बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
ट्राफिक जाम

‘इन्जिनियरिङ’ नमिलेको संरचनाले निम्त्याएको काठमाडौँको जाम

आइतबार, २३ मङ्सिर २०८१, १२ : ५६
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र एक ठाउँबाट अर्को ठाउँमा जानुपर्‍यो भने दुईवटा कुरा दिमागमा आउँछन्— १) आफ्नो सवारी छ भने जाम नहुने सडक कता होला भन्ने सोचिन्छ । २) सार्वजनिक यातायात प्रयोग गर्ने हो भने सोच्नुपर्ने हुन्छ— गाडी कुर्नुपर्ने हो कि ! त्यसमाथि जाममा परिने हो कि ! 

सडकको क्षमताभन्दा बढी सवारी–साधन हुनुले काठमाडौँ उपत्यकामा जाम बढेको जानकारहरू बताउँछन् । सार्वजनिक यातायातको उचित व्यवस्था नहुँदा काठमाडौँ उपत्यकामा निजी सवारी–साधनको संख्या लगातार बढ्दो छ तर सडकको अवस्था उही छ । 

सरकारी तथ्यांक अनुसार, काठमाडौँ उपत्यकामा मात्रै करिब १५ लाख सवारी–साधन गुडिरहेका छन् । यीमध्ये कति निजी (चारपांग्रे–दुईपांग्रे) र कति सार्वजनिक छन् भन्ने यकिन तथ्यांक राज्यसँग नभए पनि अनुमान गर्न सकिन्छ — सार्वजनिक सवारीसाधनको संख्या निकै कम छ । 

उपत्यकाको सडकको कुल लम्बाइ भने २२ सय किलोमिटर छ । १५ लाख सवारी र सडक पूर्वाधारबाट उपत्यकाको करिब ३० लाख जनसंख्याले सेवा लिइरहेको छ । 

बढ्दो सवारीसाधन, कमजोर संरचना, सडक प्रयोगकर्ताको लापरबाही, ट्राफिक व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसक्नु आदि कारण संघीय राजनधानी रहेको काठमाडौँ उपत्यकामा यातायातको अवस्था दयनीय छ । यातायातविज्ञ आशिष गजुरेल भन्छन्, ‘एकातिर सडकको क्षमताभन्दा बढी सवारी छन्; त्यसमाथि अव्यवस्थित सडक संरचना, ट्राफिक लाइट वा चिह्नको अभाव र सडक अनुशासन पालनाको कमीले जाम बढाइरहेको छ ।’

traffic jam (4)

खासगरी कार्यालय समय (बिहान र साँझ)मा उपत्यकामा जाम बढी हुने गर्छन् । जागिरेदेखि विद्यार्थी समेत एउटै समयमा हिँड्नुपर्ने हुँदा जाम बढ्ने गरेको देखिन्छ ।  

ट्राफिक जाम बढी हुँदा जनताको दैनिकी मात्रै खलबलिएको छैन, देशको अर्थतन्त्रलाई नै नकारात्मक असर गरिरहेको उनको विश्लेषण छ । ‘जाममा अमूल्य समय खेर जाँदा व्यक्तिको काम बिग्रँदैन, व्यक्तिको स्वास्थ्य पनि बिग्रन्छ,’ उनी भन्छन् । 

  • सडक इन्जिनियरिङ

काठमाडौँका अधिकांश भित्री सडकमा फुटपाथ छैनन् । एउटै सडकमा पैदलयात्रु हिँड्नेदेखि साइकल, ठेलागाडा, रिक्सा, साना–ठुला सवारी, मालवाहक सवारी गुड्नुपरेको छ । त्यसमाथि जताजतै सडक कुकुर र कहीँकतै छाडा चौपायाको समस्या पनि छ ।

इन्जिनियरिङ नमिलेकै कारण यहाँ आवश्यक स्थानमा ट्राफिक लाइट राख्न सकिएको  छैन । कैयौँ सडकमा जेब्रा क्रसिङ राख्ने स्थान मिलेको छैन । युटर्न कता राख्ने, कसरी राख्ने, सवारी रोक्ने स्थान कहाँ बनाउने ? आदि व्यवस्थित नहुँदा काठमाडौँमा जाम बढिरहेको छ ।

सहर अनुकूलको सडक इन्जिनियरिङ व्यवस्थित नहुँदा पनि काठमाडौँ उपत्यकामा जामको समस्या देखिएको इन्जिनियर निरज लामिछाने बताउँछन् । ‘काठमाडौँका कुनै पनि सडकले सहरी सडकको मापदण्ड पूरा गरेको देखिँदैन । ट्राफिक लाइट, सडक चिह्न, फ्लाइओभर, अन्डरपास, फुटपाथ, जेब्राक्रसजस्ता सडकका न्यूनतम पूर्वाधार यहाँका सडकमा छैन,’ उनी भन्छन्, ‘यसरी इन्जिनियरिङविना बनाइएको सडककै कारण काठमाडौँमा सडक अनुशासन पालना गराउन सकिएको छैन ।’ 

traffic jam (2)

इन्जिनियरिङ नमिलेकै कारण यहाँ आवश्यक स्थानमा ट्राफिक लाइट राख्न नसकिएको उनको भनाइ छ । उनका अनुसार, काठमाडौँ उपत्यकाका कैयौँ सडकमा जेब्रा क्रसिङ राख्ने स्थान मिलेको छैन । युटर्न कता राख्ने, कसरी राख्ने, सवारी रोक्ने स्थान कहाँ बनाउने ? आदि व्यवस्थित नहुँदा काठमाडौँमा जाम बढिरहेको छ । 

पूर्णरूपमा हाइवे स्ट्यान्डर्डमा बनाइएको विस्तारित चक्रपथमा पनि आवश्यक पूर्वाधार नहुँदा जाम बढेको छ । आठ लेनको बनाउँदा समेत चक्रपथका चोकमा जाम घटेको छैन । चक्रपथ सहरी सडकका रूपमा नबनाइएकाले यो समस्या आएको लामिछाने बताउँछन् । ‘सहरी सडकका रूपमा बनाइएको भए त्यही अनुसार फुटपाथ, अकासेपुल, अन्डरपास हुन्थे,’ उनी भन्छन्, ‘अर्को कुरा, पहिले एउटा डिजाइनमा तयार पारेको सडक पछि परिवर्तन गर्दा थप बिग्रिने र सडक सुरक्षाको हिसाबले उपयुक्त नहुने हुन्छ । यी विविध कारण काठमाडौँको जाम दीर्घ रोग बनेको छ ।’

उनका अनुसार इन्जिनियरिङ नमिलेकै कारण काठमाडौँ उपत्यकाका सडकमा जथाभावी गाडी गुड्नुपर्ने अवस्था छ । यहाँ एउटै लेनमा ठुला बस, ट्रक, ट्र्याक्टर, साइकल, मोटरसाइकल, कार सबै गुड्नुपर्ने बाध्यता छ । ‘इन्जिनियरिङ मिलाएर गरिएको सडक भए कम्तीमा साना र ठुला गाडीका लागि फरक लेन हुन्थे । यसो हुँदा एकातिर जाम कम गथ्र्यो, अर्कोतिर सडक सुरक्षा पनि बलियो बनाउँथ्यो,’ इन्जियिनर लामिछाने भन्छन् । 

  • सार्वजनिक बस व्यवस्थित र प्रशस्त भएनन्

हामीकहाँ देशभरि ५५ लाख २६ हजार सवारी–साधन (१० लाख ५१ हजार चारपांग्रे र ४४ लाख ७५ हजार दुईपांग्र) छन् । यसमध्ये सार्वजनिक सवारीको हिस्सा जम्मा चार प्रतिशत छ । यसमा पनि यात्रुवाहक ठुला बसको संख्या निकै कम छ । यसले पनि देखाउँछ, हामीकहाँ सार्वजनिक सवारीको अवस्था दयनीय छ ।

काठमाडौँ उपत्यकामा करिब सयको हाराहारीमा साझा बस त चल्छन् तर देशभरको अवस्था हेर्दा ठुला सार्वजनिक यातायात लामो दूरीमा मात्रै चल्छन् । काठमाडौँ उपत्यकाजस्तो व्यस्त सहरमा ठुला सार्वजनिक यातायात प्रशस्त हुने हो भने जाम व्यवस्थापन हुने विज्ञहरू बताउँछन् ।  

jam

यातायात विज्ञ गजुरेल भन्छन्, ‘काठमाडौँमा साझा बसजस्ता कम्तीमा एक हजार बस चलाउन सकियो भने जामलाई निकै कम गर्न सकिन्छ । मोटरसाइकल, कार, टेम्पो, माइक्रोजस्ता साधनले जाम बढाउने मात्रै हुन् ।’ सार्वजनिक यातायात भरपर्दो र विश्वासिलो भए निजी सवारीको प्रयोगमा कमी आउने उनको भनाइ छ । 

सुरक्षित र भरपर्दो सार्वजनिक सवारी नभएकै कारण निजी सवारी–साधनको संख्या बढेकामा दुई मत छैन । यद्यपि मास–ट्रान्सपोर्टेसनलाई बढावा दिन राज्यबाट ध्यान गएको देखिँदैन । 

‘काठमाडौँका कुनै पनि सडकले सहरी सडकको मापदण्ड पूरा गरेको देखिँदैन । ट्राफिक लाइट, सडक चिह्न, फ्लाइओभर, अन्डरपास, फुटपाथ, जेब्राक्रसजस्ता सडकका न्यूनतम पूर्वाधार यहाँका सडकमा छैन । यसरी इन्जिनियरिङविना बनाइएका सडककै कारण काठमाडौँमा सडक अनुशासन पालना गराउन सकिएको छैन ।’

काठमाडौँमा सडक जाम हुनुको अर्को प्रमुख कारण विद्यालयका गाडी समेत हुन् । हाल उपत्यकामा तीन हजार विद्यालय सञ्चालनमा छन् र तिनमा करिब आठ लाख विद्यार्थी अध्ययन गर्छन् । जसमध्ये दुई लाखले स्कुलको सवारीसाधन प्रयोग गर्ने गरेको काठमाडौँ महानगरपालिकाले गरेको अध्ययनमा उल्लेख छ । कलिला बालबालिकाले आफ्नो अध्ययन, खेल्ने र मनोरञ्जन गर्ने समय जामका खर्चनुपरेको छ । 

  • समन्वयको अभाव

हामीकहाँ यातायात व्यवस्थापन गर्ने एकद्वार नीति छैन । सडक तथा यातायात व्यवस्थापनको जिम्मा यातायात व्यवस्थापन विभागलाई, ट्राफिक बत्ती व्यवस्थापनको जिम्मा सडक विभागलाई र दर्ताको जिम्मा प्रदेश मातहत छ । यस्तै ट्राफिक जाम र सडक सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । यी निकायबिचको तालमेल र समन्वय पनि उचित देखिँदैन । 

traffic jam (1)

काठमाडौँ उपत्यका लगायत ठुला सहरी क्षेत्रमा बढेको जाम कम गर्न र सडक सुरक्षामा ध्यान दिन २०७९ सालमै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन प्रमाणीकरण भएको थियो । यसमार्फत सार्वजनिक यातायात व्यवस्थित गर्ने, नियमन गर्ने, सडक सुरक्षामा ध्यान दिने, ठुला बस (मास ट्रान्सपोर्टेसन) बढाउने, यसमा स्थानीय सरकारलाई सहभागी गराउने जस्ता उद्देश्य राखिएको थियो । ऐन बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

  • समाधान

जाम कम गर्नका लागि ‘मास ट्रान्सपोर्टेसन’ (ठुला बस)को व्यवस्थाका साथै एकीकृत यातायात प्रशासनको प्रबन्ध, व्यवस्थित बसपार्क र सार्वजनिक बसको समय तालिका निर्धारण गर्नुपर्ने विज्ञ बताउँछन् । 

ट्रक, कन्टेनरजस्ता ठुला मालवाहक साधनको व्यवस्थापनका लागि गोदामहरू उपत्यका आसपासका क्षेत्रमा राख्नुपर्ने पनि विज्ञहरूको भनाइ छ । यातायात विज्ञ गजुरेल भन्छन्, ‘सार्वजनिक यातायातको विकास र विस्तार गरी एकीकृत टिकट, एकीकृत समय तालिका बनाउने हो भने जाम कम हुन सक्छ । यसप्रति राज्यले जति सक्दो छिटो आवश्यक पहल र विकास थाल्नुपर्छ ।’ 

उनका अनुसार, पूर्वाधारको विकाससँगै ट्राफिक नियमको पालना गराउन पनि राज्य लाग्नुपर्छ । ट्राफिक शिक्षा पनि महत्त्वपूर्ण छ । 

traffic jam (3)

‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउनुपर्ने हुन्छ,’ इन्जिनियर लामिछाने भन्छन्, ‘उपत्यकाका सबै चोकमा ट्राफिक लाइटहरू सञ्चालन भए मात्रै ट्राफिक जाम ४० प्रतिशतभन्दा बढी कम हुन्छ ।’

उपत्यकामा विद्यालयका गाडीले लामो दूरी तय गर्छन् । विद्यालयका गाडी निश्चित दूरी र क्षेत्रभन्दा बाहिर जान नपाउने व्यवस्था गर्ने हो भने जाम कम हुने र विद्यार्थीलाई पनि सास्ती नहुने इन्जिनियर लामिछाने बताउँछन् । 

उनका अनुसार सन् ९० को दशमा बेलायतमा पनि यो समस्या देखिएको थियो । पछि विद्यार्थीको ठेगाना अनुसार नजिकैको विद्यालयमा भर्ना गर्न थालिएपछि उनीहरूले यातायातका साधन प्रयोग गर्नैपरेन । यसबाट ट्राफिक जामको समस्या कम मात्रै भएन, शिक्षामा पनि समानता भेटियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप