मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

मन्त्री दाहाल मनिला प्रस्थान

आइतबार, २३ मङ्सिर २०८१, १३ : ०७
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् । मन्त्री दाहाल  ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् । शनिबार राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ ।

दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्वन्धि लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्य तालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनेछन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी हुनेछन् । कार्यक्रम संयुक्त राष्ट्रसङ्घ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्क लगायतका निकायहरूको आयोजनामा हुन लागेको हो । 

मङ्सिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?