुख्य कारण सवारीको संख्या एक मात्रै नभए पनि एउटा प्रमुख कारण हो । यस्तै, भएको संरचना र सवारी–साधनलाई व्यवस्थित गर्न नसक्ने हाम्रो संयन्त्रले गर्दा जाम बढेको पाइन्छ । ट्राफिक नियमको पूर्ण पालना गरेर व्यवस्थापन गर्ने हो भने काठमाडौँ जाम हटाउन तुरुन्तै सकिन्छ । तर हामीकहाँ भएकै ट्राफिक लाइट पिक आवरमा बन्द गरिएको हुन्छ । सवारी चाप कम भएको समय र शनिबारको दिन लाइट चलाइन्छ । जुन बेला आवश्यक हो, चलाउनुपर्ने हो, त्यो बेला चलाएको पाइँदैन ।
एकाध स्थानमा बाहेक ट्राफिक चिह्नको व्यवस्थै छैन । ट्राफिक लाइट र चिह्नको व्यवस्थापन गर्न सके मात्रै जामको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । विडम्बना, हाम्रो प्रणालीले त्यतातिर ध्यानै दिएको पाइँदैन ।
काठमाडौँको सडकको इन्जिनियरिङ पनि सहर अनुकूल छैन । सहरी सडकले पहिलो प्राथमिकता पैदलयात्रुलाई दिएर फुटपाथ बनाएको हुन्छ । बाटो काट्नका लागि प्रस्ट चिह्नसहितको जेब्रा क्रसिङ, अकासे पुल लगायत व्यवस्था हुन्छ । त्यसपछि साइकल लेनको उचित व्यवस्थापन हुन्छ ।
हामी सडक प्रयोगकर्ता पनि सचेत छैनौँ । सवारी–साधन जहाँ मन लाग्यो त्यहीँ रोक्छौँ, जताबाट पनि यु–टर्न गरिदिन्छौँ । बाटो काट्नका लागि केही नियम–कानुन नै छैन । जसले जे गरे पनि भएको छ । यी विविध कारणले गर्दा काठमाडौँको ट्राफिक जाम देखिएको हो ।
काठमाडौँको सडकको इन्जिनियरिङ पनि सहर अनुकूल छैन । सहरी सडकले पहिलो प्राथमिकता पैदलयात्रुलाई दिएको हुन्छ । जसले गर्दा सहरी सडकमा फुटपाथ हिँड्न लायकको हुन्छ । बाटो काट्नका लागि प्रस्ट चिह्नसहितको जेब्रा क्रसिङ, अकासे पुल लगायत व्यवस्था हुन्छ । त्यसपछि साइकल लेनको उचित व्यवस्थापन हुन्छ । सेयरिङ साइकल लेन छ भने पनि प्राथमिकता साइकललाई दिइएको हुन्छ । अनि सार्वजनिक यातायातलाई विशेष प्राथमिकता दिइएको हुन्छ । मास ट्रान्सपोट्रेसनमा राज्यको लगानी, निगरानी, प्रोत्साहन सबै हुन्छ ।
धेरै विकसित देशमा निजी सवारीलाई जाममा राखेर सार्वजनिकलाई अगाडि जान दिइन्छ । कतिपय देशका सहरमा त सार्वजनिक यातायातका लागि विशेष खालको लेन बनाइएको हुन्छ । हाम्रोमा यी कुनै पनि व्यवस्था छैन ।
सार्वजनिक सवारी रोक्ने, यात्रु चढाउने तथा ओराल्ने स्थान नै हामीले गतिलो बनाउन सकेका छैनौँ । सडकमै यात्रु चढाउने र ओराल्ने गर्दा पछाडि अरु गाडीको लाम लाग्ने नै भयो । पार्किङका लागि कतै व्यवस्थित स्थान बनाइएको छैन । मन लागेको वा आवश्यक परेको स्थानमा गाडी रोक्ने हाम्रो बानी छ । अन्य मुलुकमा पार्किङ गरेर एक–डेढ किलोमिटरसम्म हिँडेर गन्तव्यमा जानुपर्छ ।
हाम्रो ट्राफिक लाइटको व्यवस्थापन नै छैन । संसार कहाँबाट कहाँ पुगिसक्यो, हामीकहाँ अझै पनि सडकमा उभिएको ट्राफिक पुलिसको इसारामा चल्नुपर्ने बाध्यता छ । यो अवस्था रहेसम्म काठमाडौँको ट्राफिक जाम घट्ने होइन, झनै बढ्छ । यी कुनै पनि कुरालाई ध्यान नदिएर काठमाडौँको सडक डिजाइन गरिएको छ ।
कतिपय ठाउँमा चालकले नियालेर हेरेपछि मात्रै देखिने स्थानमा ट्राफिक लाइट राखिएको छ । काठमाडौँको सडक नै सवारीलाई केन्द्रमा राखेर बनाइयो, ठाउँ रहे मात्रै फुटपाथ बनाउनेबारे सोचियो जस्तो देखिन्छ । मुख्य सडकबाहेक भित्रका अधिकांश सडकमा फुटपाथ छैनन् । पैदलयात्रु डराएर बाटोमा हिँड्नुपर्ने अवस्था छ । त्यही सडकमा गाईवस्तु हिँडेका हुन्छन्, साइकल गुडेको हुन्छ, पैदलयात्रु हुन्छन्, ठेलागाडा हुन्छ अनि जाम र दुर्घटना नभएर के हुन्छ ? सभ्य समाज भएको कुनै पनि मुलुकमा यो खालको सहरी सडक हुँदैन ।
काठमाडौँमा जाम मुख्य समस्या बनेर देखिएपछि बाटो बढाउने उपाय पनि लगाइयो तर यो दीर्घकालीन समाधानको उपाय होइन भन्ने कुरा चक्रपथले पुष्टि गरिसक्यो । आठ लेनको बनाउँदा समेत चक्रपथका चोकमा जाम घटेको छैन । अहिले त्यही कारण ग्वार्कोमा फ्लाइओभर बनाइँदै छ । कलंकीको अन्डरपासले थोरै काम गरेको छ । त्यस कारण काठमाडौँको जाम घटाउने मुख्य उपाय सडकको इन्जिनियरिङ बदल्ने र ट्राफिक नियमको पालना गर्ने नै हो ।
सार्वजनिक यातायातको व्यवस्थापन गर्दा जाम धेरै हदसम्म कम गर्न सकिन्छ । सरकारले नीतिगत रूपमै निर्णय गरेर मास ट्रान्सपोट्रेसनमा जानुको विकल्प छैन । काठमाडौँमा साझाजस्ता कम्तीमा एक हजार बस चलाउन सकियो भने जामलाई निकै कम गर्न सकिन्छ । मोटरसाइकल, कार, टेम्पो, माइक्रोजस्ता साधनले जाम बढाउने मात्रै हुन् । सार्वजनिक यातायात भरपर्दो र विश्वासिलो भयो भने मात्रै निजी सवारीका लागि मान्छेले लाखौँ लगानी गर्न कम गर्छन् । यसले सवारीको संख्या वृद्धिमा पनि ब्रेक लाग्छ ।
ट्राफिक चिह्नको उचित प्रयोग अर्को उपाय हो । ट्राफिक लाइटको वैज्ञानिक व्यवस्थापन गर्न सक्दा मात्रै जाम धेरै हदसम्म कम गर्न सकिन्छ । जिम्मेवार निकायमा भएका मानिसले यस्ता कुरामा ध्यान पुर्याउन जरुरी छ ।
अहिले यातायात व्यवस्थापनको जिम्मा यातायात व्यवस्थापन विभागले लिएको छ । ट्राफिक बत्ती व्यवस्थानको जिम्मा सडक विभागको छ । सडकको जिम्मा कतै संघको, कतै प्रदेशको त कतै स्थानीय तहको छ । यसरी एउटै क्षेत्र हेर्ने एकभन्दा बढी सरकारी निकाय छन् तर यी निकायबिच तालमेल र समन्वय हुन सकेको देखिँदैन । जसको सास्ती आममानिसले दैनिक पाइरहेका छन् ।
आम मानिसको दैनिकीसँग जोडिएको सडकजस्तो महत्त्वपूर्ण कुरामा राज्यले लापरबाही नगरी काम गर्नुपर्छ । काठमाडौँको जाम कम गर्ने नै हो भने सडकको इन्जिनियरिङलाई समयानुकूल बदल्नुपर्यो, ट्राफिक नियम र चिह्नको प्रयोग बढाउनुपर्यो, मास ट्रान्सपोट्रेसनमा जानुपर्यो, प्रविधिको प्रयोगलाई विशेष ध्यान दिनुपर्यो ।
(यातायात विज्ञ गजुरेलसँगको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमा उपत्यकाव्यापी कराँते प्रतियोगिता हुने
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
-
ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?
-
स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको छ : अर्जुननरसिंह केसी