बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमै न्युजिल्यान्ड निरीह, अन्तिम खेल अगावै इङ्ल्यान्डले टेस्ट शृंखला जित्यो

आइतबार, २३ मङ्सिर २०८१, १३ : १२
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डले दोस्रो टेस्ट क्रिकेटमा पनि न्युजिल्यान्डलाई हराएको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतबार इङ्ल्यान्डले घरेलु टोली न्युजिल्यान्डमाथि तीन सय २३ रनको सजिलो जित हासिल गरेको हो ।

इङ्ल्यान्डले एक खेलअगावै तीन टेस्टको शृंखला पनि जितेको छ । शृंखलामा इङ्ल्यान्ड २–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट डिसेम्बर १४ तारिखमा ह्यामिल्टनमा सुरु हुनेछ ।

वेलिङ्टनमा खेलिएको दोस्रो टेस्टमा न्युजिल्यान्डले जितका लागि पाँच सय ८३ रनको लक्ष्य पाएको थियो ।  तर, तेस्रो दिन आइतबार न्युजिल्यान्डको टोली आफ्नो दोस्रो पालीमा केवल दुई सय ५९ रन बनाउँदै अलआउट भयो ।  दोस्रो पालीमा न्युजिल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेलले शतक बनाए । उनले एक सय १५ रनको योगदान गरे । उनले एक सय दुई बलको सामना गरी पाँच छक्का र १३ चौका पनि हिर्काएका थिए । 

न्युजिल्यान्डका लागि नाथन स्मिथले पनि ४२ रन बनाए । ड्यारल मिचेलले ३२ रन बटुले । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान टम लाथमले २४ रन जोडे । इङ्ल्यान्डका बलर बेन स्टोक्सले तीन तथा क्रिस वाक्स, क्राइडन कार्स र सोएब बसिरले दुई–दुई विकेट लिए । गस एट्किन्सनले पनि एक विकेट हात पारे ।

त्यसअघि इङ्ल्यान्डले ६ विकेटको नोक्सानीमा चार सय २७ रन बनाउँदै आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । दोस्रो पालीमा इङ्ल्यान्डका लागि जो रुटले एक सय ६ रनको योगदान गरे । उनले एक सय ३० बलमा ११ चौका पनि हिर्काए । ज्याकब बेथेलले पनि ९६ रन बनाए । केवल चार रनका कारण शतकबाट चुकेका बेथेलले एक सय १८ बलको सामना गरी तीन छक्का र १० चौका हिर्काए । ओपनर बेन डकेटले पनि ९२ रन बनाए । उनले एक सय १२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । 

ह्यारी ब्रुकले पनि टोलीका लागि ५५ रनको योगदान गरे । उनले ६१ बलमा पाँच चौका प्रहार गरे । कप्तान बेन स्टोक ४९ रनमा अविजित रहे । उनले केवल ४२ बलको सामना गरी दुई छक्का र एक चौका प्रहार गरे । न्युजिल्यान्डका बलर टिम साउथी र म्याट हेनरीले दुई–दुई तथा विल ओ’रुर्क र ग्लेन फिलिप्सले एक–एक विकेट लिए । 

त्यसअघि, न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा केवल एक सय २५ रन बनाउँदै अलआउट भएको थियो । न्युजिल्यान्डका लागि केन विलियम्सनले सर्वाधिक ३७ रन बनाएका थिए । इङ्ल्यान्डका बलर गस एट्किन्सन र ब्राइडन कार्सले चार–चार तथा क्रिस वाक्स र बेन स्टोक्सले एक–एक विकेट लिएका थिए । 

त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ८० रन बनाएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले शतकीय योगदान गरेका थिए । ब्रुकले टोलीका लागि एक सय २३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले यसक्रममा एक सय १५ बलको सामना गरी पाँच छक्का र ११ वटा चौका पनि हिर्काएका थिए । २५ वर्षीय ब्रुकले टेस्ट क्रिकेटमा बनाएको यो आठौँ शतक थियो । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । 

इङ्ल्यान्डका लागि ओली पपले पनि अर्धशतकीय पाली खेले । छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान ओली पपले ६६ रन बनाए । उनले ७८ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । २६ वर्षीय ओली पपले टेस्ट क्रिकेटमा बनाएको यो १५औँ अर्धशतक हो ।

पहिलो पालीमा इङ्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने बिर्सनलायक रह्यो । ओपनर ज्याक क्रावली १७, ज्याकब बेथल १६ र क्रिस वाक्स १८ रन बनाउँदै आउट भए । इङ्ल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डले अतिरिक्त रुपमा २२ रन पाएको थियो । पहिलो पालीमा न्युजिल्यान्डका बलर नाथन स्मिथले चार विकेट लिएका थिए । उनले ११।४ ओभरमा एक मेडन राख्दै ८६ रन खर्चिए । विल ओ’रुर्कले तीन र म्याट हेनरीले दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप