बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
ट्राफिक जाम

‘उपत्यकाभित्र चलाउने सवारीको दर्तामै कन्ट्रोल गरिनुपर्छ’

आइतबार, २३ मङ्सिर २०८१, १३ : १७
आइतबार, २३ मङ्सिर २०८१

यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी ईश्वरीदत्त पनेरुसँग उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा रातोपाटीकर्मी कल्पना घिमिरेले गरेको कुराकानी :

१) काठमाडौँको उपत्यकामा ट्राफिक व्यवस्थापन भद्रगोल छ । यो अस्तव्यस्त कहिलेसम्म रहिरहन्छ ? 

प्रचलित सहरी यातायात व्यवस्थापन ऐन २०४९ को  नियमावली २०५४ मा भएका केही अधिकार नेपाल ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको छ । त्यहाँ उल्लेख भएका नियम–कानुन अनुसार ट्राफिक प्रहरीले काम गरिरहेका हुन्छन् ।

तपाईंको प्रश्न नेपाल प्रहरीसँग सम्बन्धित छ । उपत्यकामा कति ट्राफिक जनशक्ति चाहिने हो ? आवश्यकता कति छ ? यहाँको जनशक्ति कति छ ? यहाँको रोडको स्थिति के छ ? ट्राफिक व्यवस्थापन कसरी सहज बनाउन सकिन्छ ? यो विषय यातायात व्यवस्था विभागले भन्दा पनि उपत्यका ट्राफिक प्रहरी कार्यालयले बोल्ने विषय हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले नै ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

मैले बुझे अनुसार, ट्राफिक व्यवस्थापनमा दुईवटा कुराको अभाव छ— जनशक्ति र स्रोत–साधनको । ट्राफिक व्यवस्थापन गर्ने सरोकारवाला निकायको भूमिकाको पनि कुरा आउँछ । यातायात व्यवस्था विभागको मात्रै होइन, स्थानीय सरकार, प्रहरी संगठन सबैको भूमिका रहन्छ । यी सबैको कोअर्डिनेसन राम्रो नहुँदा ट्राफिक व्यवस्थापन भद्रगोल भएको हो ।

फिल्डमा खटिने ट्राफिक प्रहरीले सवारी ऐन अन्तर्गत रहेर ट्राफिक व्यवस्थापन गरिरहेका हुन्छन् । यसै गरी नीतिगत व्यवस्था गरिदिनेमा विभाग मात्र छैन बागमती प्रदेश सरकारको पनि उत्तिकै भूमिका रहन्छ । योसँगै यातायात व्यवस्थापन प्राधिकरण, महानगरपालिका, संघीय सरकार पनि भएकाले यहाँ विशेष प्रकृतिको ट्राफिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । अर्थात् सबैसँग समन्वय गर्नुपर्ने भएकाले अलि जटिल परिस्थिति बनेको छ । 

यातायात व्यवस्थापन प्राधिकरण, महानगरपालिका, संघीय सरकार पनि भएकाले यहाँ विशेष प्रकृतिको ट्राफिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । अर्थात् सबैसँग समन्वय गर्नुपर्ने भएकाले अलि जटिल परिस्थिति बनेको छ ।

विभागले ट्राफिक व्यवस्थापनसम्बन्धी काम गर्दै नगर्ने भन्ने होइन । यहाँले भनेजस्तो उपत्यकाको ट्राफिक व्यवस्थापन त्यति अस्त–व्यस्त भन्ने पनि छैन । पहिलेभन्दा सुधार हुँदै आएको छ । अझै यसमा थप सुधार गर्नुपर्ने देखिएको छ । भोलिका दिनमा यातायात व्यवस्थापनमा सुधार हुन्छ भन्ने अपेक्षा छ ।

२) काठमाडौँका अधिकांश स्थानमा चालु अवस्थामै रहेका ट्राफिक लाइट पनि चलाइएको हुँदैन । मुख्य चोक थापाथली, जाउलाखेल, सातदोबाटो, कलंकीजस्ता स्थानका ट्राफिक लाइन किन चलाइँदैन ? 

सडकमा ट्राफिक लाइट जडानसम्बन्धी हेर्ने निकाय भनेको सडक विभाग हो । सडक विभागमा ट्राफिक सुरक्षा महाशाखा भन्ने छ । नेपाल सरकारको राप प्रथम श्रेणीकै कर्मचारी वा सोही लेभलको टिममा महाशाखाले काम गरिरहेको हुन्छ । संघीय सडकको हकमा सडक विभागले हेर्छ भने पालिकाभित्रको लाइट व्यवस्थापन सम्बन्धित पालिकाकै  क्षेत्राधिकारभित्र पर्छ ।

ट्राफिक लाइटको व्यवस्थापन, मर्मत सम्भार र निगरानी राख्ने विषयमा सडक विभाग र स्थानीय सरकारको भूमिका रहन्छ । सरोकारवाला निकायले लाइट व्यवस्थापन नगरेको अवस्था छ । 

३) ट्राफिक जामको हैरानीको मुख्य कारण के हो ? 

ट्राफिक जामको हैरानीका कारण धेरै छन् । मेरो धारणा राख्नुपर्दा, सडक संरचना भौतिक पूर्वाधारको अवस्था पुरानै मोडमा निर्माण गरिएका छन् तर पछिल्लो समय सवारी–साधनको चाप बढिरहेको छ । यसको समाधानका लागि काठमाडौँ उपत्यकाभित्र सवारी दर्तामै कन्ट्रोल गर्दै जाने हो कि ? यसमा सोच्नुपर्ने बेला आएको छ । 

अर्को कुरा, संघीय राजधानी भएको सहर काठमाडौँमा देशभरका अधिकांश जनता अवसरको खोजीमा आउँछन् । तर सहरी यातायात व्यवस्थापन त्यो हिसाबको हुन सकेको छैन । 

यहाँ निजी सवारी–साधन बढी भए, त्यसमध्ये पनि हाम्रो सवारीको तथ्यांकले के भन्छ भन्दा ८० प्रतिशतको हाराहारीमा दुई पाङ्ग्रे सवारीसाधन छन् । 

मास ट्रान्सपोट्रेसन अवधारणा आएको छ । त्योअन्तर्गत हामीले काम गर्न सकिरहेका छैनौँ । किनभने अलिकति ठुलो संख्यामा पब्लिक भेकल चलाइदिने हो भने निजी भेकल सडकमा जान कम हुन्थ्यो । 

सबैभन्दा बढी भिड बिहान साढे ८ बजेदेखि ११ बजेको बिचमा र बेलुका ३ बजेदेखि ५ बजेको बिचमा हुन्छ । सरकारी तथा निजी कार्यालय, स्कुल–कलेज खुल्ने र बन्द हुने समय उस्तै छ ।

मास ट्रान्सपोट्रेसनका लागि निजी क्षेत्रलाई प्रोत्साहन भएको छैन । किन भएको छैन भन्दा पहिला त नीति चाहियो, ऐन–कानुनहरू पनि त्यही अनुसार हुनुपर्‍यो ।

कार्यालय समय वा स्कुल समयमा ट्राफिक व्यवस्थापनलाई लिएर अलिकति केही सोच्नुपर्ने हो कि भन्ने बेला आएको छ ।

यसको कन्ट्रोल एउटा पाटो हो भने व्यवस्थापन अर्को पाटो हो । व्यवस्थापन गर्न द्रूत बस सेवा, रुटहरू पहिचान आदिमा ध्यान दिन सकिन्छ । सडक पुरानै भयो तर सवारी–साधन थपिएको थपियै छ । त्यसैले असहज भएको  छ । 

४) अहिले सरकारी–निजी साझेदारीको साझा यातायात सञ्चालनमा छ । यस्तै खालको मास ट्रान्सपोट्रेसनका लागि निजी क्षेत्रलाई किन प्रोत्साहन गरिएन ? 

मास ट्रान्सपोट्रेसनका लागि निजी क्षेत्रलाई प्रोत्साहन भएको छैन । किन भएको छैन भन्दा पहिला त नीति चाहियो, ऐन–कानुनहरू पनि त्यही अनुसार हुनुपर्‍यो ।

निजी क्षेत्रको लगानीको सुरक्षा पनि हुनुपर्‍यो । यातायात व्यवस्थापनमा सहजीकरण गरिदिने पार्टमा सरकारका सम्बन्धित निकायले त्यही हिसाबमा सहजीकरण गरिदिनुपर्ने हुन्छ । त्यही कुरालाई सोचेर अहिले यातायात मन्त्रालयले नयाँ राष्ट्रिय नीति मन्त्रिपरिषदमा दर्ता गरिसकेको छ । मास ट्रान्सपोट्रेसनलाई प्रमोट गर्ने, लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने, लगानीको सुरक्षा गर्ने र यातायात व्यवस्थापनलाई सकेसम्म कसरी यात्रुमैत्री बनाउने भन्ने हिसाबले सवारी तथा यातायात व्यवस्थापन ऐन पनि ड्राफ्ट भएर संसदमा दर्ता हुने प्रक्रियामा छ । संघीय राष्ट्रिय नीति ऐनअनुरूप तीन तहबिचको समन्वयमा काम अगाडि बढ्यो भने धेरै सहज हुन्छ ।

५) काठमाडौँ उपत्यका यातायात प्राधिकरणको कुरा लामो समयदेखि चलेको छ तर कार्यान्वयनमा छैन, यो कहाँ अड्कियो ? 

काठमाडौँ उपत्यका यातायात प्राधिकरणको ऐन २०७७ सालमा आएको हो । यसको नियमावली बन्ने प्रक्रियामा छ । सांगठनिक संरचनाका हिसाबले सरकारले तोकेको राप प्रथम श्रेणीको अधिकृत लेभलको कार्यकारी निर्देशक रहने गरी अहिले एकजना सडक विभागको सहसचिव लेभलको जिल्ला समन्वय समितिको भवनमा कार्यालय सञ्चालन गरिएको छ । त्यसको काठमाडौँ महानगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा दुईवटा बैठक बसिसकेको छ । उक्त प्राधिकरणको सचिवालयबाट केही कुरा अगाडि बढेको अवस्था छ । 

निजी–सवारीलाई सडकमा गुड्न थोरै रूपमा भए पनि निरुत्साहित गरिनुपर्छ । सार्वजनिक यातायातले उचित रूपमा सेवा दियो भने र समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था आयो भने विशेष काममा बाहेक आफ्नो सवारी प्रायः कमैले निकाल्छन् । 

केही पनि नभएको भन्ने त होइन, जुन रूपमा उहाँहरू अगाडि बढ्न सक्नुपर्ने हो, त्यो स्पिडमा जान सकेको अवस्था छैन तर निष्क्रिय रूपमा रहेको छैन । अलिअलि काम गरिरहेको अवस्था छ । 

६) काठमाडौँको ट्राफिक जाम समाधानको उपाय के–के हुन सक्छन् ?

कस्ता सवारी–साधनलाई उपत्यकाभित्र चलाउनका लागि दर्ता गर्ने भनी सोच्ने बेला आएको छ । जस्ता पायो त्यस्ता सवारी–साधन दर्ता गर्दै सडकमा भिड बढाउने हो भने अझै भयावह रूप लिन सक्छ ।

जाम समाधानका लागि एउटा पाटो कन्ट्रोल र अर्को व्यवस्थापनको पाटोमा जोड दिनुपर्छ । मास ट्रान्सपोट्रेसनलाई बढावा दिनुपर्छ । एकैपटकमा धेरै यात्रु अटाउन सक्ने ठुला सवारी सञ्चालनमा जोड दिइनुपर्छ । यस्तै, यथेष्ट रूपमा रुटहरूको पनि पहिचान गर्ने र सकेसम्म साना सवारी–साधनलाई निरुत्साहित गर्दै जानुपर्छ । यो भन्दै गर्दा साना सवारी व्यवसायीको पनि छुट्टै समूह छ र रोजगारी गरिराख्नुभएको छ । उहाँहरूको उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा फरक प्रकृतिबाट सार्वजनिक यातायात व्यवस्थापन गरिनुपर्छ ।

निजी–सवारीलाई सडकमा गुड्न थोरै रूपमा भए पनि निरुत्साहित गरिनुपर्छ । सार्वजनिक यातायातले उचित रूपमा सेवा दियो भने र समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था आयो भने विशेष काममा बाहेक आफ्नो सवारी प्रायः कमैले निकाल्छन् । 

दुई पाङ्ग्रे सवारीको अत्यधिक चाप बढेको छ । ट्राफिक नियमको पालना भएको छैन । यी विविध कारणले जाम बढेको छ । यस विषयमा जनचेतना फैलाउने काम हुनुपर्छ । शिक्षा मन्त्रालयसँग समन्वय गरेर ट्राफिक शिक्षा विद्यालय तहबाटै सिकाउने तयारी भएको छ । ट्राफिक नियमसँग सम्बन्धित शिक्षा दियौँ भने नियम पालना गर्ने प्रवृत्ति बढ्दै जान्छ । 

७) काठमाडौँजस्ता सहरी इलाकामै सडक दुर्घटना नियमितजसो भइरहेको पाइन्छ ? यसको कारण हाम्रो सडक इन्जिनियरिङ हो वा अन्य केही ? 

सडक दुर्घटना हुनुको पछाडि धेरै कुरा आउँछन् । पहिलो कुरा त सवारी चालक कस्ता छन् भन्नेमा भर पर्छ । अर्को कुरा हामी सबैले प्रचलित कानुनको पालना कति गरेका छौँ भन्नेमा पनि भर पर्छ । त्यसपछि सवारीको गतिको कुरा आउँछ । 

सडकमा खाल्डा भएर मात्रै दुर्घटना बढेको छैन । धेरै पक्ष छन् । बाटोमा खट्ने ट्राफिक प्रहरीले कतिको कडाइका साथ नियमलाई लागु गराएका छन्, पालना गर्नेले कति पालना गरेका छन् ? सवारी–चालक अनुमतिपत्र लिएर सवारी चलाएका छन् कि छैनन् ? सवारीको यान्त्रिक अवस्था कस्तो छ ? यी विभिन्न कारण हुन्छन् । सबैभन्दा पहिला सवारीचालक सचेत हुनुपर्छ । 

चालकले ट्राफिक नियम–कानुनको उचित रूपमा परिपालना गर्ने हो भने दुर्घटना कम हुँदै जान्छ । पछिल्लो समय लागु पदार्थ वा मदिरा सेवन गरी सवारी चलाएका कारण पनि दुर्घटना बढेका छन् । अझ लागुपदार्थ दुव्र्यसनी गरेर सवारी चलाएको छ वा छैन भन्ने विषयमा अहिले रगत परीक्षण गरेर हेर्नुपर्ने अवस्था आएको छ । 

सडक दुर्घटना कम गर्न विभागले पनि सक्दो भूमिका निर्वाह गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप